◊ गोविन्द खड्का
थरीथरीका झाँकी सहितको जनसहभागिताले २०७२ जेष्ठ २३ गते घोराही बजार शोभायमान देखिन्थ्यो । पूरै जिल्ला यहीँ नै उर्लिएझैंँ लाग्ने यो भेला दाङ जिल्लालाई देशको चौधौं खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि जुटेको थियो ।

जिल्लालाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालनका क्रममां अभियन्ताहरूले यहाँ अपनाएका सिर्जनशील कदमहरू देशका अन्य जिल्लालाई खुला दिसामुक्त बनाउने क्रममा अनुसरण गरिए । यस अर्थमा दाङ जिल्लाको खुला दिसामुक्त अभियान आफना लागि मात्र नभई समग्र मुलुककै खुला दिसामुक्त अभियानमा एउटा उल्लेखनीय कोसे ढुङ्गो साबित हुन पुग्यो ।
खुला दिसामुक्त अभियान सञ्चालन गर्दै जाँदा नयाँ नयाँ सिकाईहरू हुन थाले । सरसफाइ र दानवीर, सरसफाइ कमाण्डो जस्ता अवधारणाहरूको सूत्रपात भयो । समुदायलाई स्वच्छ राख्न र खुला दिसामुक्तको दर्जा दिनका लागि कतिपय स्थानीय औजारहरू लागू गरियो ।
दाङ जिल्लामा खुला दिसामुक्त अभियानको प्रारम्भ २०६६ असार १२ गते ६ वर्षे रणनीतिक कार्ययोजनालाई पारित भएपछि शुरु भएको थियो । हुन त २०६५ फागुन १३ गते नै ढिकपुर गाविस खुला दिसामुक्त घोषणा भइसकेको भए तापनि अभियानले गति लिन सकेको थिएन । यसको तीन वर्षपछि सौडियार गाविस खुला दिसामुक्त भयो । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गणेश थापा, इञ्जिनियर तिलक न्यौपाने र ढिकपुर गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा अभियानको अगुवाई गर्ने तत्कालीन गाविस सचिव शालिकराम पराजुली लगायतका जिल्लास्थित सरसफाइका अन्य सयौं अभियन्ताहरूको प्रयासले जिल्लामा सरसफाइको लहर नै चल्यो ।
खुला दिसामुक्त अभियान सञ्चालन गर्दै जाँदा नयाँ नयाँ सिकाईहरू हुन थाले । सरसफाइ र दानवीर, सरसफाइ कमाण्डो जस्ता अवधारणाहरूको सूत्रपात भयो । समुदायलाई स्वच्छ राख्न र खुला दिसामुक्तको दर्जा दिनका लागि कतिपय स्थानीय औजारहरू लागू गरियो । उदाहरणका लागि – खुला ठाउँमा दिसा गरेको देख्ने बित्तिकै सिठ्ठी फुक्ने र त्यस्ता व्यक्तिहरूको कार्टुन बनाएर सार्वजनिक स्थानमा टाँस्ने लगायतका कतिपय अन्य औजारहरूको प्रयोग गरियो, जसले समुदायमा प्रभावकारी ढङ्गले प्रज्ज्वलनको काम गर्यो ।
राजनैतिक तहबाट सरसफाइ प्रवर्धनका लागि लिखित प्रतिबद्धता जनाइनाले अभियन्ताहरूको हौसला बढ्यो र कामको गति पनि बढ्यो । जिल्लामा कार्यरत सरसफाइ प्रवर्धकहरूलाई तत्कालीन खानेपानी तथा ढल निकास विभागका कमल अधिकारी, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका रमेश कुमार अधिकारी, युनिसेफका सिद्धि श्रेष्ठ र स्वर्गीय धुव कार्कीबाट सरसफाइ प्रवर्धनका लागि प्राप्त व्यावहारिक ज्ञान अभियान सञ्चालनका लागि उर्जा साबित भयो ।
जिल्ला सरसफाइ सम्मेलनको आयोजनाले खुला दिसामुक्त अभियानलाई अझ तीव्र बनाउन सहयोग गर्यो । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जनस्वास्थ्य कार्यालय तथा महिला तथा बालबालिका कार्यालय बीचको सहकार्यले अभियानलाई अझ टेवा पुर्यायो । परिणामस्वरूप क्षमता भएका तर चर्पी नबनाउने अटेरीहरूलाई दबाब दिन सरकारी सेवा सुविधा रोक्का तथा प्रहरीमा उजुरी दिने सम्मका उपाय अपनाइयो । यसले गर्दा अधिकांश ठाउँमा कुनै पनि बहानामा चर्पी नबनाई र त्यसको प्रयोग नगरी बस्न नसक्ने माहौल तयार भयो ।
तर राप्ती नदी पारीका केही बस्तीमा भने अनेक बहाना गरी चर्पी नबनाउने प्रवृत्ति कायमै थियो । चर्पी बनाउन अनुरोध गर्दै घर पुग्दा घरै छाडेर भाग्ने स्थानीयलाई अभियन्ताहरू बिहान बिहानै भेट्न थाले । चर्पी नबनाउनेलाई पक्रेर चौकीमा लैजाने सम्मका काम गर्न थालेपछि खुला दिसामुक्त अभियानले गति लिन थाल्यो । कतिपय अभियन्ताहरू माथि आक्रमणको प्रयास पनि भयो । तर उनीहरू कहिल्यै डगमगाएनन्, हिउँद बर्खा भनेनन् । देउसी, भैलो, माघी, तीज जस्ता चाडबाडमा चर्पी र सरसफाइको महत्व दर्शाउने गीत गाउने चलन नै बस्यो । खुला दिसामुक्त घोषणा भएका टोलहरूमा स्थानीय अगुवा र अभियन्ताहरूलाई सम्मान गर्ने चलन बसालियो, जसले उनीहरूलाई थप उत्साहित बनायो ।
खुला दिसामुक्त अभियानलाई सार्थक बनाउने कार्यमा नेपाल रेडक्रस सोसाइटीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्यो । तत्कालीन सभापति, सरसफाइ अधिकृत, प्राविधिक तथा अन्य कर्मचारीहरू बिहानैदेखि समुदायमा पुग्थे । रेडक्रसकै तत्वावधानमा सञ्चालन भएको रेडियो कार्यक्रमले सरसफाइ सम्बन्धी चेतनामूलक सामग्रीहरू प्रसारण गर्न थाल्यो । नेपाल पत्रकार महासंघ दाङ शाखाद्वारा गठित वाश फोरमको संयोजकत्वमा जिल्ला तथा केन्द्रका सञ्चार माध्यमले खुला दिसामुक्त क्रियाकलापका समाचार तथा अन्य सामग्रीहरू प्रचार प्रसार गरे । दाङमा हासिल भएका अनुभवहरूलाई यहाँकै अभियन्ताहरूको अभिमुखीकरण मार्फत सल्यान, कैलाली, अछाम, मोरङ, धनकुटा आदि जिल्लाका अभियन्ताहरूद्वारा अनुसरण गरिए ।
सामुदायिक वन उपभोक्ता समितिबाट पनि खुला दिसामुक्त अभियानमा ठूलो सहयोग पुग्यो । त्यस्तै, निर्माण सामग्री बिक्रेताहरूले हेकुली गाविसमा सामग्री ढुवानीको भाडा नलिई चर्पी निर्माणका सामग्री आपूर्ति गरे । समुदायमै शौचालयका रिङ बनाउने कार्यले तीव्रता पायो । अनुदान बिना नै चर्पी निर्माण कार्य अघि बढ्यो । यस्तै सहकार्यकै परिणाम स्वरूप दाङ जिल्लाले देशमा सरसफाइ अभियान शुरु भएको प्रारम्भिक अवस्थामै खुला दिसामुक्त घोषणा हुने सौभाग्य पायो । जिल्लाबाट हासिल भएका यस्ता सिकाईहरूले देशको खुला दिसामुक्त अभियानमा इँटा थप्ने काम गरे ।
खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्त बाट साभार गरिएको ।


1086 पटक हेरिएको 

