♦ नगर उपप्रमुखको सरसफाइ दौड ♦ सरसफाइबाटै समृद्धिको ढोका खोल्ने प्रतिवद्धता
वासखवर सम्वाददाता, बेलबारी (मोरङ) : खुला दिसामुक्त अभियानकै क्रममा पूर्ण सरसफाइका सूचकहरु पूरा गरी सफा गाउँ घोषणा गरिएको मोरङ बेलबारी वडा नं. १ को सितलडाँडा अहिले पयटकीय गाउँ बन्ने तरखरमा छ । समुदायले गाउँसँगै रहेको अमना सिसौली सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सितलडाँडामा घरबास (होमस्टे) सुरु गर्ने योजना बनाएका छन् । योजनालाई कार्यान्वयन गर्नका लागि नगरपालिकाले साथ दिने बचन दिएको छ ।

बेलबारी नगरपालिकामा नै पर्ने बेतना सिमसार जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्दछ । शनिबार, छुट्टीको दिन र विशेष अवसरहरुमा त बेतना सिमसारमा खुट्टा राख्ने ठाउँसम्म हुँदैन । बेतना मात्र नभै अब यस्तै आन्तरिक पर्यटन प्रबर्द्वनका लागि गन्तव्य विकास गर्ने योजना नगरपालिकाको छ, जसमा सरसफाइलाई प्रवेश द्वारको रुपमा लिइएको छ ।
सफा गाउँमा होमस्टेको योजना
२१ घरधुरी रहेको सितलडाँडा नरपालिकाकै पहिलो सफा गाउँ हो । पूर्ण सरसफाइ गुरुयोजना २०७३ ले निर्धारण गरेका ५ जोड २ सूचक पूरा गरी गाउँलाई नै तीन वर्षअघि सफा गाउँ घोषणा गरिएको थियो । सो घोषणा समारोहमा नै नगरपालिकाले पूर्ण सरसफाइको निरन्तरता र सरसफाइ संरचनाहरुको स्तरोन्नतिका लागि जोड कोष समेत प्रदान गरेको थियो ।

अमना सिसौली सिमसारसँगै जोडिएको बगरटोल सामुदायिक वनको नाममा रहेको ऐलानी जग्गामा पर्दछ । नगरपालिकाका विभिन्न स्थानमा पर्यटकीय गन्तव्य विकास गर्दै लैजाने रणनीति अनुरुप सफा गाउँलाई नै छानिएको बताउनुहुन्छ, नगरपालिकाका नगर उपप्रमुख ढाकाकुमारी पराजुली । “नगरपालिकामा आयआर्जन, क्षमता विकास र समूह परिचालनका दर्जनौं योजना रहेका छन्, जसका लागि उपयुक्त स्थान छनौटको मुख्य आधार सरसफाइलाई बनाइएको छ”, पराजुली भन्नुहुन्छ, “सफा गाउँ भएकैले सितलडाँडालाई छानिएको हो, अर्को सफा गाउँ रैझारमा समेत योजना बनाएर नगरपालिकामा पेश गर्न हामीले भनेका छौं ।”
बेलबारी नगरपालिका, वडा नं. ८ मा पर्ने आदर्श बस्ती रैझार भने जिल्लाले तयार गरेको पूर्ण सरसफाइ मार्गदर्शन अनुसारका सूचक पूरा गरी संयुक्त अनुगमन पश्चात् सफा र स्वच्छ गाउँ घोषणा गरिएको समुदाय हो । ९५ घरधुरी समेटिएको रैझारमा अहिले आवद्ध हुन चाहने घरधुरी बढेको बढ्यै छन् । खवास जनजातिको बाहुल्यता रहेको रेझारमा सरसफाइमात्र होइन, अन्य सामाजिक अभियानहरुमा समेत महिलाको नेतृत्व रहेको छ, अनि यी सबै कामको अगुवाइ गर्नुहुन्छ : ७४ वर्षीया रत्नादेवी खवास ।

“नगरपालिका उपप्रमुखले हामीलाई आयआर्जन र सरसफाइको दिगोपनका लागि योजना बनाएर ल्याउन भन्नुभएको छ”, रत्नादेवी भन्नुहुन्छ, “सोही अनुसार केही सीपमूलक काम र पर्यटकीय प्रबर्द्वनको योजना तयार गरिरहेका छौं ।”
सरसफाइसँगै आयआर्जन
टोल विकास संस्थाको परिचालन, समुदाय परिचालन, सशक्तीकरण र आयआर्जनका लागि नगरपालिकाले प्रत्येक समूहलाई पाँच लाख रुपैयाँसम्म सुलभ ब्याजमा कर्जा उपलब्ध गराउने गरेको छ । समुदायले बनाएका योजनाका आधारमा उनीहरुलाई कर्जा दिने व्यवस्था गरेको नगर उपप्रमुख पराजुली बताउनुहुन्छ ।
सितलडाँडा र रैझारमात्र होइन, वडा नं. १० र ११ का पुष्पाञ्जली टोल र मिलन टोल समेत सरसफाइका माध्यमबाट पर्यटन प्रबर्द्वन र आयआर्जनको योजना बनाएका छन् । पुष्पाञ्जली टोलसँगै रहेको सामुदायिक वनमा बुद्ध पार्क निर्माण गरी वनभोज स्थलको रुपमा विकास गरी आयआर्जन प्रबर्द्वन गर्ने योजना सुनाउनुहुन्छ टोल विकास समितिका अध्यक्ष एवम् सरसफाइ नमूना समुदाय व्यवस्थापन समितिका अध्यक्ष अमिर मगर । पार्कलाई सुन्दर बनाउनका लागि ‘एक व्यक्ति, दुई विरुवा’ अभियान समेत सञ्चालन गरिएको छ ।
मिलन टोलसँगै जोडिएको सामुदायिक वनमा वाटिका निर्माणका लागि सुन्दरता दिने किसिमका विरुवा छनौट गरेर रोपिएको छ । त्यहाँ बहुवर्षे फूलका विरुवा रोपिएको छ भने पार्क बनाएर सञ्चालन गर्न सफा र स्वच्छ घोषणा गरिएको मिलन टोल सरसफाइ व्यवस्थापन समितिले कम्मर कसेको छ ।
सरसफाइ दौडमा उपप्रमुखको नेतृत्व
नगरपालिकाभित्र हुने सबै विकास निर्माण कामको अनुगमनको संयोजनको मुख्य जिम्मेवारी नगर उपप्रमुखकै हुन्छ । यससँगै सामाजिक संघसंस्थासँग समन्वय गर्ने र सामाजिक सवालहरुलाई सम्बोधन गर्ने दायित्व समेत जोडिएको हुन्छ । यी सबै कामलाई सरसफाइको आँखाबाट विश्लेषण गर्ने गर्नुहुन्छ नगर उपप्रमुख पराजुली ।

टोलहरुबाट कहिले अनुगमनका लागि त कहिले छलफलका लागि सहभागिता जनाउन उपप्रमुख पराजुलीलाई निम्तो आइरहेको हुन्छ । “कार्यालयको काममा फुर्सद पाउनासाथ म समुदायमा पुग्छु, र समुदायसँग सरसफाइ प्रबर्द्वन, आयआर्जन, महिला सशक्तीकरण, समानता, बाल अधिकार लगायतका विषयमा छलफल गर्छु”, नगर उपप्रमुख पराजुली भन्नुहुन्छ, “आफ्नो कार्यकालमा समुदायमा देख्न र महसुस गर्न सक्नेगरी परिवर्तनको नेतृत्व गर्ने एकमात्र लक्ष्य छ ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोली समुदाय पुग्दा होस् या सञ्चारकर्मीहरु पुग्दा होस्, अथवा गुणस्तर अनुगमन र आवधिक अनुगमन गर्दा नै किन नहोस्, उपप्रमुख टुप्लुक्क पुगिहाल्नुहुन्छ । “नगरपालिकाभित्र हुने काममा नगरपालिका नै बेखवर बन्नु पनि त भएन नि”, उहाँ भन्नुहुन्छ, “नगरपालिकाबाट अनुगमन र सामाजिक विकासको नेतृत्वको जिम्मेवारी नगर उपप्रमुखमा भएकोले पनि मैले सहभागिता जनाउनैपर्छ ।”
सरसफाइ नै सभ्यता र संस्कारको जननी भएकोले पनि सरसफाइ प्रबर्द्वनप्रति विशेष लगाव भएको उहाँ बताउनुहुन्छ । “जे जति पर्यटकीय गन्तव्यहरु छन्, ती सबै सफाइबाटै थालनी भएका हुन्”, उहाँ भन्नुहुन्छ, “सफाइ नहुने हो भने ती ठाउँ हेर्न को पुग्थ्यो र ?”
हुन पनि, नेपालको पहिलो पर्यटकीय गाउँ सिरुवारी होस् या घलेगाउँ, अथवा सफा सुन्दर सहर पोखरा वा मनमोहन श्रीअन्तु नै, यी सबैका पछाडि लुकेको रहस्य भनेको सफाइ र सुन्दरता नै हो । बेलबारीमा डाँडाकाडा बनाउन नसकिए पनि भएको स्थानलाई सफा बनाउन, प्राकृतिक साधन श्रोतको समुचित प्रयोग गर्न र वातावरण प्रबर्द्वन गर्न नसकिने भन्ने कुरै छैन । “वातावरण प्रबर्द्वन, सौन्दर्य र आयआर्जनलाई समेत टेवा दिनका लागि वडा तहबाट नै विभिन्न जातका विरुवाहरु समेत वितरण भैरहेको छ”, पराजुली भन्नुहुन्छ, “सफाइका माध्यमबाट स्वास्थ्य, वातावरण र समुन्नति नै हाम्रो सामाजिक विकासको एक प्रमुख सवाल हो ।”
समुदायमा पुग्ने मात्र होइन, कुनै न कुनै सहयोग समेत उपप्रमुखले गरिरहनुभएको हुन्छ । वडा र नगरपालिकाको योजनामा समावेश नभए पनि सबै सूचक पूरा गरी सफा र स्वच्छ गाउँ घोषणा गरिएको रैझारमा ठोस फोहर संकलन गर्ने डस्ट बिन नगरपालिकाबाट सहयोग भयो ।

सफा र स्वच्छ टोल घोषणाका लागि सूचकका आधारमा शतप्रतिशत अंक प्राप्त गर्नुपर्ने प्रावधान जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले बनाएको छ, जसलाई बेलबारी नगरपालिकाले पूर्ण रुपमा अवलम्वन गरेको छ । “यसअघि पनि सफा गाउँ घोषणा भएका थिए, वडा र नगरपालिकाबाट अनुगमन गरी घोषणाको स्वीकृति दिइन्थ्यो”, नगर उपप्रमुख पराजुलीको प्रतिवद्धता छ, “तर, अहिलेको सूचक र अंकसहितको तालिका नै बनाएर अनुगमन गर्ने पद्धति निकै प्रभावकारी छ । यसलाई बेलबारीका सबै घरधुरीमा पूर्ण रुपमा पालना गराउछौं ।”



1386 पटक हेरिएको 

