
काठमाडौ : खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले खुलादिसामुक्त अवस्थाको दिगोपनामा चुनौती रहेको बताउनुभएको छ । चर्पीको सेफ्टिक ट्याङ्क वा खाल्डोमा थुप्रिएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्न नसके खुला दिसामुक्त अवस्थाको दिगोपना मुख्य चुनौती हुने उहाँको भनाइ छ । वास खबर सँग कुराकानी गर्दै सिडिई चित्रकारले खुला दिसामुक्त घोषणा गर्ने क्रममा विभिन्न विकास साझेदार एनजिओ, आईएनजिओहरु सँग सहभागितामूलक ढंगले काम गरिरहेको अवस्थामा ठूलो सफलता हासिल गरेको बताउनुभयो । उहाँले जब खुला दिसामुक्त राष्ट्र घोषणा भयो, त्यसपछि दिगो बनाउनका लागि नागरिक स्तरको अभियानलाई निरन्तरता दिन नसकेको बताउनुभयो ।
दिसाजन्य लेदोको सुरक्षित तरिकाले व्यवस्थापन एवं नियमन गर्न बनाईरहेको सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन गाईडलाइन संघीय सरकारले निर्माण गरी यसको अपनत्व तथा कार्यान्वयनको जिम्मा स्थानीय सरकारलाई दिईनेछ ।
अस्थायी रुपमा बनेका शौचालयहरु फेरि दिसाले भरिन थालेको र त्यसको वैकल्पिक व्यवस्था दिन नसक्दा खुला दिसामुक्त राष्ट्रबाट फेरि पुरानै अवस्थामा फर्किने चिन्ता बढेको उहाँले बताउनुभयो ।
कतिपय जिल्लामा अझै चर्पी विहीनताको अवस्था रहेको स्वीकार्दै सिडिई चित्रकारले यसको व्यवस्थापन संघीय सरकारले मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । ‘शौचालय बनाउने कामलाई सफल बनायौं । तर शौचालयमा जम्मा भएर बसेको दिसाजन्य लेदोलाई सुरक्षित तवरले व्यवस्थापन गर्नका लागि तीनै तहको सरकारले समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘होइन भने यसलाई दिगो बनाउन गाह्रो छ । त्यसका लागि हामी संघीय सरकारको तर्फबाट पनि मन्त्रालय लेबलमा, आयोजनाको लेबलमा र विभागीय लेबलमा काम गरिरहेका छौं ।’
उहाँले दिसाजन्य लेदोलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नीतिगत व्यवस्था आवश्यक भएकाले विश्वस्तरमै विकास भएको अवधारणालाई नेपालले पनि अंगीकार गर्न लागेको समेत बताउनुभयो । ‘हाम्रो मन्त्रालयले सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन गाईडलाईनको मस्यौदा तयार पारी विभिन्न सरोकारवालहरुसँग छलफलको क्रममा रहेको छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार ‘सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन’ ले कुनै क्षेत्र, त्यो सहरभित्रको वस्ती, त्यो सहरभित्रको विभिन्न प्रकारका जातजातिहरुलाई समेट्छ । जस्तै शहरभित्र खाल्डे चर्पी हुन्छ, सेफ्टिक ट्याङ्क पनि हुन्छ, कतिपय वस्तीहरु ढल प्रणालीमा पनि जोडिएका हुन्छन् । खाल्डे चर्पीमा भएको दिसा, सेफ्टिक ट्याङ्कमा भएको दिसाजन्य लेदो, ढल प्रणालीमा जोडिएको दिसा, जुन एकदमै खतरनाक हुन्छ । यसको सुरक्षित व्यवस्थापनका लागि उपयुक्त प्रविधिहरु प्रयोग गर्ने देखि लिएर सरोकारहरुवालाहरुको सहभागितामा समुचित व्यवस्थापन सम्मको कुरा गाडइलाइनमा समेटिएको छ ।
संघमा निर्माण, स्थानीय तहमा कार्यान्वयन
दिसाजन्य लेदोको सुरक्षित तरिकाले व्यवस्थापन एवं नियमन गर्न बनाईरहेको सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन गाईडलाइन संघीय सरकारले निर्माण गरी यसको अपनत्व तथा कार्यान्वयनको जिम्मा स्थानीय सरकारलाई दिईनेछ ।
यसका लागि पनि स्थानीय सरकारसँग समन्वय भईरहेको खानेपानी मन्त्रालयका सिडिई चित्रकारले बताउनुभयो । ‘यो गाईडलाइनलाई एउटा दस्तावेजको रुपमा मात्र प्रस्तुत नगरी कार्यान्वयन गर्न सक्ने डकुमेन्टको रुपमा प्रस्तुत गर्न खोजिरहेका छौं भने त्यसै अनुसार स्थानीय सरकार विशेष गरी नेपाल नगरपालिका संघ (मुआन) सँग घनिभूत रुपमा समन्वयको कार्य अगाडि बढाईरहेका छौं ।’ उहाँले भन्नुभयो ।
सिटी वाईड इन्क्लुसिभ स्यानिटेशन योजनालाई पाईलटिङको रुपमा किर्तिपुर नगरपालिकामा कार्यान्वयन गरिएको छ । किर्तिपुरको कार्यान्वयन मोडालिटीका सिकाई एवं देश विदेशको अभ्यासबाट प्राप्त सिकाईहरुलाई समेत समावेश गरी नेपालभरिका नगरपालिकाहरुलाई ध्यानमा राखेर गाईडलाइन तयार पारिने उहाँले बताउनुभयो ।


1392 पटक हेरिएको 

