
हेटौँडा : नदी सभ्यता संरक्षण, जलचर तथा वन्यजन्तुको बासस्थान जोगाउने उद्देश्यले हेटौँडामा राप्ती नदी सरसफाइ अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय हेटौँडाको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा विभिन्न संघसंस्थाको सहभागितामा चौथो राप्ती नदी सरसफाइ दिवस मनाउँदै नदी सफाइ गरिएको हो।
‘स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान’ भन्ने नारासहित हेटौँडा उपमहानगरपालिका–१० बाट सरसफाइ अभियान सुरु गरिएको थियो। मकवानपुरको भीमफेदी र हेटौँडादेखि चितवनको गोलाघाटसम्म फैलिएको राप्ती सरसफाइ महाअभियान २०७२ सालदेखि सञ्चालन हुँदै आएको छ। सोही अभियानअन्तर्गत हरेक वर्ष मंसिर १ गते विशेष सरसफाइ कार्यक्रम आयोजना गरिँदै आएको छ।
राप्ती नदीलाई स्वच्छ राख्नु अभियानको मुख्य उद्देश्य रहेको डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताउनुभयो। राप्ती नदी राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बग्ने भएकाले यसको संरक्षण र सरसफाइ वन्यजन्तु तथा जलचरको जीवनसँग समेत जोडिएको उहाँको भनाइ छ।
“राप्ती नदीसँग गैँडा, हात्ती, डल्फिनलगायतका वन्यजन्तुको जीवन जोडिएको छ। नदीमा फालिने फोहोरले पानीको गुणस्तर बिगार्नुका साथै जलचर र वन्यजन्तुको जीवनमा समेत जोखिम बढाएको छ,” उहाँले भन्नुभयो।
नदी सफाइलाई वर्षमा एक दिनको अभियानमा मात्र सीमित नराखी नियमित बनाउनुपर्नेमा चन्द्रवंशीले जोड दिनुभयो। महिनामा कम्तीमा एक पटक सामूहिक रूपमा सरसफाइ गर्ने र प्रत्येक व्यक्तिले आफ्नो वरपरका नदी तथा जलस्रोत सफा राख्ने बानी विकास गर्नुपर्ने उहाँले बताउनुभयो।
नदीमा फालिएका प्लास्टिकजन्य फोहोर जलचर तथा निकुञ्जका वन्यजन्तुले पानी पिउने क्रममा खाने गरेको र त्यसले स्वास्थ्यमा समस्या निम्त्याउने गरेको उहाँले बताउनुभयो। धार्मिक संस्कारपछि पूजासामग्री नदीमा विसर्जन गर्ने परम्परा, औद्योगिक सामग्री बोकेका सवारीसाधन नदी किनारमा धुने तथा होटलबाट निस्कने फोहोर खोलामा फाल्ने प्रवृत्तिले पनि नदी प्रदूषण बढाएको उहाँको भनाइ छ।
“नदीमा आएर चोखिने संस्कार भएका हामीले नै नदीलाई झन् फोहोर बनाइरहेका छौँ,” उहाँले भन्नुभयो। आगामी दिनमा राप्ती नदीको सरसफाइलाई नियमित रूपमा अघि बढाउने योजना रहेको उहाँले जानकारी दिनुभयो।
सरसफाइ अभियानमा सहभागी हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले राप्ती नदीको संरक्षण गर्न सके नदीमा आश्रित सबै जीवको जीवन जोगाउन सकिने बताउनुभयो। नदी सफाइलाई कुनै विशेष दिवस वा अवसरमा मात्र सीमित नराखी दैनिक व्यवहारकै रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ।
डिभिजन वन कार्यालयका वन अधिकृत वसन्तराज गौतमका अनुसार मंसिर १ गते मकवानपुर जिल्लाका तीन स्थानबाट एकैसाथ नदी सरसफाइ गरिएको थियो। भीमफेदी, हेटौँडा र त्रिवेणीधाम क्षेत्रमा सञ्चालन गरिएको अभियानमार्फत राप्ती नदीमा रहेका फोहोर संकलन गरिएको उहाँले जानकारी दिनुभयो।
नदीमा आश्रित वन्यजन्तु, जलचर र मानव समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको राप्तीको संरक्षणका लागि सरसफाइसँगै नदीमा फोहोर फाल्ने प्रवृत्ति रोक्नु र समुदायको नियमित सहभागिता सुनिश्चित गर्नु आवश्यक देखिन्छ।


29 पटक हेरिएको 

