उर्लाबारी बजारको सार्वजनिक शौचालय भत्किदा पनि नगरपालिकाको ध्यान गएन

उर्लाबारी : मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय भत्किएर भताभुङ्ग हुँदा पनि कसैको चासो नगएपछि दिसापिसाब गर्न समस्या झेल्नु परेको छ ।

‘शौचालयको भित्ता र ढोका भत्किएको छ भने छानो पनि चुहिने गरेको छ । भताभुङ्ग भएको शौचालय देखेपछि दिसापिसाब गर्न आउनेहरु पनि त्यसै फर्किन्छन्’ शौचालयको रेखदेख गर्दै आउनु भएकी उर्लाबारी–७ की विना मल्लिकले बताउनुभयो ।

उर्लाबारी चोकमै रहेको शौचालय भत्किएर भताभुङ्ग भएकाले दिसापिसाब गर्न आउनेको गाली पनि आफूले खानुपरेको मल्लिकले बताउनुभयो । ‘सबैको गाली मैले नै खानुपरेको छ, कि शौचालय राम्रो बनाइदिनुप-यो, कि भत्काइदिनुप-यो’ मल्लिकले भन्नुभयो ।

दैनिक एक सय देखि एक सय पचास रुपैयाँ संकलन त्यो भन्दा बढी खर्च हुने गरेको उहाँले बताउनुभयो । शौचालय भत्किनै लागेकाले दिसापिसाब गर्न आउनेका लागि समेत खतरा रहेको उहाँले बताउनुभयो ।

२०६१ सालमा उर्लाबारी युवा क्लबको संयोजनमा निर्मित उक्त शौचालय सिद्धार्थ क्लबले पुनःनिर्माण गरेको थियो । तत्कालीन उर्लाबारी गाविसको ५० हजार रुपैयाँ र हार्डवेयर पसल तथा स्थानीयबासिन्दाको सहयोगमा एक लाख ५० हजारमा निर्मित शौचालय उचित संरक्षणको अभावमा जीर्ण भएको हो ।

साबिकको उर्लाबारी गाविसलाई २०६८ चैत्र २८ गते खुला दिसामुक्त गाविस घोषणा गरिए थियो । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा अझै पनि खुला रुपमा दिसापिसाब गर्ने गरेका स्थानीयबासिन्दा बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार