वास खवर सम्वाददाता/बेलबारी (मोरङ) :भर्खरै मात्र अकालमा आमा गुमाएका आठ बहिनी छोरीहरु नियास्रो मान्दै घर बनाउनका लागि ढुंगा र गिटी जम्मा गरिरहेका छन् । टोल समिति अध्यक्ष धनबहादुर दाहाल घर नजिकैका अभिभावक । बेलाबखत पुगिरहनुहुन्छ बेलबारी नगरपालिका वडा नं. ११ की सदस्य तारा सुन्दास । पुरानो घर भत्काइएको छ । समुदाय मिलेर नयाँ घर बनाइदिने भनेका छन् । दुई वर्षदेखि माथि २० वर्षसम्मका किशोरीहरु ढुंगा र गिटी जम्मा गर्दै आफ्नो गच्छे अनुसार ओसारिरहेका छन् । छेवैमा ढाँडले भरिएको सानो भान्छा, तर भान्छामा आगो बल्दैन । भत्काइएको घरपछाडि प्लास्टिकले बेरेर बनाइएको अस्थायी चर्पी ।

आठ छोरीकी आमा कुमारी दर्जीले दुई महिनाअघि जिन्दगीदेखि विरक्तिएर आत्महत्याको बाटो अपनाउनुभयो । घरमा बाबु भएर पनि नभए जस्तै छ आठ बहिनी छोरीहरुका लागि । आठ मध्ये दुई बहिनी छोरीहरुको विहेवारी भैसक्यो, तर अहिले माइतीघर बनाउनका लागि सहयोग गर्न आएका छन् ।
आइतबार दिउँसो १७ वर्षीया आकांक्षा शर्माले ती किशोरीहरुलाई अलिकति भए पनि खुशी दिनुभयो । “मम्मी बाबाको विवाह वर्षगाठमा उहाँहरुलाई सरप्राइज गिफ्ट दिनका लागि रकम जम्मा गरेकी थिएँ”, आकांक्षाले भन्नुभयो, “तर, मम्मी बाबालाई सरप्राइज गिफ्ट दिनुभन्दा विपन्नलाई चर्पी बनाउनका लागि सरप्राइज गिफ्ट दिनु उचित लाग्यो र यी दिदीबहिनीहरुलाई त्यही रकम दिन आइपुग्यौं ।”

आफ्नी आमा विन्दु शर्मा सहित पूर्ण सरसफाइ अभियानका स्थानीय सहजकर्ताहरुलाई समेत लिएर बेलबारी–११ वि.क.टोलमा रहेको किशोरीहरुको घर बनाउने ठाउँमा नै पुगेर दुई खाल्डे सुरक्षित चर्पी बनाउन पुग्ने नगद र व्यक्तिगत सरसफाइ तथा स्वच्छताका सामग्री उहाँले किशोरीहरुलाई हस्तान्तरण गर्नुभयो । आफ्नो घरमै आएर नसोचेको रकम र सामग्री पाउँदा छोरीहरु समेत खुशी । माइली छोरीले भन्नुभयो, “हाम्ले त सोचेकै थिएनौं । यसबाट चर्पी नै बनाउने हो ।”
तीन छोरीहरु त सानै हुनुहुन्छ, को आयो, किन आयो र के दिएर गयो भन्ने समेत राम्ररी थाहा छैन । बाँकी छोरीहरुले चर्पी बनाउनका लागि नगद पाउँदा हर्षित हुनुभयो । चर्पी बनाउनका लागि सामग्री जुटाउने दायित्व टोल विकास संस्था अध्यक्ष धनबहादुर दाहालले लिनुभयो, प्राविधिक सहयोगको जिम्मेवारी पूर्ण सरसफाइ अभियान पालिका संयोजक रीता कोइरालाले लिनुभयो ।

एस.ई.ई. दिएर घरमै बसेको बेलामा बुबालाई काममा सघाउँदा सघाउँदै नेपालमा सरसफाइको अवस्थाको बारेमा बुझ्ने मौका पाएको आकांक्षा शर्माले बताउनुभयो । “लकडाउनको समयमा र बेसलाइन सर्भे भैरहेको समयमा दिनभरको डाटा साँझ डाउनलोड गरेर त्यसलाई विश्लेषण गरी भोलिपल्ट विहानै फिल्डमा पठाउनुपर्ने हुन्थ्यो”, शर्माले भन्नुभयो, “यस काममा बाबालाई सहयोग गर्ने क्रममा धेरै जिल्लामा सरसफाइको अवस्थाबारे जान्न पाएँ । सरसफाइको महत्वबारे पनि थाहा भयो ।”
विभिन्न अखबार, अनलाइन पोर्टल र स्मारिकाहरुमा प्रकाशित सरसफाइ सम्बन्धी लेख पढ्ने मौका मिलिरहन्छ । “देश खुला दिसामुक्त घोषणा भए पनि कतिपय गरिब र असहायहरुको घरमा अझै पनि चर्पी छैन”, शर्माको भनाइ छ, “त्यसैले यस पटक एउटा मात्र भए पनि सहाराविहिन परिवारमा खुशी ल्याउने प्रयास गरेकी हूँ ।”
छोरी आकांक्षाको काममा आमा विन्दु शर्मा पनि खुशी हुनुभयो र केही रकम थपिदिनुभयो । “यो त थालनी मात्र हो”, उहाँको भनाइ छ, “समुदायमा समेत सकारात्मक सन्देश दिनु हाम्रो दायित्व हो । सबै अवसरलाई सरसफाइ प्रबर्द्वनको अवसरको रुपमा लिएर सामाजिक अभियानको रुपमा स्थापित गर्न सक्नुपर्छ ।”
एक किशोरीको सहयोगमा सुरक्षित चर्पी र समुदायको सहयोगमा ओत लाग्ने घर त बन्ला, तर सहाराविहिन आठ छोरीहरुको बाल अधिकारको सुनिश्चितता कसरी हुन सक्छ ? प्रश्न अनुत्तरित छ ।

(आकांक्षा शर्मा वास खवरका अतिथि सम्पादक विनोद धौलागिरिकी छोरी हुनुहुन्छ)


3260 पटक हेरिएको 

