♦ केशव सुवेदी
धनकुमारी विक बाँके जिल्ला स्थित साबिकको वागेश्वरी गाविस अन्तर्गतको प्रगतिनगर गाउँकी वासिन्दा हुनुहुन्छ । अग्रणी सामाजिक सहजकर्ता रूपमा चिनिएकी धनकुमारीको प्रयासले यस गाउँमा आजभन्दा ११ वर्ष अघि जुन परिवर्तन आयो, त्यो वरपरका अरू धेरै गाउँका लागि प्रेरणाको स्रोत बन्यो ।
सामाजिक सहजकर्ता हरिबहादुर ओलीसँगको सहकार्य र अथक प्रयासबाट गाउँमा बिजुली बाल्न सफल भएपछि धनकुमारी प्रति समुदायका मानिसको विश्वास बढेको थियो । हरिबहादुरको अर्को समुदायमा स्थानान्तरण भएपछि सामाजिक कामको नेतृत्व गर्ने उहाँ एक्लै पर्नुभयो । तर उहाँमा काम गर्ने साहस र लगनशीलता ज्यूँका त्यूँ थियो । हरिबहादुर कार्यरत गाउँ तीन महिनामा खुला दिसामुक्त भएको सुन्ने बित्तिकै धनकुमारीको मनमा प्रगतिनगरलाई पनि खुला दिसामुक्त क्षेत्र बनाउने अभिलाषा उत्पन्न भयो । हरिबहादुरको सल्लाह अनुसार उहाँलेस्थानीय संस्था एकीकृत विकास समाजसँग समन्वय गरेर आफ्नो समुदायलाई खुला दिसामुक्त कार्यक्रमको दिशामा अघि बढाउनु भयो ।
गाउँमा जथाभावी दिसा पिसाब गर्ने चलन भएको बेला सम्झँदा अहिले पनि धनकुमारीलाई घिन लागेर आउँछ । “खुला ठाउँमा मानिसले देख्लान् कि भन्ने डर पालेर दिसा गर्ने काम साँच्चै नै नर्क समान थियो” उहाँ भन्नुहुन्छ “केटाकेटीले त घर वरपर नै दिसा पिसाब गर्थे, गन्हाएर खपिनसक्नु हुन्थ्यो, जङ्गली जनावर र सर्प बीचछीको डर पनि उत्तिकै हुन्थ्यो, तर पनि चर्पी बनाएर प्रयोग गर्नु पर्छ भन्ने बुद्धि हामी कसैमा आउँदैनथ्यो ।” यस्तो अवस्थामा छिमेकी गाउँ खुला दिसामुक्त भएको सुन्ने बित्तिकै धनकुमारी आफ्नो समुदायलाई पनि खुला दिसामुक्त बनाउन अग्रसर हुनुभएको थियो ।

२०६५ पुष २३ गते संस्थाका सहजकर्ताहरूले गाउँमा भेला डाके । उनीहरूले गाउँले लाई व्यक्तिगत र घरायसी सरसफाइका बारेमा प्रश्नहरू सोधे । त्यसपछि उपस्थित मानिसहरूलाई खुला ठाउँमा दिसा गर्ने ठाउँतिर आफूहरूलाई पनि लिएर जान अनुरोध गरे । आफ्नो गाउँमा पराईहरू आएर यसरी खुला दिसा पिसाब गर्ने ठाउँ डुलाउन लैजान अनुरोध गर्दा गाउँलेहरूले असजिलो माने, तैपनि नगई सुख थिएन । सहजकर्ताहरूले जथाभावी दिसा भएको ठाउँमा ‘यो दिसा कसले गरेको होला ? धनीले हो कि गरीबले हो ? महिलाले हो कि पुरूषले हो ?’ भन्ने जस्ता प्रश्न सोधेर गाउँलेलाई हैरान नै पारे ।
गाउँलेहरू गन्ध सहन नसकेर नाक छोप्थे, तर सहजकर्ताहरू प्रश्न सोधेको सोध्यै गर्थे । त्यहाँबाट फर्किँदा सहजकर्ताहरूले गाउँलेहरूलाई खुला दिसा भएका ठाउँमा पहेँलो रङको झण्डा गाडन लगाए, यसले गर्दा खुलाठाउँमा यत्रतत्र दिसैदिसा रहेछ भन्ने कुरा परैबाट थाहा भयो । धनकुमारी भन्नुहुन्छ “त्यो हिँडाई (यात्रा) हाम्रा लागि साह्रै लाजमर्दो थियो । तर अत्यन्त महत्वपूर्ण पनि थियो किनभने फर्केर गाउँमा आइञ्जेलसम्ममा समुदायका धेरै मानिसको मनमा यसरी खुला ठाउँमा दिसा पिसाब गर्नु त महाभूल हो रहेछ भन्ने ज्ञान पैदा भइसकेको थियो ।”
गाउँमा फर्किसकेपछि सहजकर्ताहरूले स्थानीय स्तरमा पाइने विभिन्न रङ्ग र सामग्रीहरूको प्रयोग गरेर ठूलो चौरको भुइँमा गाउँलेहरूलाई गाउँको नक्सा बनाउन लगाए, जहाँ बाटोघाटो, पानीको मुहान, पैनी, खेत, घर, विद्यालय, मन्दिर, संघ संस्थाका कार्यालयहरू कहाँ कहाँ छन् भनेर चिन्ह लगाउने काम भयो । यसरी गाउँको सुन्दर चित्र तयार भयो, तर अझै काम सकिएको रहेनछ । सहजकर्ताहरूले खुला ठाउँमा दिसा गर्ने ठाउँमा पहेँलो रङले चिन्ह लगाउन अनुरोध गरे । यसो गर्दा त गाउँ नै पहेँलपुर देखियो ।
