सुकेको ढुङ्गेधारामा पानी प्रवाह गर्ने ललितपुर महानगरको योजना

लिखिता बराल, ललितपुर : ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनै समय खानेपानीको प्रमुख स्रोतको रुपमा रहेका तर अहिले सुकिसकेका ढुङ्गेधारामा फेरि पानी प्रवाह गर्न प्रयास गरिने भएको छ । ललितपुर महानगरपालिकाले ढुङ्गेधारा संरक्षणका लागि गर्न सकिने कामका विषयमा विज्ञ टोली गठन गरी छलफल चलाएको हो ।

टोलीले दुई चार चरणको छलफल तथा अन्तरक्रिया सकेर साउनको दोस्रो साता सम्ममा ढुङ्गेधाराको बर्तमान अवस्था, विगतमा यसका स्रोत र निकासको अवस्था अध्ययन गरी ढुङ्गेधारालाई हिजोकै अवस्थामा फर्काउने कार्यको लागि बृहत्तर संरक्षण र सुधार योजना तयार गर्न परामर्शदाता छनौट गर्न आशयपत्र र प्रस्तावना तयार गरी नगरपालिकामा बुझाउने भएको छ । यसको जिम्मा टोलीका सदस्य डाक्टर सुरेश दास श्रेष्ठलाई दिइएको छ ।

यस्तो छ सुकेको ढुङ्गेधारामा पानी ल्याउने योजना

जनसंख्या बृद्धि, भौतिक पूर्वाधारको बढ्दो निर्माण, अतिक्रमण र पानीको स्रोत नासिनु लगायत कारणले बर्षौदेखि ढुङ्गेधारामा पानी बगेका छैनन् । यस्तो अवस्थामा फेरि पुरानै अवस्थामा फर्काउन गाह्रो भएपनि छलफलका क्रममा विज्ञले निम्न सुझाव दिएका छन् ।  

१. बर्षातको समयमा सुनाकोठी क्षेत्रबाट बग्ने भेल २ महिनामात्र भएपनि सप्तपाताल पोखरीमा खसाली पानी जम्मा गर्नुपर्ने ।

२. घरेलुस्तरबाट आकाशे पानी संकलन गराउन नगरपालिकाले म्यानडेटोरी गरिनुपर्ने

३. घर निर्माणका लागि आउने घरधनी तथा ठेकेदारलाई आकाशेपानी संकलन प्रविधि सम्बन्धी अभिमुखीकरण गराउनुपर्ने ।

४. नगरको कोर एरियामा रिचार्ज पिटहरु बनाउनुपर्ने ।

५. सप्तपाताल पोखरीको बीच बाटोमा रहेको मालपोत कार्यालय जाने बाटोमा मोटर गाडी निषेध गरी पैदल यात्रुलाई मात्र आवातजावत गर्न लगाउनुपर्ने

६. परम्परागत ढुंगेधारा प्रणाली तथा आकाशेपानी संकलन पुनर्भरण सम्बन्धी वडा अध्यक्षहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने ।

७. आकाशेपानी संकलन भएको नगर घोषणा गर्न अभियान सञ्चालन गर्नुपर्ने ।

८. इचंगु ढुंगेधारा संरक्षणका लागि गरिएका नजिर लगाएर ललितपुरको अन्य ढुंगेधाराहरुको पनि संरक्षण गरिनुपर्ने ।

९. जमिनमुनिको जलभण्डार क्षेत्रमा गरिरहेको डिप बोरिङ कार्य रोकिनुपर्ने ।

१०. चक्रपथ निर्माण पछि राजकुलो विग्रिएकाले यसको निरन्तरताको लागि पहल गरिनुपर्ने

ललितपुर महानगरपालिका क्षेत्रभित्र परापूर्वकालदेखि अस्तित्वमा रहेका ढुङ्गेधाराहरुलाई पुनः पहिलेकै अवस्थामा फर्काउन गरिएको प्रयासको  प्रसंसा गर्न थालेका छन् । नगरबासी भन्छन् ‘आशा गरौं महानगरको प्रयासबाट ती धारामा फेरि पानी पलाउनेछ र तिर्खा मेटाउन पाउनेछौं’

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार