छठ सकियो, घाट र सडकमा फोहोरको थुप्रो

  विनोद धौलागिरि  40 पटक हेरिएको
🔗
13
Shares

जनकपुरधाम : छठको उल्लास, भक्तिभाव र चहलपहलले भरिएका जनकपुरधामका घाटहरू अहिले फोहोरले अस्तव्यस्त देखिन थालेका छन् । आज विहानसम्म सूर्यलाई अघ्र्य अर्पण गर्न व्रतालु र श्रद्धालुको भीड लागेको जलाशयका किनारमा आज पूजाका सामग्रीका अवशेष, प्लास्टिक र अन्य फोहोर छरिएका छन् । व्रतालुहरू प्रसाद लिएर घर फर्किसकेका छन्, तर उनीहरूले पूजा गरेको घाट भने सरसफाइको प्रतीक्षामा छन् ।

छठका अवसरमा घाट आसपासका सडक र गल्लीमा अस्थायी रूपमा व्यापार गर्ने ठेला तथा पसल सञ्चालकले फालेका प्लास्टिक, खाद्यवस्तुका खोल, फलफूलका बोक्रा र अन्य फोहोरले बजार क्षेत्रसमेत दुर्गन्धित र अव्यवस्थित बनेको छ । पर्वका बेला व्यापार र भीडभाडले गुलजार बनेका सडकमा अहिले फोहोर छरिएको दृश्य देखिन्छ । स्थानीय बासिन्दाका लागि यो दृश्य पर्वको रौनक सकिएपछिको अर्को चुनौती बनेको छ ।

छठका लागि घाट सजाउन, सरसफाइ गर्न र व्यवस्थापन मिलाउन विभिन्न पूजा समिति सक्रिय देखिएका थिए । तर पर्व सम्पन्न भएपछि घाट र आसपासका बजार क्षेत्र सफा गर्ने विषयमा ती समितिको पर्याप्त चासो देखिएको छैन ।

पूजा गर्न जलाशयलाई सजाउने उत्साहसँगै पूजा सकिएपछि त्यसलाई स्वच्छ राख्ने जिम्मेवारी पनि जोडिनुपर्ने हो । आखिर छठको वास्तविक सम्मान अघ्र्य अर्पणमा मात्र होइन, पूजा गरिएको जलाशय र त्यस वरपरको वातावरण सफा राख्नुमा पनि छ ।

आस्थाको केन्द्रमा जल, तर जलाशयको स्वच्छता कसको जिम्मेवारी ?

छठ पर्वमा सूर्यदेवलाई अघ्र्य अर्पण गर्न जलाशयमा उभिने परम्पराले पानीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई उजागर गर्छ । सूर्य र जललाई जीवनका आधारका रूपमा सम्मान गर्दै मनाइने यस पर्वमा जनकपुरधामका गंगासागर, धनुषसागर, श्रीराम तलाउ, अरगजा पोखरी, गोरधुवा पोखरीलगायत जलाशयमा व्रतालु तथा श्रद्धालुको ठूलो उपस्थिति रहन्छ ।

यी जलाशय धार्मिक अनुष्ठानका स्थल मात्र नभई मिथिलाको सांस्कृतिक पहिचान, सामाजिक जीवन र सामुदायिक गतिविधिका महत्वपूर्ण केन्द्र पनि हुन् । छठ नजिकिँदै गर्दा स्थानीय बासिन्दा, युवा क्लब र विभिन्न संघसंस्थाको सक्रियतामा घाट सफाइ, सजावट तथा व्यवस्थापनका काम गरिन्छन् ।

जलाशयका किनारमा सरसफाइ र सजावट गरेर पर्वलाई व्यवस्थित बनाउने सामुदायिक उत्साह प्रशंसनीय देखिन्छ । तर पर्वका बेला केही दिन गरिने सरसफाइले मात्र जलाशयको वास्तविक स्वच्छता सुनिश्चित गर्दैन । वर्षभरि जलाशयमा फोहोर, ढल र अन्य प्रदूषक मिसिने अवस्था कायम रहेमा छठका बेला गरिने सजावट र सरसफाइले पानीको गुणस्तर सुधार्न सक्दैन ।

छठ सकिएलगत्तै जलाशयका घाट र आसपासका क्षेत्रमा देखिने फोहोरले पर्वअघि गरिएको सरसफाइको दिगोपनमाथि प्रश्न उठाउँछ । पूजामा प्रयोग गरिएका प्लास्टिकका झोला, पानीका बोतल, खाद्यवस्तुका खोल, फूलमाला, फलफूलका अवशेष र अन्य पूजाजन्य फोहोर उचित व्यवस्थापन नहुँदा जलाशयका किनारमा थुप्रिने गर्छन् । कतिपय अवस्थामा यस्ता फोहोर पानीमै पुग्दा जलाशयको वातावरण र पानीको गुणस्तरमा प्रतिकूल असर पर्छ ।

गंगा सागर क्षेत्रका स्थानीय बासिन्दा रमेशनन्दन मिश्रका भन्नुहुन्छ, “छठ सकएिपछि दुई चार दिन चोकमा जान पनि सकिदैन । आफ्नो घर अगाडिको फोहर घरवालाले सफा गर्छन्, चोक र सडकको कसले सफा गर्ने ?”
पिडारीचोक क्षेत्रका स्थानीय व्यवसायी रामेश्वर यादवले पर्वका बेला घाट सफा देखिए पनि पर्वपछि फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान नदिइने गरेको अनुभव सुनाउनुभयो । “पूजाअघि सबै मिलेर घाट सफा गर्छन्, पूजापछि त्यही पूरा गरेको घाटमा फोहर फालेर हिड्छन् ।”

छठ पर्वका बेला जलाशयका घाटमा देखिने भीड, सजावट र धार्मिक उत्साहले पर्वको रौनक बढाए पनि त्यससँगै जोडिएका सरसफाइ, स्वच्छता र सार्वजनिक स्वास्थ्यका चुनौती कम महत्वपूर्ण छैनन् । हजारौँ व्रतालु तथा श्रद्धालु एकै ठाउँमा भेला हुने अवस्थामा पर्याप्त सार्वजनिक शौचालय, सुरक्षित खानेपानी, हात धुने स्थान, फोहोर संकलन तथा स्वास्थ्य सहायता उपलब्ध हुनु आवश्यक हुन्छ ।

तर पर्वको तयारीमा घाटको सजावट र प्रकाश व्यवस्थापनले प्राथमिकता पाउँदा शौचालय तथा अन्य आधारभूत सरसफाइ सुविधाको अवस्था अपेक्षाकृत ओझेलमा परिरहेका छन् । विशेषगरी लामो समय सम्म घाटमा बस्नुपर्ने व्रतालु, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सहज तथा पहुँचयोग्य शौचालयको व्यवस्था अपरिहार्य हुन्छ ।

तर, आइतबार साँझ जनकपुरधामका पाँच वटा तलाउमा पुग्दा पुरुषहरुले तलाउ छेउछाउमै पिसाव गरेको भेटियो ।

आज सूर्यलाई अघ्र्य अर्पण गर्न जलाशयमा उभिएका हातहरूले नै भोलि त्यसको संरक्षणको जिम्मेवारी पनि उठाउनुपर्छ । छठको आस्था केही दिनको अनुष्ठानमा मात्र सीमित नरहोस्; जलाशयको स्वच्छता, सुरक्षित पानी र स्वस्थ वातावरण जोगाउने संस्कार बनोस् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार