
काठमाडौ : विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको हो । नयाँ महशुल दर आगामी मंसिर महिनाको विद्युत् खपतमा अर्थात पुस महिनाको बिलिङबाट लागू हुनेछ । नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।
सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।
थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ । चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।
ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाईएको आयोगले जनाएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।
आयोग स्रोतका अनुसार घरायसी तल्लो वर्गको २३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका लागि पानी तान्न हाल प्रति युनिट ४.३० रहेकोमा घटाएर २.२५ रुपैयाँ, ३३ केभीका ग्राहकका लागि पानी तान्न ४.८० रुपैयाँ रहेकोमा २.५० रुपैयाँ तथा ११ केभीका ग्राहकका लागि ४.९० रुपैयाँ रहेकोमा घटाएर २.६० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । यसले कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्राधिकरणले औद्योगिक ग्राहकको हकमा न्यूनतम शुल्कमा एक सय रुपैयाँ प्रस्ताव गरेकोमा आयोगले त्यसलाई अस्वीकार गरी यथावत राखेको छ । उद्योगी व्यवसायीले समेत डिमाण्ड शुल्क बढाउन नहुने बताउँदै आएका थिए ।


966 पटक हेरिएको 

