
मुगु : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घरधुरीका २६ हजार घर परिवारलाई स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ को १४ वटै वडामा बिनियोजित कुल बजेटबाट रकमान्तर गरी २६ हजार परिवारलाई सर्जिकल मास्क, साबुन र प्रति घरलाई १ सय एमएल सेनिटाइजर वितरण गरिएको हो ।
नगरपालिकाका मेयर नगर प्रमुख हरिजंग शाहीका अनुसार स्वास्थ्य तथा सरसफाइ सामग्री वितरणका लागि प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकी रकम नगरपालिकाले व्यहोर्ने गरी कुल १ करोड १० लाखको विपद कोषबाट सामान खरिद गरिएको हो । कोरोना भाइरस सहित धेरै रोगहरू सरसफाइको अभावमा सर्ने र लाग्ने भएकाले नगरपालिकाले सामान खरिद सरसफाइ सामग्री वितरण गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शिवहरि रोकायाले बताउनुभयो ।
सरसफाइका सामान वडाध्यक्षले घर घरमा पुगेर वितरण गरेका थिए । वडा नम्बर १२ का अध्यक्ष सुवासचन्द्र बुढाले रोगबाट नगरबासीलाई बचाउन सरसफाइ सामग्री वितरण गरिएको र स्वास्थ्य तथा सरसफाइलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।


852 पटक हेरिएको 

