लिखिता बराल, काठमाडौ : तपाई काठमाडौ उपत्यकामा हुनुहुन्छ र पानीको अभाव झेलिरहनुभएको छ भने अब घरैमा बसेर तपाईले चाहेकै मुहानको पानीे प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानी सेवा उपलब्ध गराउदै आएका कम्पनीको नाम, ती कम्पनीले पानी ल्याउने मुहान, कम्पनीसँग भएको ट्याङ्करको संख्या, खानेपानीको गुणस्तर, फोन नम्बर सहितको विवरण समावेश गरेर एप सञ्चालनमा ल्याएको छ ।
ती एप मार्फत तपाइले आफूलाई चाहेको गुणस्तरको पानी मगाउन सक्नुहुन्छ । KVTIS नाम दिएको एपमा खानेपानी सेवा उपलब्ध गराउने कम्पनीले कस्तो रंगको स्टिकर प्राप्त गरेको छ ? तपाईको घरदेखि खानेपानी ल्याउन चाहने मुहानसम्मको दुरी कति छ ? लगायत जानकारी समावेश गरिएको छ । सम्बन्धित व्यक्तिको फोन नम्बर सहित उल्लेख गरिएकाले घरैमा बसी बसी खानेपानीको माग गर्न सक्नुहुन्छ ।
नीलो रङको स्टिकर पाएको ट्याङकरको पानी पिउन योग्य पानी हो । हरियो रङको स्टिकर पाएका ट्याङ्करको पानी उमालेर वा घरेलु विधिबाट प्रशोधन गरेर पिउन सकिन्छ । पिउने बाहेकको प्रयोजनका लागि भने पहेलो रङ्गको स्टिकर दिइएको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले बताउनुभयो ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले आइतबार एक कार्यक्रमको आयोजना गरी एप सार्वजनिक गरिएको हो ।
एप प्रयोग गर्ने विधि
तपाईले अरु अरु एपहरु प्रयोगमा ल्याए झै यसलाई पनि शुरुमा गुगल प्लेस्टोरमा गएर KVTIS सर्च गर्नुहोस् । त्यसपछि KVTIS एप देखाउनेछ । त्यसपछि आफ्नो मोबाइलमा इन्स्टल गरेपछि तपाईको मोबाइलमा उक्त एप रहनेछ ।
त्यसपछि KVTIS एप खोल्नुहोस् । त्यसमा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लोगो सहित नेपाल सरकार, खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड लेखेको देख्नुहुनेछ ।
त्यसको दायाँपट्टि सिरानमा NP र EN दुइटा विकल्प देख्नुहुनेछ । NP नेपाली र EN भनेको अंग्रेजी हो । त्यसमा क्लिक गर्ने वित्तिकै तपाई रहनुभएको ठाउँ (पानी चाहिने स्थान) र नजिकैको खानेपानी उपलब्ध गराउने कम्पनी, खानेपानीको मुहान, तपाइको घरदेखि मुहानसम्मको दुरी र लाग्ने समय देखाउनेछ ।
खानेपानी उपलब्ध गराउने कम्पनीको नाममा क्लिक गर्नुभएमा बोर्डले ती कम्पनीलाई कस्तो रंगको स्टिकर प्रदान गरिएको छ ? कम्पनीसँग कुन कुन नम्बरका कतिवटा ट्याङ्कर छन् ? जस्ता विवरण थाहा पाउनुहुनेछ । यदि तपाईलाई पानी अर्डर गर्नुछ भने फोन नम्बर पनि राखिएको छ ।
तपाईलाई आफू नजिकै रहेको खानेपानी ढुवानी सेवा दिइरहेको कम्पनीको पानीको गुणस्तरको पानी मन परेन भने अर्को कम्पनी रोज्नु सक्नुहुन्छ । आफ्नो नजिकै रहेको कम्पनी र खानेपानी ढुवानी सेवा प्रदान गरिरहेका अरु कम्पनीहरु पनि एपले देखाइरहेको हुन्छ । तपाईले माथि उल्लेख गरे बमोजिमकै प्रक्रियालाई अंगाल्नु भयो भने तपाईको घरदेखि तपाईले रोजेको खानेपानी कम्पनीसम्मको दृुरी, लाग्ने समय, खानेपानीको गुणस्तर जस्ता सबै विवरण थाहा पाउनुहुनेछ ।


1219 पटक हेरिएको 

