काठमाडौ : आज भन्दा ३५ बर्ष नेदरल्याण्डका नागरिक Han Heijnen युनिसेफको जागीरे भएर नेपाल आउनुभएको थियो । २०३९ सालमा पहिलो पटक नेपाल आएका हान पोखरा जाँदा त्यहाँको लुवाईखुवाई, बसाई देखेर छक्क पर्नुभएछ ‘वातावरण अति रमाइलो, प्रकृतिको मनोरम दृश्यमा हामी हराउँथ्यो, हिमाल यत्ति राम्रो देखिन्थ्यो, संस्कृति पनि उस्तै राम्रो थियो, तर मानिसहरु फोहोरी थिएँ, गाउँघर फोहोर, मानिसहरुमा सरसफाइ प्रतिको चेतना त्यत्ति धेरै आइसकेको थिएन, म त्यत्तिबेला भन्ने गर्थे ‘हिमाल राम्रो छ, टाढा हेर्नुहोस् तर आफ्नो खुट्टामा नहेर्नुहोस्, किनकि खुट्टामा दिसा छ, मल छ ।’
त्यत्तिबेलाको दिन सम्झिदै हानले भन्नुभयो ‘त्यत्तिबेला नेपाल आएका विदेशीहरु निक्कै विरामी भए, खानेकुरा स्वच्छ तरिकाले पकाउदैनथे, सलाद पनि त्यत्ति सफा हुन्थेन, अनि विदेशीहरु विरामी पर्थे । मेरो विचारमा उनीहरुसँग नेपाली खानेकुरा बनाउने सीप थियो र सक्दथे, तर पर्यटकलाई खाना बनाउन नआउँदो रहेछ र स्वच्छ तरिकाले बनाउनै नजान्ने रहेछ ।’
लाहुरेले गर्थे प्राविधिकको काम
२०३९ साल तिर नेपालमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव थियो । युनिसेफ नेपाल मार्फत पश्चिमान्चल क्षेत्रमा खानेपानी र सरसफाइको काम गर्ने जिम्मेवारी लिएर गएका हानले त्यहाँ प्राविधिक जनशक्तिको अभाव व्यहोर्नु प-यो ।
पाइप बोक्ने, कुलो खन्ने, गिट्टी बालुवा बोक्ने लगायतका कामहरु त गाउँलेले गर्थे तर प्राविधिकले नै गर्ने कामहरुमा भने समस्या हुन्थ्यो, त्यसैले प्राविधिक काम गर्नका लागि सेवा निवृत्त लाहुरेलाई तालिम दिएर खटाएका थिए ।
हान ३५ बर्ष अघिको क्षण सम्झिदै भन्नुहुन्छ ‘त्यत्तिबेला प्राविधिक स्कुल पनि थिएन, पढेलेखेका मानिस पनि कम थिए । त्यसैले हामीले रिटायर लाहुरेहरुलाई खटाएका थियौं, उनीहरुमा अनुशासन त थियो, तर तालिम मात्र दिएर उत्पादित प्राविधिकले कति पो राम्रो काम गर्न सक्थ्यो र ?’
२० बर्ष पछि फर्किदा पनि उस्तै देखे, नेपाल
२०३९ साल देखि ४ बर्षसम्म काम गरेपछि २०४३ सालमा उहाँ आफ्नै देश फर्किनुभयो । त्यसको २० बर्षपछि सन् २००६ अर्थात २०६३ सालमा फेरि हानलाई नेपाल आउने साइत जु-यो । यसपटक उहाँ विश्व स्वास्थ्य संगठनका जागीरे भएर आउनुभएको थियो ।
शुरुमा चार बर्षसम्म नेपालको पश्चिमाञ्चलमा खानेपानी र सरसफाइ सम्बन्धी धेरै अनुभव सँगालेर फर्किएका हानले यसपटक नेपाल आउँदा श्रीलंकाको अनुभव पनि लिएर आउनुभएको थियो । तर उहाँले जत्ति नेपालमा सुधारको अपेक्षा गर्नुभएको थियो, यसपटक पनि खासै राम्रो देख्न पाउनुभएन ।
हान भन्नुहुन्छ ‘लामो समयपछि नेपालमा आउँदा मैले काठमाडौमा मानिसहरुको चाप बढेको देखें, मानिसको चाप बढेपछि वाग्मती उस्तै फोहोर हुन थालेको पाएँ, मैले जे अपेक्षा गरेको थिएँ त्यो थिएन ।’
पछिल्ला २० बर्षमा नेपालको राम्रो उन्नति
नेपालको विकास प्रक्रियालाई झण्डै चार दशक देखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नियालिरहनु भएका हानका अनुसार नेपालले पछिल्ला दुई दशकमा राम्रो प्रगति गरेको छ । हान भन्नुहुन्छ ‘सरकारले पनि पछिल्ला २० बर्षमा क्षमता बढाएको छ, राम्रा राम्रा जनशक्ति उत्पादन भएका छन् । भारत, अष्ट्रेलिया, जापान लगायतका देशमा पढ्न गएर भएपनि धेरै प्राविधिक जनशक्ति उत्पादन भएका छन् । बूढो मान्छेहरु सेवा निवृत्त भएर निस्केका छन्, नयाँ नयाँ जोश भएका युवा पुस्ता सरकारी सेवामा प्रवेश गर्दैछन् ।
यी बाहेक नेपालीहरु जो विदेशमा गएर फिर्ता आए । उनीहरुले पनि विदेशका सिस्टमहरु यहाँ लिएर आए । एउटा ज्ञान आर्जन गरेर आए अर्को चाहिं व्यवहार नै परिवर्तन गरेर आएर यहाँ देखाए, त्यसकारण पनि नेपालमा पछिल्ला दुई दशकलाई फर्केर हेर्दा नेपालीहरुको सोच, आचरण, काम गर्ने शैली, विकासकै कुरा गर्दा पनि यहाँ शिक्षा, स्वास्थ्य, पूर्वाधार सबै क्षेत्रको विकासमा तीब्रता आइरहेको मैले महसुस गरेको छु ।’ तर हामी कहाँ एकीकृत विकासको अवधारणा छैन ।
एउटा कार्यालय र अर्को कार्यालय बीच तालमेल देखिदैन । एकपटक पश्चिमान्चलमै एउटा सडक बनाउने काम थियो, त्यो भन्दा अगाडि त्यहाँ खानेपानीको योजना सञ्चालन गरिएको थियो । त्यहाँ सडक बनाउँदा पाइपलाइन सबै काटिए । तपाई भन्नुहोस् त, त्यो नोक्सानी कसले व्यहोर्ने ?’ उहाँले भन्नुभयो ।
International Rainwater Harvesting Alliance का President Han Heijnen सँग गरिएको कुराकानीमा आधारित