लक्ष्मीनियाँ गाउँपालिकाको वास प्लान र निर्देशिका सार्वजनिक

 1321 पटक हेरिएको
🔗
9
Shares

धनुषा : धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तथा निर्देशिकाहरु अनुमोदन गर्दै सार्वजनिक गरेको छ । लक्ष्मीनियाँ गाउँपालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता योजना (WASH PLAN) –२०७७, लक्ष्मीनियाँ गाउँपालिकाको पूर्ण सरसफाइ अनुगमन निर्देशिका–२०७७, लक्ष्मीनियाँ गाउँपालिकाको सरसफाइ नमूना समुदाय मार्गदर्शन–२०७७ र लक्ष्मीनियाँ गाउँपालिकाको खाद्य स्वच्छता अनुगमन निर्देशिका–२०७७ जारी गरिएको हो ।

लक्ष्मीनियाँ गाउँपालिकाको कार्यालय लक्ष्मीनियाँस्थित सभाहलमा भएको पालिकास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले वास प्लान तथा रणनीतिक योजना र निर्देशिका अनुमोदन गरी सार्वजनिक गरिएको हो । पालिका वास समितिका अध्यक्ष तथा गाउँपालिका प्रमुख विन्देश्वर यादवको अध्यक्षतामा बसेको बैठकले पूर्ण सरसफाइ अभियानको सफलताको लागि वास योजना र निर्देशिका लागु गरेको हो ।

लक्ष्मीनियाँ गाउँपालिकामा संचालित पूर्ण सरसफाइ अभियान कार्यक्रम अन्तर्गत Global Sanitation Fund/ UN-Habitat को आर्थिक/प्राविधिक सहयोग तथा समाज उत्थान युवा केन्द्र धनुषाको सहजीकरणमा आवश्यक तथ्यांक संकलन, विश्लेषण, लेखन, ड्राफ्ट तयारीको कार्य गरिएको थियो ।

सो ड्राफ्ट माथि पालिकाको कार्यदल समितिले आवश्यक सम्पादन तथा परिमार्जन लगायतका कार्य सम्पन्न गरेपछि अन्तिम रुप दिइएको गाउँपालिकाले जनाएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धीका योजना, निर्देशिका तथा मार्गदर्शनहरुलाई आगामी दिनमा आवश्यकता अनुसार परिमार्जन गर्ने गरी बैठकबाटै पालिकाको वास योजना, निर्देशिका तथा मार्गदर्शन पालिकामा लागु हुने गरी अनुमोदन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख विन्देश्वर यादवले बताउनुभयो । पालिकाका पूर्ण सरसफाइ अभियानका स्रोत व्यक्ति तथा पालिका स्वास्थ्य संयोजक मनोहर यादवका अनुसार गाउँ पालिकामा संचालित पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिइ पूर्ण सरसफाइ सम्बन्धमा लिइएका लक्ष्य प्राप्तिको यात्रामा निरन्तर अघि बढ्नेछ ।

धनुषा जिल्लामा पूर्ण सरसफाइ अभियान कार्यक्रम अन्तर्गत Global Sanitation Fund/ UN-Habitat को आर्थिक/प्राविधिक सहयोग तथा समाज उत्थान युवा केन्द्र (सुयुक) ले जिल्लाको तीन वटा पालिका धनुषाधाम, नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिकामा अभियानको सहजीकरण गर्दै आएको छ । जानकी महिला जागरण समाज (ज्वास) ले बटेश्वर गाउँ पालिका र नगराईन नगरपालिकामा अभियानको सहजीकरण गर्दै आएको छ । यसैबीच धनुषाधाम नगरपालिका र जनकन्दनी गाउँपालिकाको पनि वास योजना र निर्देशिकाहरु केही दिनमै अनुमोदन हुने अभियानको सहजीकरण गर्ने संस्था सुयुकले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार