सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले आफ्नो क्षेत्र भित्रका नागरिकको शौचालयको सेफ्टिक ट्याङ्क भरिए निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले दिसाजन्य लेदो (मानव मलमूत्र) सेफ्टिक ट्याङ्की खाली गरी सिरहाकै मैनवती र गागनखोला किनारमा बिसर्जन गर्दै आएको छ ।
नगरपालिका सँग भएको डोजरले खाल्डो बनाई बिसर्जन गर्ने र खाल्डो भरिएपछि माटोले पुरिदिने भएकाले असुरक्षित नभएको गोलबजार नगरपालिकाको दाबी छ । यद्यपि नगरपालिकामा अहिले जसरी दिसाजन्य लेदोको विसर्जन भईरहेको छ, यसको सुधार गर्नुपर्छ भन्ने नगरपालिकालाई पनि लागेको छ ।
नगरपालिकाले यसैका लागि नगरव्यापी समावेशी सरसफाइ योजना बनाईरहेको छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाईसकेको नगरपालिकाले दिसाजन्य लेदो (मानव मलमूत्र) को सुरक्षित व्यवस्थापनका लागि छुट्टै योजनाको आवश्यकता महसुस गरी नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन लागेको हो । नगरव्यापी समावेशी सरसफाइ योजनाबाट दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनमा नगरपालिका भित्रका सबै नागरिकको समान पहुँच स्थापित हुने नगरपालिकाको विश्वास छ ।
विस्तृतमा हेरौं यो भिडियो रिपोर्ट :
१६ प्रतिशत घरमा चर्पी बनाउनै बाँकी
देश नै खुला दिसामुक्त राष्ट्र घोषणा भएपनि गोलबजार नगरपालिकामा अझै १६ प्रतिशत जनसंख्यामा आधारभूत स्तरको सरसफाइको अभाव छ । गोलबजार नगरपालिकाको आधारभूत घरधुरी सर्वेक्षण २०७७ ले नगरपालिकाको १० हजार ४ सय ६८ घर मध्ये १ हजार ६०७ अर्थात १६ प्रतिशत घरधुरीमा अझै चर्पीको अभाव रहेको देखाएको हो ।
यस्तै चर्पी भएकाको हकमा पनि ७ हजार ८९ अर्थात ६७.७२ प्रतिशत घरधुरीले मात्र चर्पीको समुचित प्रयोग गरिरहेका छन् भने बाँकी १ हजार ६७२ अर्थात १५.९७ प्रतिशत घरधुरीहरुले शौचालय भए पनि शौचालयको समुचित प्रयोग नगरेको पाईएको छ ।
नगरपालिकाका सरसफाइ फोकल पर्सन सुनिल यादवले भूमिहीन परिवारले चर्पी बनाउन नसकेको र उनीहरुको हकमा दुई चार घरको बीचमा एउटा शौचालय बनाएर भए पनि शौचालय प्रयोग गर्न लगाउने बताउनुभयो ।

सेफ्टिक ट्याङ्क जडित चर्पी १९ प्रतिशत मात्र
गोलबजार नगरपालिका क्षेत्रका अधिकांश शौचालय असुरक्षित छन् । नगरपालिकाको आधारभूत घरधुरी सर्वेक्षण २०७७ अनुसार १० हजार ४ सय ६८ घरपरिवार मध्ये १ हजार ९ सय ६१ अर्थात १९ प्रतिशत घरको चर्पी मात्र सेफ्टिक ट्याङ्क सहितका छन् ।
सबैभन्दा बढी ४ हजार ३ सय ३६ अर्थात करिब ४२ प्रतिशत चर्पी १ खाल्डे छन् । जुन जत्तिबेला भएपनि भरिन सक्ने सम्भावना छ । २३ प्रतिशत अर्थात २ हजार ४ सय १४ घरमा भने २ खाल्डे छन् । ती सुरक्षित नभए पनि एक खाल्डे शौचालयको तुलनामा तत्काल भरिन सक्ने सम्भावना देखिदैन ।

संस्थागत शौचालयको अवस्था पनि नाजुक
घरायसी चर्पी मात्र होइन, गोलबजार नगरपालिकाको संस्थागत सरसफाइको अवस्था पनि नाजुक देखिएको छ । नगरपालिकाले गरेको संस्थागत सर्वेक्षण अनुसार पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत ३३ वटा विद्यालयको ५० वटा शौचालयहरु मध्ये ७४ प्रतिशत अर्थात ३७ वटा सेप्टिक ट्याङ्की भएका शौचालयहरु छन् भने २६ प्रतिशत अर्थात १३ वटा शौचालयम कच्ची तथा सिधै खाल्डोमा खसालिएका असुरक्षित चर्पीहरु छन् ।
सरसफाइमा देखिएको यिनै समस्यालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नगरव्यापी समावेशी सरसफाइ योजना बनाउने कामको थालनी गरिएको हो । निकट भविश्यमै करिब २ अर्ब बराबरको ढल आयोजना सुरुवात नगरपालिकाका मेयर देवनाथ साह बताउनुभयो । ‘नगरपालिकाले पक्की नाला मात्र बनाईरहेको छ, यसमा भान्छाको पानी, बर्षातको पानी मात्र बग्ने हो । चर्पीको ढलका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले तयार गरेको डिपीआर संघीय सरकारले स्वीकृत गरेको छ ।’ उहाँले भन्नुभयो । मेयर साहका अनुसार ढलको केही काम यसैबर्ष भित्र हुनेछ । यसको लागि टेण्डर प्रक्रिया भईरहेको छ ।
ढल निर्माणका लागि गागनखोलामा ८ विगाहा जग्गा प्राप्तिको काम भई सकेको छ । उक्त ठाउँमा फोहोरपानीलाई प्रशोधन गर्न फोहोरपानी प्रशोधन प्लान्ट बनाउने र पानीलाई प्रदुषण रहित बनाएर विसर्जन गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाको वडा नं. ४ देखि ८ सम्मका बासिन्दा ढल प्रणालीबाट लाभान्वित हुनेछन् ।
खानेपानी र सरसफाइमा यसरी जुटाईदैछ बजेट
खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको खानेपानी आयोजना अन्तर्गतको बजेट कम्तीमा १५ प्रतिशत, नगरपालिकाको खानेपानी क्षेत्रको बजेटको कम्तीमा १५ प्रतिशत, नगर र वडाको सरकारी पूँजीगत अनुदान रकमको कम्तीमा १५ प्रतिशत रकम र स्थानीय तहबाट उपलब्ध हुने अन्य रकम, सांसद विकास कोषबाट प्राप्त हुने रकम तथा विद्यालय सरसफाइ प्रबद्र्धनका लागि शिक्षा विभाग तथा नगरपालिकाबाट विद्यालय सुधार कार्यक्रमका लागि प्राप्त हुने रकम खानेपानी र सरसफाइ क्षेत्रमा लगानी गर्नुपर्ने किटान गरिएको छ ।
गोलबजार नगरपालिका बासीले सरसफाइयुक्त, स्वस्थकर, आनीबानी अपनाउदै सफा, स्वच्छ, हरियालीमय पूर्ण सरसफाइ उन्मुख अवस्थाको विकास गरी स्वस्थ, समृद्ध र आत्मसम्मानयुक्त जीवनयापन गरिरहेका हुने वास प्लानको लक्ष्य छ ।
वास प्लानमा भनिएको छ ‘मानवमलमूत्रको सुरक्षित विसर्जनका लागि सेवा र सुविधाहरुको व्यवस्थालाई सरसफाइ भनिन्छ ।’ नगरपालिकाले क्षेत्रगत विकास योजना तथा विश्वव्यापी दिगो विकास लक्ष्यसँग आबद्ध गराई वास प्लान समेत निर्माण गरेको हो ।
नगरव्यापी समावेशी सरसफाइ योजनाको अवस्था
सुरक्षित सरसफाइमा सबै नागरिकको समान पहुँच पुर्याउन नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना बनाई रहेको छ । वाटर एड नेपाल र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनको साझेदारीमा सञ्चालित स्यानिटेशन पोलिसी एण्ड फाइनान्सिङ परियोजनाले योजना निर्माणको लागि सहजीकरण गरिरहेको छ ।
यो योजना बनाउन डाटा संकलन, नीति विश्लेषण लगायतको कामहरु भईसकेको योजना निर्माणका लागि सहजीकरण गरिरहेको संस्था दलित जनकल्याण युवा क्लवका, कार्यकारी निर्देशक विनोद विसुङकेले बताउनुभयो ।
शहरमा एउटै प्रविधि अपनाएर बनाएका सरसफाइ संरचनामा सबै नागरिकको पहुँच नपुग्न सक्छ । त्यसैले जहाँ जस्तो प्रविधि उपयुक्त हुन्छ त्यस्तै प्रविधि अपनाएर सरसफाइ सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्न आवश्यक छ । शहरव्यापी समावेशी सरसफाइ योजनाले मात्र सुरक्षित सरसफाइमा सबै नागरिकको समान पहुँचको सुनिश्चितता प्रदान गर्दछ । त्यसैले अन्य नगरपालिकाले समेत बेलैमा नगरव्यापी समावेशी सरसफाइ योजना बनाई कार्यान्वयन गर्न आवश्यक छ ।


1325 पटक हेरिएको 