“उनीहरूले हाम्रो गाउँमा खुला दिसापिसाब गर्दा हामीलाई के कस्तो बेफाइदा भइरहेको छ भन्ने कुरा बुझाउन, दिसा कसरी मुखमा पर्छ भन्ने कुरा बुझाएपछि मानिसहरू खङ्ग्रङ्ग भए“ धनकुमारीले भन्नुभयो । सहजकर्ताहरूले गाँउलेलाई ‘तपाईँहरू यो अवस्थामा परिवर्तन ल्याउन चाहनुहुन्छ कि यत्तिकै बसिरहनु हुन्छ?’ भन्ने प्रश्न गरे ।
सहजकर्ताहरूको क्रियाकलापले त्यस गाउँका मानिसको दिमागमा अब यसरी बस्नु हुँदैन भन्ने सोचले जरो गाडिसकेको थियो । गाउँलेहरूले सल्लाह गरेर भोलिपल्टै उनीहरूलाई फेरि बोलाए । उनीहरूले गाउँलेहरूलाई ‘प्रगतिनगर खानेपानी, सरसफाइ र स्वच्छता उपभोक्ता समिति’ बनाएर खुला दिसामुक्त कार्यक्रम सञ्चालन गर्न
सल्लाह दिए, सोही अनुसार समिति गठन भयो, जसको अध्यक्षमा धनकुमारी चुनिनुभयो । “अध्यक्षमा चुनिएपछि मेरो जिम्मेवारी अझ बढ्यो, कसरी काम गर्ने भनेर चिन्ता पनि लाग्यो” धनकुमारी भन्नुहुन्छ “हामीले एक महिनामा सबै घरमा चर्पी बनाएर प्रयोग गर्ने कार्ययोजना बनायौं, सबैलाई गाउँलाई खुला दिसामुक्त बनाउनै हतारो थियो ।” अभियान शुरु भएपछि गाउँमा चर्पी बनाउने लहर चल्यो । अर्काको भन्दा मैले राम्रो बनाउनु पर्छ भन्ने स्वस्थ प्रतिस्पर्धाको भावले चर्पीहरू पनि स्तरीय बने । एक महिनाको समय सीमा तोकिए पनि २५ दिनमै गाउँका सम्पूर्ण ३५ घरमै चर्पी बनेर प्रयोग हुन थाले ।
आखिर खुला दिसामुक्त घोषणा गर्ने दिन अर्थात २०६५ माघ १८ गते पनि आइपुग्यो । पहिलोपटक गाउँमा सहजकर्ता आएर सँगै गाउँ घुम्दा लाज मानेका गाउँलेहरूको मुहारमा त्यो दिन कुनै बिस्मात् थिएन, बरू खुशी र गर्व थियो । पूरै गाउँ ध्वजा, पताका र स्वागतद्वारहरूले सजिसजाउ थियो । तत्कालीन जिल्ला विकास समितिका
पदाधिकारीहरू, गाविस सचिव, आइडिएसका कर्मचारीहरू, छिमेकी गाउँका मानिसहरू, सञ्चारकर्मीहरू र अन्य संघ संस्थाका मानिसहरू उनीहरूको निमन्त्रणा स्वीकार गरेर गाउँमा आए । धनकुमारीले सबै अतिथिहरूलाई एकपटक गाउँको भ्रमण गर्न अनुरोध गर्नुभयो ।
त्यो दिन सबैलाई आ–आफ्नो घरको चर्पी देखाउने हतारो थियो । पाहुनाहरूसँग गाउँलेहरू उत्साहका साथ पूरै गाउँ घुमे । पुग नपुग एक महिना अघि दिसैदिसा भएको ठाउँमा पुग्दा यसपटक कसैको शिर लाजले झुकेन, बरू गर्वले उचो भयो । यो गौरवपूर्ण यात्रापछि औपचारिक कार्यक्रममा धनकुमारीले गाउँलाई खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । गाउँलेहरूले आफ्नो गाउँलाई पूर्ण सरसफाइतर्फ अघि बढाउने बाचा समेत गरे । “यो हाम्रो लागि ज्यादै ठूलो दिन हो” स्थानीय वासिन्दा संगीता विकले भन्नुभयो “अब कसैले देख्लान कि भनेर राती नै उठेर मैदान जानु परेन, हाम्रो इज्जत रहने भयो ।” प्रगतिनगरका वासिन्दाको यो सत्य कथा देशका हजारांै गाउँहरूको साझा कथा हो । साँच्चै नै आज हामी नेपालीहरूले यसरी एउटा महान यात्रा पूरा गरेका छौं । हामीले बिसर्नु नहुने कुरा के हो भने हामी हिमालको आधार शिविरमा आइपुगेका हौं । अब हिमाल चढ्न अर्थात पूर्ण सरसफाइको अवस्थामा पुग्न अहिले जसरी नै सबैको हातेमालो हुनु अपरिहार्य छ ।
खुला दिसामुक्त नेपाल : यात्रा बृत्तान्तबाट साभार गरिएको ।


1269 पटक हेरिएको 

