
काठमाडौ : स्मृति शर्माले शुक्रबार कपडाको स्यानिटरी प्याड बनाउने तालिममा भाग लिनुभयो । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित अनलाइन तालिममा उहाँका श्रीमानले सहभागी हुन सल्लाह दिएको र तालिम निक्कै उपयोगी भएको उहाँको प्रतिक्रिया थियो । कपडाको प्याड बनाउन आवश्यक पर्ने कपडा, काट्ने तरिका, सिलाउने तथा पट्याउने सम्मको तरिका सिकाउनुपर्छ । यो सबै कार्य अनलाइनबाटै सम्भव हुँदैन कि भन्ने धेरै बुझाइ छ । तर यो कार्य अनलाइनबाटै सम्भव रहेछ भन्ने थाहा पाएको सहभागीहरु बताउँछन् ।
सुरुमा कपडाको प्याड बनाउने अनलाइन तालिमको कुरा गर्दा असम्भव जस्तो लागेपछि तालिममा भाग लिएपछि सम्भव रहेछ भन्ने थाहा पाएको एरोसानका सार्वजनिक शौचालयका सफाईकर्मी अमिसा देउलाले बताउनुभयो । कपडाको प्याडको फाइदाबारे थाहा नपाउँदा बजारमा पाईने प्याडमा कमाईको धेरै पैसा खर्च भईसकेको अनुभव बताउँदै उहाँले तालिम पश्चात प्याडमा हुने खर्च बचत गर्ने बताउनुभयो । ‘मैले तालिमबाट सिकेको ज्ञान उपयोग गरी कपडाको प्याड प्रयोग गर्छु र म आफन्तलाई पनि प्रयोग गर्न लगाउँछु ।’ उहाँले भन्नुभयो ।
अनलाइन तालिममा इमेज च्यानलका पत्रकार जगदिश खरेलले महिनावारी दिवसको दिन हातैले बनेको कपडाको प्याड श्रीमतीलाई उपहारको रुपमा दिएर महिनावारीमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महिनावारी बारे खुलेर कुरा गर्नुपर्छ : उपमेयर खड्का

अनलाइन तालिममा किर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले आफू सानो हुँदा महिनावारी सम्बन्धी ज्ञान नभएको र प्याडको अभावमा विद्यालय जान नपाएको तितो अनुभव सुनाउनुभयो । उहाँले महिनावारीको बारेमा महिला र पुरुष दुवैले खुलेरै आवाज उठाउन जरुरी भैसकेको समेत बताउनुभयो ।
किर्तिपुर नगरपालिकामा रहेका विद्यालयहरुमा निःशुल्क प्याड वितरण गर्दै आएका जानकारी गराउँदै उहाँले दुर्गम स्थानहरुमा महिलाहरु महिनावारी हुँदा आज पनि छाउगोठमा बस्न बाध्य छन् भने शहरमा पनि महिनावारीलाई घीन, लाज, सरम र धर्मसँग जोडेर महिलाहरुलाई पछाडि पार्ने र अपहेलित गरी महिनावारीलाई समस्याको रुपमा लिने गरेको बताउनुभयो ।
यस्तै पूर्व सह–सचिव तथा खानेपानी तथा सरसफाइ विशेषज्ञ राजन पाण्डेले राज्यले हरेक समय स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन सम्भव नभएकोले कपडाको प्याड बनाउने तालिम देशव्यापी पुर्याउन सकेमा सम्पूर्ण महिलाहरुको पहुँचमा सुरक्षित प्याड हुने बताउनुभयो । उहाँले ५ वर्ष अगाडि नै खानेपानी मन्त्रालयले बनाएको महिनावारी सम्बन्धी नीति आज सम्म पनि कार्यान्वयनमा आउन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
हरेक बर्ष मे २८ मा मनाईदै आएको विश्व महिनावारी स्वच्छता दिवस #ItstimeforAction नाराका साथ मनाईएको छ ।

दिवसकै अवसरमा सडकमा व्यवसाय गर्ने, सरसफाइ क्षेत्र र अनौपचारिक क्षेत्रमा कार्यरत महिलाहरुलाई प्रोत्साहन गर्न र व्यवहारिक तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले कपडाको प्याड तयारी सम्बन्धी अनलाइन तालिम सञ्चालन गरिएको थियो । तालिम गैरसरकारी संस्था गुथि, नेपाल महिला समाज, संयुक्त सफाइ जागरण बचत तथा ऋण सहकारी संस्था लि. ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा सञ्चालन गरिएको हो ।


1125 पटक हेरिएको 

