वास खवर सम्वाददाता/पोखरा : ‘प्रकृतिलाई पुनर्जीवन’ भन्ने मूलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाइ अभियान शनिबार सम्पन्न गरेको छ । ६० जना अभियन्ताहरु जोडिएको सो अभियान प्रकृतिको संरक्षण गर्ने एकमात्र उद्धेश्यले उद्धेश्यले सञ्चालन गरिएको हिल हिमालयजका संयोजक रोशन गुरुङले बताउनुभयो ।
हिल हिमालयजले प्रत्येक शनिबार तीन घण्टाको दरले विभिन्न स्थानमा फोहर संकलन गर्नुका साथै वातावरण संरक्षणमा सचेतीकरण गरिरहेको छ । यस क्रममा ३० औं हप्तासम्म आइपुग्दा पोखरा र आसपासका क्षेत्रमा ४३ हजार किलोग्राम फोकर संकलन गरी पोखरा महानगरपालिकामार्फत व्यवस्थापन गरिसकेको जनाइएको छ ।
सम्बन्धित वडाहरुसँगको समन्वयमा सञ्चालन भएको अभियानमा फोहोर व्यवस्थापनको लागि वडाले गाडी उपलब्ध गराउने गरेको गुरुङले बताउनुभयो ।
अभियान सञ्चालनका लागि बाह्य आर्थिक सहयोग संकलन गर्ने उद्धेश्य नभए पनि यसबाट प्रभावित हुनेहरुबाट २ लाख सहयोग प्राप्त हुनुका साथै विभिन्न संघसंस्थाबाट फोहोर संकलनमा आवश्यक पर्ने औजार एवम् सामग्रीहरु समेत सहयोग स्वरुप प्राप्त गरेको छ ।
अब आउने दिनमा विभिन्न सरकारी देखि गैरसरकारी संघसंस्था र विद्यालयका विद्यार्थीहरुका निम्ति प्रकृति संरक्षणसँग सम्वन्धित सैद्धान्तिक कार्यक्रमहरु सञ्चालन गर्ने संगठनले जनाएको छ ।