
सर्लाही : लकडाउनको समयमा घरभित्रै बस्दा किशोरीहरुमा आउन सक्ने महिनावारी सम्बन्धी समस्यालाई मध्यनजर गरी महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छलफल गरिएको छ । विशेष गरी १५ बर्षमाथिका किशोर किशोरी सम्मिलित उक्त छलफलमा महिनावारीको बारेमा जानकारी, महिनावारीको समयमा अपनाउनु पर्ने सावधानी र सरसफाइ सम्बन्धी बिषयमा छलफल गरिएको पूर्ण सरसफाइ सहजकर्ता रेखा थापाले जानकारी दिनुभयो ।
लकडाउनको समयमा सहज रुपमा सरसफाइका सामग्री पाउन गाह्रो हुने भएकाले घरायसी रुपमा उपलब्ध सामग्रीलाई प्रयोग गरेर पनि महिनावारी स्वच्छतालाई व्यवस्थापन गर्न सकिने कुरामा जोड दिइएको थियो । यसैगरी लकडाउनमा किशोरी तथा महिलाहरु विभिन्न प्रकारको लैंगिक हिंसाको चपेटामा पर्न सक्ने जोखिम रहेको र यस्तो हिंसाबाट सुरक्षित रहन अपनाउन सकिने सावधानीका बिषयमा समेत छलफल गरिएको सहजकर्ता थापाले जानकारी दिनुभयो ।
बागमती सेवा समाज नेपालका टिम लिडर गजेन्द्र साहका अनुसार लकडाउनको समयमा पनि किशोरीहरुको सुरक्षालाई ध्यान दिंदै महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छलफल, अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बासबरिया गाउँपालिकामा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
“महिनावारीको समयमा किशोरीहरुमा शारीरिकसँगै मानसिक समस्या पनि आउन सक्छन् भने महिनावारी र सरसफाइ पनि झनै महत्वपूर्ण कुरा हुन्” टिम लिडर साहले भन्नुभयो “यस्तो बेलामा कसरी सरसफाइ गर्ने र प्रयोग गरिएका प्याडको घरायसी तवरमा उचित व्यवस्थापन कसरी गर्ने भन्ने कुरालाई छलफलमा जोड दिएका छौं ।”
बागमती सेवा समाज नेपाल सर्लाहीद्वारा ग्लोबल स्यानिटेशन फण्ड/यू.एन. ह्याविबट्याटको सहयोगमा सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बासबरिया गाउँपालिकामा सञ्चालन भइरहेको पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत सामाजिक एवं भौतिक दुरीलाई कायम राख्दै आयोजना गरिएका यस प्रकारका छलफल कार्यक्रम निकै फलदायी रहेको अनुभव कक्षा सातमा अध्ययनरत हरिवन ८ का सहभागी उपासना खरेलको रहेको छ ।
“महिनावारीका बारेमा खुलेर छलफल गर्न पाइयो र सरसरफाइमा विशेष ध्यान दिनुपर्छ भन्ने थाहा भयो ।” उहाँले भन्नुभयो “यो कुरा अब परिवारमा आमा, दिदीलाई पनि सिकाउनेछु ।”


1557 पटक हेरिएको 

