काठमाडौ : बाढी पहिरोले मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति गरेको छ । सँगै प्रभावित जिल्लामा महामारी फैलिन सक्ने जोखिम पनि बढेर गएको छ । विशेषगरी पानी, खाना र किटजन्य रोगहरु झाडापखाला, टाइफाइड, आउँ, हैजा, डेंगु, कालाजार लगायतका रोगको महामारी फैलिन सक्ने संभावना उच्च छ ।
डुबानमा परेका तराई क्षेत्रका अधिकांश बस्तीहरुमा वर्षा रोकिएसँगै पानीको सतह बिस्तारै घट्दैछ । तर, उचित सतर्कता नअपनाइए ती क्षेत्रमा महामारी फैलिन सक्ने संभावना बढ्दैछ । बाढी पहिरो गएको ठाउँमा पानीका मुहान कि त पुरिएका छन् कि दुषित भएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च संयोजक डा. शेरबहादुर पुन बाढी प्रभावित क्षेत्रमा पानी, खाना र किटजन्य रोगको महामारी फैलिने संभावना उच्च हुने बताउनु हुन्छ । डा. पुनका अनुसार महामारीलाई दुई चरणमा छुट्याउनु पर्छ । पहिलो चरणमा तत्काल देखापर्न सक्ने महामारी भनेको पानीजन्य रोग हो ।
केही समयपछि देखापर्न पर्ने किटजन्य रोग हो । विशेषगरी पानीजन्य झाडापखाला, टाइफाइड, खानाजन्य हैजा र किटजन्य भन्नाले लामखुट्टे तथा भुसुनाको टोकाइ, जसबाट डेंगु, कालाजार जस्ता रोगको संक्रमण हुने संभावना उच्च हुन्छ । सिजनल फ्लुको संक्रमणको संभावना बाढीबाट करिब ६० लाख बढी मानिस प्रभावित भएको अनुमान सरकारले गरेको छ । लाखौको संख्यामा मानिसहरु घरवार विहीन हुन पुगेका छन् ।
उनीहरुलाई सामुहिक रुपमा बासस्थानको व्यवस्था गर्दा सरुवा रोग सर्ने जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा पानी र किटजन्य रोगको महामारीका साथै सिजनल फ्लुको संक्रमण हुन सक्ने जोखिम पनि रहेको डा. पुनको भनाई छ । “देख्दै आएको यो एच वान एन वान H1N1 इन्फ्लुएन्जा यो रोकिएको छैन”, डा. पुनले भन्नुभयो, “यो बेलामा झन् सामुहिक रुपमा बस्ने, आवतजावत हुने भएकाले ती बाढी पीडितलाई पनि यो रोगको संभावना झन् देख्छु ।”
सरकार तथा विभिन्न संघ संस्थाले राहत वितरणका क्रममा बाढी पीडितलाई मास्क वितरण गर्न पनि डा. पुनको सुझाव छ । हामी सतर्क अवस्थामा छौ : सरकार बाढी पहिरो प्रभावित जिल्लामा महामारी फैलिन नदिन आवश्यक तयारी अघि बढाएको सरकारको दाबी छ । यति हुँदाहुँदै पनि रौतहट, मोरङ, झापा, बाँके लगायत २६ जिल्लामा महामारी फैलिन सक्ने अनुमान सरकारी निकायकै छ ।
हालसम्म कुनै प्रकोप नदेखिएको भएतापनि आफुहरु सर्तक अवस्थामा रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्य बताउनुहुन्छ ।
“हाम्रो एउटा स्वास्थ्य प्रणाली मौज्दुत छ”, डा. आचार्यले भन्नुभयो, “यही स्वास्थ्य प्रणाली मार्फत हामीले स्वास्थ्यसंग सम्बन्धित समस्यालाई सम्बोधन गर्छौ ।” बाढी प्रभावित जिल्लाका जनस्वास्थ्य कार्यालयहरु सतर्क अवस्थामा रहेको डा. आचार्यले बताउनुभयो । प्रभावित क्षेत्रमा महाशाखाले र्यापिड रेस्पोन्स टिम समेत तयारी अवस्थामा राखेको छ ।
बाढी पहिरोले प्रभावित जिल्लामा पानीका मुहान दुषित हुने भएकाले शुद्धिकरण गरेर मात्र पानी प्रयोग गर्न महाशाखाले सर्वसाधारणमा अपिल समेत गरेको छ । पानी शुद्धिकरण गरेर खानुका साथै काँचो खानेकुरा समेत नखान महाशाखाको आग्रह छ । प्रभावित क्षेत्रमा परिचालन गर्न आवश्यक पूर्वाधार तथा जनशक्ति पर्याप्त मात्रामा रहेको डा. आचार्यको भनाई छ ।
बाढी पहिरो गएको ठाउँमा जनधनको क्षति हुनुका साथै यसले स्वास्थ्यमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । महामारी फैलिन नदिन सरकारले गरेका कामहरु प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक छ । कान्तिपुरबाट ।


615 पटक हेरिएको 

