वास खवर सम्वाददाता/विर्तामोड (झापा) : विर्तामोड नगरपालिका, वडा नं. ७ मा ३७ घरधुरीका लागि निर्माण गरिएको चिटिक्कको बस्ती । विर्तामोड भद्रपुर मार्गबाट दुई मिनेटमा नै पुग्न सकिने ठाउँ । कच्ची सडकले जोडिएको छ । सबै घरधुरीमा चिटिक्कका चर्पी बनाइएको छ । सन्थालहरुको बाहुल्यता रहेको बस्तीले एकीकृत बस्तीको झल्को दिन्छ । लहरै मिलेका घरहरुको बीचमा चौडा सडक । विर्तामोड नगरपालिकाले निर्माण गरेको यस बस्ती झापा आउनेहरुका लागि अवलोकन गर्ने ठाउँको रुपमा रहेको छ । बस्तीलाई सुन्दर बनाएको छ, सबै घरमा बनाइएको एकै किसिमका चिटिक्क चर्पीले ।

यस अघिका यस्तै एकीकृत बस्तीमा एउटै ढाँचाका सुरक्षित चर्पी हुँदैनथे । “यस बस्तीमा दुई खाल्डे सुरक्षित चर्पीसहितको डिजाइन बनाइएको थियो”, बस्तीको निर्माणको साझेदार संस्था सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरी भन्नुहुन्छ, “निर्माण टिमले प्रत्येक घरका लागि सुरक्षित र दिगो चर्पी निर्माणलाई प्राविधिक रुपमा समेत ध्यान दिएर हेरेको थियो ।”
अहिले प्रणालीको पानीबाट चार वटा धारा जडान गरिएको छ । क्रमशः सबै घरधुरीमा सुरक्षित पानीको धारा विस्तार गरिने र बस्तीलाई सौन्दर्यकरण गरिने नगर उपप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो ।
विर्तामोड नगरपालिका, ह्याबिट्याट फर ह्युमनिटिज् र सहारा नेपालले निर्माण गरेको बस्तीलाई सरसफाइ नमूना बस्तीको रुपमा विकास गर्ने नगरपालिकाको योजना रहेको छ । “सफाइ सहितको समृद्ध नमूना बस्ती निर्माण गर्ने हाम्रो योजना हो”, बस्ती हस्तान्तरण औपचारिक समारोहमा नगर प्रमुख ध्रुव सिवाकोटीले भन्नुभयो, “सफा, विषादीरहित, सामाजिक र औद्योगिक विकास सहितको सहर बनाउने हाम्रो सपना छ ।”
यसअघि नै विर्तामोड नगरपालिकालाई विषादीरहित र अर्गानिक नगर बनाउने नगरपालिकाको योजना रहेको छ । नगरपालिकाले पूर्ण सरसफाइ अभियान समेत सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो एकीकृत प्रदेश गौरव भिलेज समुदायलाई नै हस्तान्तरण गर्नुभयो ।



2394 पटक हेरिएको 

