हातैले निकालिन्छ ४३ प्रतिशत चर्पीको लेदो

 1288 पटक हेरिएको
🔗
7
Shares

काठमाडौ : कति चर्पीको खाडलमा जम्मा भएको दिसाजन्य लेदो हातैले निकालिन्छ, कति मल बनाएर निकालिन्छ र कति ट्यांकरले निकालिन्छ भन्ने पूर्ण तथ्यांक कहीं पनि उपलब्ध छैन । पूर्ण सरसफाइ अभियान थालनी हुने समयमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले पूर्व झापादेखि पर्सासम्मका ११ जिल्लाका १ लाख ७३ हजार ५ सय ८५ घरधुरीमा गरेको सर्वेक्षणमा ३७ हजार ६ सय २६ घरधुरी अर्थात् २१.६८ प्रतिशत घरधुरीले कामदारलाई बोलाएर बाल्टिन र सावेलले लेदो निकाल्ने गरेको बताएका छन् ।


२१.८२ प्रतिशतले भने आफ्नो चर्पी खाडलमा जम्मा भएको दिसाजन्य लेदो आफै सफा गर्ने उल्लेख गरेका छन् । यसरी आफै सफा गर्नेमध्ये अधिकांश दुई खाल्डे चर्पी भएका छन्, जसमा एउटा खाल्डोमा जम्मा भएको दिसाको लेदो केही महिना छोडेपछि मलमा परिणत हुन्छ ।
यसैगरी ३४ हजार ८ सय ३१ घरधुरीले निजी क्षेत्र अर्थात् ट्यांकर बोलाएर सफा गराउने बताएका छन् भने ५१ हजार ९ सय ७६ ले चर्पीको सेप्टिक टंकी र रिङ राखिएको खाडल नभरिएकोले सफा गर्नु नै नपरेको उल्लेख गरेका छन् । कामदार बोलाएर लेदो निकाल्ने र आफै निकाल्ने संख्या जोड्दा ४३.५७ प्रतिशत हुन आउँछ ।

पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रलाई छोड्ने हो भने, सरकारी तथ्यांक अनुसार तराई मधेशमा रहेका २७ लाख २९ हजार ९ सय ३३ घरधुरीको ४३.५७ अर्थात् ११ लाख ८९ हजार ४ सय ३२ घरधुरीमा रहेको चर्पीको लेदो घरमुली वा कामदारले बाल्टी, सावेल लगायतका भाँडाकुडाको प्रयोग गरेर निकाल्छन् । सेप्टिक टंकी भरिन केही वर्ष लाग्ने भए पनि उपयुक्त प्रविधिमा नबनाइएका साना खाडलहरु तीनदेखि पाँच वर्षमा भरिने हुनाले प्रत्येक वर्ष करिब चार लाख चर्पीको लेदोलाई निकाल्नुपर्ने हुन्छ ।

बढी जोखिम, परिवार धान्नै मुस्किल

दिसाजन्य लेदोमा मूलतः ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा र जुकाका अण्डाहरु रहने हुनाले सुरक्षा सावधानी अपनाउन नसक्दा त्यो सर्ने जोखिम रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दिसा जम्मा भएर बस्ने खाडल सुरक्षित नहुँदा समेत त्यहाँ जम्मा भएको दिसा कुनै न कुनै माध्यमबाट मानिससम्म आइपुग्ने जोखिम कायमै रहन्छ । यस्तै, खाडलबाट दिसा निकाल्दा, ढुवानी गर्दा, खन्याउँदा र त्यसको प्रशोधन गर्दा समेत सावधानी अपनाउन नसक्दा जैविक, रासायनिक र भौतिक जोखिम कायम रहन्छ ।

यी चरणहरु मध्ये पनि खाडलबाट दिसा निकाल्दा दिसा मानिसको सम्पर्कमा आउनु भनेको सबैभन्दा ठूलो जोखिम हो । कामदारले सामान्यतः खाडलमा रहेको दिसा लठ्ठीले घोलेर बाल्टिनले निकाल्ने र नजिकै खाडल खनेर त्यसमा खन्याउने गर्दछन् ।

पुख्र्यौली रुपमा टंकी सफा गर्नेहरुमध्ये अधिकांशले सुरक्षा सावधानी नअपनाउने गरेको धनुषा जिल्लामा सरसफाइ अभियान सहजीकरण गरिरहेको संस्था समाज उत्थान युवा केन्द्रका टिम लिडर सुजीत कुमार मण्डल बताउनुहुन्छ । “खाडलमा अलिकति मटितेल वा पेट्रोल मिसाउने र रक्सीको नसामा लेदो सफा गर्नेहरु बढी हुन्छन्”, उहाँ भन्नुहुन्छ, “न पञ्जा, न गमबुट र व्यक्तिगत सुरक्षाका अन्य सामग्री नै ।”


खाडल गहिरो भएमा बढी जोखिम । एक त खाडलमा मिथेन ग्यास बढी र अक्सिजनको कमी, अर्कोतर्फ श्वासप्रश्वास स्वच्छता (Respiratory Hygiene) अपनाउन नसक्दा झनै जोखिम ।

जोखिम बढी भए पनि, चर्पीको लेदो निकालेर परिवार धान्न भने धौ धौ भएको सफाइकर्मीहरु बताउनुहुन्छ । जनकपुरका रविन मेस्तरका अनुसार सामान्यतः टंकीमा रहेको रिङको आधारमा मूल्य गरिन्छ । चार वटा रिङ भएको खाडल लेदोले भरिएको छ भने त्यो सफा गर्नका लागि सामान्यतः दुई हजार रुपैयाँ लिइन्छ, अर्थात् एक रिङभरिको दिसा निकालेर फ्याँक्नका लागि पाँच सय रुपैयाँ लिइन्छ । दुई खाल्डे चर्पी भएमा अलिक कमाइ हुन्छ । “झट्ट हेर्दा ठूलो कमाइजस्तो देखिए पनि कहिलेकाहीं त्यसैले दुई हप्तासम्म पु¥याउनुपर्छ”, रविन भन्नुहुन्छ, “साँझ विहान खान र केटाकेटीलाई स्कूल पढाउन पनि पुग्दैन ।”

ठूलो सेप्टिक टंकी सफा गरेको ट्यांकरले पाँच/छ हजार रुपैयाँ लिन्छ । धेरैजसो ट्यांकरले पिंधमा जमेर बसेको दिसाको लेदोलाई त्यत्तिकै छोडेर माथिको पानीमात्र लैजाँदा पनि घरधनी मौन बस्ने, तर आफूहरुले सबै राम्ररी सफा गर्दा पनि किचकिच गर्ने गरेको दुःखेसो समेत रविनको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार