दोस्रो हप्तामा अदुवा खोला सफाइ, किशोर किशोरी र सामाजिक क्षेत्रको सहभागिता बढ्दो

🔗
88
Shares

वास खवर सम्वाददाता/विर्तामोड (झापा) :  नेपालको पूर्वी प्रवेशद्वार झापाको विर्तामोडहुँदै बग्ने अदुवा खोला र हनुमन्ते खोला सफाइ अभियानको दोस्रो श्रृंखलामा किशोर किशोरी र सामाजिक क्षेत्रको सहभागिता उल्लेख्य वृद्धि भएको छ । पहिलो हप्ता विर्तामोड सफाइ अभियान, टोल सुधार समिति र वडा नं. १ बाट बढी सहभागिता रहेकोमा यस साता सबै क्षेत्रबाट सहभागिता रहेको विराट सामुदायिक अध्ययन केन्द्र पूर्ण सरसफाइ कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकले जानकारी दिनुभयो । आगामी साता वडा नं. ३ र ४ मा रहेका सामाजिक संघसंस्थालाई सहभागिताका लागि छलफल भएको र औपचारिक पत्राचारको तयारी भैरहेको समेत उहाँले बताउनुभयो ।


अघिल्लो साता बसेको विर्तामोड नगरपालिका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकमा विर्तामोड सफाइ अभियानलाई विस्तार गर्दै लैजाने विषयमा छलफल भएको थियो । वडा नं. १ का अध्यक्ष एवम् विर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले खोला सफा राख्नुका साथै फोहर गर्ने बाटाहरु बन्द गर्नुपर्नेमा जोड दिनुभयो । सफाइ अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, विद्यार्थी, नगर प्रहरी लगायतको समेत सहभागिता रहेको थियो ।

नगरपालिकाभरिका खोला सफाइ, सौन्दर्यकरण र पर्यटन प्रवद्र्धनका लागि दुई वटा डिपिआर तयार गरी मन्त्रालय र अन्य दातृ निकायमा पेश गरिएको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिनुभयो । “एउटा सय करोड रुपैयाँभन्दा बढीको छ भने अर्को ८७ करोड रुपैयाँ हाराहारीको छ”, नगर प्रमुख सिवाकोटीको भनाइ छ, “आशा गरौं, कुनै एउटा छनौट हुनेछ ।” यी दुईमध्य कुनै एक योजना निर्माण सम्पन्न गर्न सकेमा विर्तामोडका खोलाहरु आन्तरिक पर्यटन तथा व्यवसाय प्रवद्र्धनका माध्यम बन्न सक्ने समेत नगर प्रमुख सिवाकोटीको विश्वास छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार