ढलको फोहोर पानी अनिवार्य प्रशोधन गर्नुपर्छ : वैज्ञानिक प्रसाईँ

🔗
21
Shares

काठमाडौ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की वैज्ञानिक डा. टिष्टा प्रसाईँ जोशीले अष्ट्रेलिया र पेरिसमा ढलमा समेत कोरोना भाइरस देखिएकाले ढल र नालीको फोहोर पानी अनिवार्य प्रशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.ले आयोजना गरेको भिडियो कन्फरेन्समा स्रोत व्यक्तिको रुपमा रहनुभएकी वैज्ञानिक जोशीले विकसित देशमा समेत ढलमा कोरोना भाइरस देखिएको अवस्थामा खानेपानी र सरसफाइको क्षेत्रका कार्यरत जनशक्तिले विशेष सतर्कता अपनाउनु पर्ने बताउनुभयो । केही दिन अघि फ्रान्सको राजधानी पेरिसको पाइप लाइनहरुमा कोरोना भाइरसको ‘निसान’ भेटिएको थियो । सडक सफा गर्ने, भवन निर्माणमा प्रयोग गरिने, फूलबारी, बगैंचामा सिंचाइ गर्ने र आगजनी हुँदा प्रयोग गर्ने पानीमा कोरोना भाइरसको अंश फेला परेपछि पेरिसका पिउने पानी बाहेक अन्य सबै पाइप लाइनहरुको सञ्जाललाई अनिश्चितकालका लागि विच्छेद गरिएको फ्रान्सेली सञ्चारमाध्यम मोन्डेले जनाएको थियो ।


नाष्टकी वैज्ञानिक जोशीले सतहमा कोरोना भाइरसको आयु ४ घण्टादेखि ५ दिनसम्म रहने देखिएकोले १ प्रतिशत सोडियम हाइड्रो क्लोराइड अथवा फिनेल वा ७० प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजरको उपयोग गरी यसलाई निसंक्रमित बनाउन सकिने बताउनुभयो । उहाँले कार्यालयमा साबुन पानीले हात धुने ठाउँको व्यवस्था गर्न र खानेपानीको गुणस्तर बारेमा आमनागरिकलाई आश्वस्त पार्न पनि उत्तिकै जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र बस्नेतले लकडाउनको समयमा पनि संस्थानले आपूर्ति गर्ने खानेपानी प्रणालीमा पानीको शुद्धिकरणका लागि आवश्यक क्लोरिन लगायतका रसायनिक पदार्थहरु पु¥याएको बताउनुभयो । संस्थानबाट वितरित पानीको गुणस्तर नेपाल गुणस्तरको मापदण्डभित्र रहेको उहाँको दावी थियो ।

भिडियो कन्फरेन्समा सहभागी पूर्वसचिव ई.किशोर थापाले अस्पतालहरुमा आपूर्ति भएको खानेपानी, शौचालयको सफाइ र त्यहाँबाट उत्सर्जन हुने फोहोर पदार्थको व्यस्थापन मुख्य चुनौती रहेको बताउनुभयो । पूर्वमन्त्री ई. गणेश साहले भने खानेपानीलाई निर्धक्क पिउन योग्य बनाउन यसको प्रशोधनमा ध्यान दिनुपर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार