बर्दिया : पूर्व–पश्चिम राजमार्गको बाँके र बर्दियाको सीमाना हुँदै बग्छ मानखोला । मानखोलाबाट अगाडि ६ किलोमिटर पार गरेपछि भेटिन्छ बाँसगढी बजार । त्यहाँबाट १ किलोमिटर उत्तरमा पर्दछ लक्ष्मणपुर । लक्ष्मणपुरमा अहिले ६ वटा सामुदायिक होमस्टे दर्ता भएर नै सञ्चालनमा छन्, थप १२ वटा औपचारिक थालनीको पर्खाइमा छन् ।
गाउँको मुखैमा सबैघरका जानकारी राखिएका सामाजिक नक्सा छन्, गाउँ छिर्ने सुन्दर द्वार बनाइएका छन् । मूल बाटोदेखि घरसम्म पुग्नका लागि गिट्टी बिछ्याइएको ओभानो बाटो छ, घर छेवैमा रहेको धारामा ढलान गरिएको छ । सबै घरको वरिपरी सानै भए पनि फूलबारी बनाइएको छ । “हाम्रो गाउँमा आउने पाहुनालाई सुन्दर घर, हँसिलो अनुहारले स्वागत गर्न पाउँदा हाम्रो मन पनि फुरुङ्ग हुन्छ”, लक्ष्मणपूर सामुदायिक होमस्टेका अध्यक्ष फगु थारुले खुशी हुँदै सुनाउनुभयो ।

पूर्ण सरसफाइ अभियानले नै लक्ष्मणपुरमा होमस्टेको दैलो उघारेको हो । “सफाइ, सून्दरता र सुसंस्कार नै होमस्टेका मर्म रहेछन्”, फगु थारुले होमस्टेको पृष्ठभूमि सुनाउनुभयो, “अघिल्लो वर्ष फागुन २२ गते होमस्टेको उद्घाटन गर्दागर्दै लकडाउन सुरु भए पनि होमस्टेमा अहिलेसम्म पाहुना टुटेका छैनन् ।” बन्दाबन्दीको समयमा वरिपरीका ठाउँ र छिमेकी जिल्लाबाट आउने पाहुनाबाटै चित्त बुझाउनुपरे पनि अहिले बाहिरी जिल्लाबाट समेत पाहुन आउन थालेपछि लक्ष्मणपुरवासी खुशी भएको समेत अध्यक्ष थारुले सुनाउनुभयो ।
लक्ष्मणपुरले अहिले पाहुनालाई सफा गाउँमात्र देखाउँदैन, यससँगै आतिथ्यता बेच्छ, खेर जाने बस्तुबाट बनाइएका सजावटका सामान बिक्छन् र घर वरपर रोपिएका फूल समेत बिक्री हुन्छन् । रैथाने नाच देखाउँछन्, र पाहुना लोभ्याउँछन् । लक्ष्मणपुरमात्र होइन, पूर्ण सरसफाइ अभियानको तीव्रतासँगै राजापुर मुर्गैयामा समेत होमस्टेको औपचारिक रुपमा थालनी भएको छ । पूर्ण सरसफाइ अभियानले गेरुवामा भएका होमस्टेलाई अझै मजबूत गरेको छ । “पहिले संस्कृति र अतिथि स्वागतबाट पाहुना लोभिन्थे, अहिले सरसफाइ थपिएपछि चन्द्रमामा रोशनी थपिएको छ”, गेरुवा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण थारुको भनाइ छ ।
पूर्ण सरसफाइ अभियानमात्र होइन, होमस्टेको तालिम सञ्चालन र सहजीकरणमा समेत सरसफाइ अभियाानका विकास साझेदारले हातेमालो गरेका छन् । यू.एन. ह्याबिट्याटले होमस्टे तालिम सञ्चालन गर्न सहयोग पु¥यायो । बाहिरी जिल्लाबाट घुमफिर गर्न र बास बस्न आउनेहरुले नै यहाँको बारेमा प्रचार प्रसार गरिदिन्छन् । बेला बेलामा रेडियो, टेलिभिजन र पत्रिकाहरुले सफा र उद्यमी गाउँका बारेमा लेखेर र छापेर सहयोग गर्छन् ।
सामाजिक परिवर्तनको यस अभियानका सिकाइहरुलाई व्यवस्थित गर्न समुदायले सरसफाइ श्रोत केन्द्र सञ्चालन गरेका छन्, जुन बाहिरबाट आउनेहरुका लागि समेत सिकाइको केन्द्रको रुपमा रहेका छन् । गाउँमा आउनेहरुले एक पटक सफा सुग्घर विद्यालय समेत हेर्न छुटाउँदैनन् ।


1275 पटक हेरिएको 

