गाउँलेले खुला दिसा गर्दा माया देवी यादवको चर्पी बन्यो

सिरहा, मनिसा कार्की : ‘छिमेकीको घरमा चर्पी बनिसके, आफ्नोमा न चर्पी बनाउने पैसा छ, न काम गर्ने मान्छे छ, चर्पी कसरी बनाउने होला ?’ सिरहा नगरपालिका वडा नं. ६ की माया देवी यादव (भुटी) लाई दिनरात यही कुराले सताईरहन्थ्यो । मनमा चर्पी बनाउने कुरा सम्झिरहँदा माटो र फुसले बनेको सानो घरमा भुटीले धेरै अनिंदा रात कटाइसक्नुभएको थियो ।


चर्पी बनाउने बाटो खुलिहाल्छ कि भनेर उहाँले चर्पी बनाउन घरआँगन आइपुगेका सामाजिक कार्यकर्तालाई धेरै पटक आफ्नो अवस्था बताइसक्नुभएको थियो ।


उहाँको अवस्था अध्ययन गरेका सामाजिक कार्यकर्ता तथा संघसंस्थाले पनि भुटीलाई कसरी चर्पी बनाइदिन सकिएला भनेर उपाय खोजिरहेका थिए । त्यही बेला वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र टोल विकास संस्थाले सहयोग गर्ने कुरा चल्यो ।


सहयोग त गर्ने कुन स्रोतबाट रकम जुटाउने त ? ‘वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसा गर्नेहरुबाट संकलित जरिवानाको रकम र टोल विकास संस्थाबाट शहरी वातावरण व्यवस्थापन समाज ( Urban Environment Management Society ) ले गरेको सरसफाइ सहयोग वापतको रकमलाई प्रयोग गर्ने’ उपाय निस्किहाल्यो ।


सिरहामा खुला दिसा गर्नेहरुबाट प्रति व्यक्ति ५ सय रुपैयाँका दरले उठाउँदा केही रकम जम्मा भइसकेको थियो । अन्त्यमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसा गर्नेहरुबाट संकलित ७ हजार रुपैयाँ र जनचेतना टोल विकासको तर्फ बाट ४ हजार रुपैयाँ सहयोग गरेपछि भुटी यादवको घरमा चिटिक्क परेको चर्पी बन्यो ।  


सिरहा नगरपालिकाको वडा नं. ६ मा क –कसको घरमा चर्पी छ भनेर कसैले सोधेमा अहिले अरु घरसँगै भुटी यादवले पनि हात उठाउनुहुन्छ । ७ सय ३२ घरधुरी रहेको वडा नं. ६ का सबै घरमा चर्पी बनेपछि २०७३ चैत्र २९ गते खुला दिसामुक्त वडा घोषणा गरिसकेको छ ।,


पछिल्लो पटक भुटी यादवको घरमा पुग्दा उहाँको घर नजिकै चर्पी बनेको थियो । उहाँसँग कुराकानी गर्दा उहाँले आफू एक्ली हुनुको बेलिविस्तार लगाउनुभयो ।  


‘सानैमा मेरो विवाह भयो । ४ जना छोराछोरी भएपनि म अहिले एक्लै बस्छु । । तीन छोरीको विवाह बनिबुतो र चन्दा गरेरै गरिदिए । एक जना छोरा थियो उ वेपत्ता भएको धेरै बर्ष भइसकेको छ । छोरो एक वर्षको हुँदा नै बुढाको मृत्यु भएको हो । धेरै दुःख गरेर छोरा छोरी हुर्काए ।  १०/१२ वर्षको हुँदासम्म छोरो धेरै ज्ञानी इमान्दार थियो पछि कसरी विग्रियो थाहा भएन । अहिले सुन्दैछु, बौलाहा जस्तो भएर माग्दै खाँदै हिड्छ रे’


यति कुरा भनिसक्दा उहाँको आँखाबाट आँसु झर्न थालिसकेको थियो ।


सारीको छेउले आँशु पुछ्दै उहाँले दुःखका थप पोका फुकाउँदै जानुभयो । ‘बाहिर दिसापिसाब गर्न जाँदा धेरै अप्ठ्यारो हुन्थ्यो, घाम पानी, हुरी बतासमा कति दुःख खेप्यौं, खेप्यौं नि, मानिसले देख्लान भन्ने डर उस्तै, खेतको मालिकले गाली गर्थे त्यस्तै, तर के गर्ने ? मन भएर पनि पैसा थिएन, तपाईहरु सबै मिलेर बनाइदिनुभयो, अहिले त हाइसञ्चो भएको छ’ केही छिन अघि भुटी यादवको आँखामा देखिएको आँशुका ढिक्का सुकेर मुहारमा केही खुसीयाली छाइसकेको थियो ।


‘पहिले चर्पी थिएन, मलाई चर्पीकै पीर थियो । अब त घर भन्दा चर्पी राम्रो बनेको छ । यो माटो र फुसको छानो भएको घर कतिबेला भत्किने हो थाहा छैन, भत्किएपछि के गर्ने होला ? सोच्दा पनि मन आत्तिन्छ’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


अहिले चर्पीमै दिसापिसाब गरिरहनुभएको छ त ? हाम्रो प्रश्नमा उत्साहित हँुदै भन्नुभयो ‘गरिरहेकी छु नि ? दिसापिसाब गर्नकै लागि त हो, अरु कामको लागि कहाँ हुन्छ त ?’ यति भन्दा उहाँको अनुहारमा खुसी भरिएको प्रष्टै देखिन्थ्यो ।


 मनिसा कार्की, Urban Environment Management Society (UEMS)  सिरहामा Social Mobilizer को रुपमा कार्यरत हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार