पैसा फ्याँक्ने महिला बस्ने एरियामा सेनिटाइज

🔗
20
Shares

जनकपुरधाम : जनकपुरधामको महावीर चोकमा पैसा फालेकी दुई महिला मध्ये एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि ती महिला बस्ने एरियालाई विहानैदेखि सेनिटाइज गर्ने काम भईरहेको छ । जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह आफै सेनिटाइज गर्ने टोली लिएर खटिरहनुभएको छ । जानकीनगर टोलभरि नै सेनिटाइजन गरिने वडाध्यक्ष साहले बताउनुभयो ।

कोरोनाबाटै जोगिन जनकपुरधाम उपमहानगरपालिकाले एकसाता अघि नगरको विभिन्न स्थानमा औषधी छर्केका थिए । अहिले जनकपुरधाम ७ मा सोडियम ‘हाइपोक्लोराइट’ नामक सर्फेस सेनिटाइजर छर्किन सुरु गरिएको हो । कोरोनाबाट जोगिन सरसफाइ राख्नुपर्ने भएकाले सेनिटाइज गर्न आवश्यक रहेको वडाध्यक्ष साहले बताउनुभयो।

जानकी नगरमै संक्रमित भेटिएका थिए । उनीहरु यतिबेला अस्पतालमा उपचार गराइरहेका छन् । वडाध्यक्ष साहले भन्नुभयो ‘संक्रमित भेटिएपछि जनकपुरधामवासी त्रसित छन् । त्यसैले त्रास घटाउन पनि औषधि छर्किन सुरु गरेका छौं ।’

कोरोना भाइरस संक्रमणको संत्रासका बीच पैसा फालेर फरार भएको भनिएको महिलालाई नियन्त्रणमा लिई प्रहरीले प्रादेशिक अस्पताल जनकपुरधाममा शनिवार परीक्षण गराएको थियो । सो परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजनाकोे पिसिआर टेस्ट पनि गरिएको छ ।

सिसिटिभी फुटेजको आधारमा धनुषाको धनौजी गाँउपालिका वडा नंं ५ बहुअर्वा बस्ने वर्ष ५० की अमुना खातुन र जनकपुरधाम वडा नं। ७ बस्ने वर्ष ३५ की अलिना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन् । शनिवार दिउँसो मस्जिद पछाडि लुकेर बसेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो महावीर चोकमा उनीहरुले पैसा फाल्दै हिडेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार