
काठमाडौ : प्रतिनिधि सभा सदस्य बोध नारायण श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद्बाट खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवामा पर्ने असर न्यूनीकरण गर्न जलवायुमैत्री तथा विपद् प्रतिरोधी संरचनामा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ।
थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा आयोजित विश्व शौचालय दिवस २०२६ को कार्यक्रममा सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनले विशेषगरी नेपालको हिमाली क्षेत्रमा विपद्को जोखिम बढाइरहेको र त्यसले वास सेवामा गम्भीर असर पारिरहेको बताउनुभयो।
भूकम्प, बाढी र पहिरो जस्ता विपद्ले खानेपानी तथा सरसफाइ सेवाहरू बारम्बार अवरुद्ध हुने गरेको उल्लेख गर्दै उहाँले विपद्का बेला पनि सुरक्षित र सञ्चालनयोग्य रहने सरसफाइ प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। हिमाली क्षेत्रमा हिमताल तथा हिमपहिरो, हिउँ खस्ने, गेग्रानसहितको बाढी र नदी थुनिने घटनाले तल्लो तटीय क्षेत्रमा समेत अचानक ठूलो विपद् निम्त्याउन सक्ने उहाँको भनाइ थियो।
भदौ १० गते भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा बूढीगण्डकी र कालीगण्डकी नदी बेसिनमा आएका बाढीले समुदायमा ठूलो असर पारेको स्मरण गर्दै उहाँले प्रभावित परिवारलाई सहयोग गर्ने थाइल्यान्ड सहित अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले जलवायु न्यायका लागि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अन्तर्राष्ट्रिय समुदायसँग गरेको लगानीको आह्वानलाई समेत आफूले समर्थन गर्ने बताउनुभयो। नेपालका जलवायु प्रतिबद्धतामा जलवायुमैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र समेटिएको भए पनि त्यसलाई पर्याप्त बजेटसहितका कार्यान्वयनयोग्य कार्यक्रममा रूपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो।
श्रेष्ठले सरसफाइका क्षेत्रमा अनुसन्धान, नवीन प्रविधि र समावेशी पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै हिमाल, पहाड, तराई तथा तटीय क्षेत्रमा स्थानीय संस्कृति, सामाजिक मान्यता र व्यवहारलाई ध्यानमा राखेर पारिस्थितिक सरसफाइ, बायोग्यासमा आधारित शौचालय, पोर्टेबल शौचालय, दिसाजन्य लेदो व्यवस्थापन तथा विपद् प्रतिरोधी संरचनाको विकास गर्नुपर्ने बताउनुभयो। यसका साथै समुदायमा व्यवहार परिवर्तनका अभियान र पूर्वसूचना प्रणालीलाई पनि प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा उहाँले नेपालको खुला दिसामुक्त अभियानको अनुभव पनि अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्नुभयो। नेपालले सन् २०१९ सेप्टेम्बरमा आफूलाई खुला दिसामुक्त घोषणा गर्नु दक्षिण एसियाकै लागि उल्लेखनीय उपलब्धि भएको बताउँदै उहाँले यसलाई सरकारी नेतृत्व, समुदायको सक्रियता, राजनीतिक दल तथा नागरिक समाजको प्रतिबद्धता र विकास साझेदारहरूको सहयोगबाट सम्भव भएको अभियानका रूपमा व्याख्या गर्नुभयो।
सन् २०१० मा ४६ प्रतिशत रहेको नेपालको सरसफाइ पहुँच सन् २०१९ सेप्टेम्बरसम्म ९९ प्रतिशत पुगेको उल्लेख गर्दै उहाँले घरायसी शौचालय निर्माणमा अनुदान नदिई समुदाय परिचालन र सामाजिक अभियानमार्फत यो उपलब्धि हासिल गरिएको बताउनुभयो। सरसफाइ तथा स्वच्छता गुरुयोजनाले यस अभियानलाई विभिन्न क्षेत्र र तहमा समन्वय गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
तर खुला दिसामुक्त घोषणापछि पूर्ण सरसफाइतर्फको प्रगति सुस्ताएको भन्दै उहाँले सन् २०३० सम्मको दिगो विकास लक्ष्य ६ अन्तर्गतको सरसफाइ सम्बन्धी लक्ष्य हासिल गर्न चुनौती रहेको बताउनुभयो। खुला दिसामुक्त अभियानमा देखिएको सामूहिक ऊर्जा र प्रतिबद्धतालाई अब पूर्ण सरसफाइ अभियानमा रूपान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो।
यसैगरी, नेपालले विश्व शौचालय सङ्गठन र सिंगापुरको रेस्टरुम एसोसिएसनसँग सहकार्य गर्न चाहेको उल्लेख गर्दै उहाँले सिंगापुरको सार्वजनिक शौचालय व्यवस्थापन र ‘ह्याप्पी ट्वाइलेट कार्यक्रम’ बाट नेपालले सिक्न सक्ने बताउनुभयो। विशेषगरी सार्वजनिक शौचालयको मापदण्ड, सञ्चालकको क्षमता विकास, नियमित मर्मतसम्भार र प्रयोगकर्ताको प्रतिक्रियालाई व्यवस्थापनमा समेट्ने अभ्यास नेपालका लागि उपयोगी हुने उहाँको धारणा थियो।
स्वच्छ, सुरक्षित र पहुँचयोग्य सार्वजनिक शौचालयले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उल्लेख गर्दै उहाँले नेपालको सम्पदा क्षेत्रदेखि हिमाली पदमार्गसम्म पर्यटकमैत्री शौचालय निर्माण र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सगरमाथा र गौतम बुद्धको जन्मभूमि लुम्बिनीसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल भ्रमण गर्न उहाँले अन्तर्राष्ट्रिय समुदायलाई निमन्त्रणा पनि दिनुभयो।
सम्बोधनको अन्त्यमा सांसद श्रेष्ठले नेपालमा ‘लु मोडल’ (Loo Model) को सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि विश्व शौचालय सङ्गठनसँग प्राविधिक सहयोगको अपेक्षा गर्नुभएको छ।
उहाँले प्रत्येक शौचालयले मानव मर्यादाको रक्षा गर्ने, प्रत्येक सरसफाइ सेवाले स्वास्थ्यको संरक्षण गर्ने र प्रत्येक लगानीले विपद् प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न सबै पक्षसँग सहकार्यको आह्वान गर्नुभयो।


73 पटक हेरिएको 

