
रसुवा : गत्ल्याङ टोल, दुर्गमा गाउँपालिका वडा नं. ३, रसुवा जिल्लामा करिव ३२५ घर तामाङ र करिव १५ घरमा दलित जातिहरू बसोवास गर्दछन्। केहि वर्षदेखि यस समुदायमा विभिन्न गैरसरकारी संघ–संस्थाहरू मार्फत् खानेपानी, सरसफाइ र स्वच्छता (वास) सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू संचालन हुँदै आएको थियो, तर व्यवहारमा भने खासै परिवर्तन आएको थिएन ।
जसोतसो दिनचर्या चलिरहेको यस समुदायका बासिन्दाले स्वास्थ्य र सरसफाइलाई त्यति महत्व दिंदैन थिए । हात धुने बानीको विकास गर्ने उद्देश्यले एक गैर–सरकारी संस्थाले त्यस समुदायका प्रत्येक घरधुरीलाई धारा सहितको प्लाष्टिकको बाल्टिन वितरण गरी निश्चित स्थानमा हात धुने ठाउँ बनाउन निकै प्रयास गरेको थियो, तर हात धुने बानीमा कुनै अभ्यास नै देखिएन । बरु ती दिईएका बाल्टिनहरू पानी राखी हात धुन भन्दा पनि अन्न भण्डारण र पशुपालनका लागि पानी ओसार्न प्रयोग भएको थियो।
पछि सुआहारा कार्यक्रमको शुरुवातसंगै एकिकृत पोषण र सरसफाइलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू संचालन गरियो, तरपनि सरसफाइमा खासै परिवर्तन आएन । एकिकृत पोषण कार्यक्रममा खानेपानी र सरसफाइ बाहेक अन्य विषय बस्तुहरूमा पनि छलफल गरिन्छ । त्यसो हुँदा समुदायका आमाहरूले विशेष गरी गर्भ देखि २ वर्षसम्म बच्चा कसरी हुर्काउने र के कसरी खाने र खुवाउने, खोप लगाउने जस्ता कुरालाई बढी प्राथमिकता दिएको पाइयो तर, सरसफाइमा भने खासै सुधार भएको थिएन ।
हाल विश्व लगायत नेपालमा पनि देखिएको कोराना भाइरसको रोगको प्रभावले गर्दा नेपाल सरकारले लकडाउन गरेको अवस्थामा, विभिन्न संचार माध्यम मार्फत् कोभिड–१९ रोगबाट बच्न विभिन्न सन्देशहरू दिईरहेको छ, जसमा नियमित हात धुने कार्यलाई प्राथमिकताका साथ प्रचार गरिएको छ । यसै क्रममा सुआहारा कार्यक्रमले पनि सरकारको कार्यलाई हातेमालो गर्दै मोबाइल मार्फत् समुदायका हजार दिने आमा लगायत अन्य घरपरिवारलाई कोभिड–१९ रोग सम्बन्धी परामर्शका साथै एकिकृत पोषणका बारेमा पनि जानकारी दिँदै आएको छ ।
कोभिड–१९ रोग आउनु भन्दा अघि पनि हात धुने कुरालाई प्राथमिकतामा राखी परामर्शहरू दिइएको थियो र हात धुने स्थान, जुथेल्नो र भाँडा सुकाउने चाङ्ग बनाउने सल्लाह दिइएता पनि समुदायका मानिसहरूमा व्यवहार परिवर्तन भएको थिएन । तर, हाल मोबाइलबाट परामर्श दिँदा मानिसहरूको भनाइ र विचार फेरिएको पाइन्छ र समुदायका व्यक्तिहरूले हात धुने कुराको महत्व बुझ्न थालेका छन्।
एक स्थानीय बासिन्दा नबिन तामाङ सम्झिंदै भन्छन्, “तपाईहरूले पहिलेदेखि सिकाउनु भएको कुरा ठिक रहेछ । नियमित रुपमा साबुनपानीले हात धुनुको महत्व बल्ल अहिले थाहा भयो। अहिले हामी नियमित साबुनपानीले दुबै हात मिचिमिची धुने गर्छौं । परिस्थितिले हामीलाई राम्रो पाठ सिकाएको छ ।” हाल धैरैजसो घर–आँगनमा पानीको बाल्टिन र साबुन राखिएको पाइन्छ । केन्द्रदेखि स्थानीय सरकारले समेत कोरोना भाइरसको महामारीबाट बच्न साबुनपानीले नियमित रुपमा हात धुनै पर्ने कुरालाई अभियानको रुपमा प्रचार–प्रसार गरेपछि हाल मानिसहरूले महत्व बुझेर साबुनपानीले हात धुन थालेका छन्।
कार्साङ दावा तामाङ/वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्रकाशन अन्जुलीबाट


907 पटक हेरिएको 

