अछाम : कानुनी रुपमा दण्डित र सामाजिक रुपमा कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि अछामका महिलाहरुले यस विरुद्धको अभियान थालेका छन् । महिला तथा बालबालिकाको समग्र स्वास्थ्यका दृष्टिले जोखिम, सामाजिक, सास्कृतिक रुपमा कलंकित तथा जिल्लाकै बेइजती बनेको छाउपडी कुप्रथाको अन्त्य गर्नका लागि केहि गाउँका महिला अभियानकै रुपमा अगाडि बढेका हुन् ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट र वडा नम्बर ११ देबिस्थानका महिला टोल टोलबाट छाउपडी कुप्रथा हटाउने अभियानमा जुटे । छाउपडी कुप्रथा नै समाजको सबैभन्दा प्रमुख समस्या रहेको निष्कर्ष निकाल्दै वडा नागरिक मंचको नेतृत्वमा महिलाहरुले अभियान थालेका हुन् । साविकको गाविसका प्रत्येक वडा वडाबाट महिला यस अभियानमा सहभागि भैरहेका छन् ।
महिलाहरुले थालेको उक्त अभियानमा जनप्रतिनिधिहरुको समेत सहभागिता हुने गरेको खप्तडपाटन नागरिक सचेतना केन्द्र देविस्थानका संयोजक हस्तना खातीले जानकारी दिए । छाउपडी कुप्रथा बिरुद्धको सामाजिक अभियान अन्तर्गत पहिलो चरणमा दुबै वडा अर्थात साविसकको दुबै गाविसका सबै वडास्तरबाट सबै महिलाको सहभागितामा हालै मात्र यस बिरुद्धको सचेतनामुलक र्याली निकालिएको छ ।
अभियानको पहिलो उद्देश्य निर्वाचित जनप्रतिनिधिहरुलाई छाउपडी कुप्रथा हटाउने जिम्मेवारी बोध गराउनु पनि रहेको सामाजिक बिकास कार्यक्रमका फिल्ड सुपरभाइजर दुधकला बिष्टले जानकारी दिए ।
छाउपडी कुप्रथा सामाजिक रुपमा कुसस्कार भएकाले यसको अन्त्य गर्नु जरुरी छ भन्ने कुरा बुझेर महिला स्वस्फुर्त रुपमा यो अभियानमा लागेको बिष्टले बताए। सामुदायिक बिकास कार्यक्रमले उक्त अभियानमा सहजिकरण गरिरहेको छ ।
महिलाहरुले सुरु गरेको अभियानमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुको समेत सक्रिय सहभागिता हुने गरेको छ। अभियानमा सहभागि देविस्थानका वडा अध्यक्ष गणेशबहादुर खडकाले वडालाई छाउपडी गोठमुक्त वडा बनाउने अभियान संचालन गरिने प्रतिवद्धता जनाएको खबर अन्नपूर्ण पोष्टमा छापिएको छ ।
छाउपडी कुप्रथा विरुद्धको अभियानलाई कडाईका साथ संचालन गरिने भन्दै वडा अध्यक्ष खडकाले आफूले महिनावारी भएको बेला महिलालाई पहिले देखिनै घरमा राख्दै आएकोमा अबदेखि महिनावारी भएको महिलाको हातबाट खाना पकाएर खाने कुराको सुरुवात गर्ने प्रतिवद्धता पनि जनाए ।
यस अघि छाउपडी कुप्रथा सम्बन्धि थुप्रै अभियान चले पनि जनप्रतिनिधि नभएको अवस्थामा त्यस्ता अभियानले सार्थकता पाउन नसके पनि अब भने अभियानले सार्थकता पाउने विश्वास सरोकारवालले लिएका छन् ।
नागरिक सचेतना केन्द्रकै योजना अनुसार प्रत्येक वडामा वडा अध्यक्षको संयोजकमा तथा बाँकी जान सदस्यको संयोजकमा अन्य टोलमा पनि अनुगमन समिति गठन गरी छाउपडी कुप्रथा बिरुद्धको अभियानलाई प्रभावकारी ढंगले संचालन गरिने बिष्टले जानकारी दिए ।
यसअघि भोट माग्ने समयमा प्राय उम्मेदवारले समाजमा व्याप्त छाउपडी कुप्रथा, बालबिबाह, बहुबिबाह जस्ता सामाजिक कुरिती, कुसस्कारको अन्त्य गर्ने प्रतिवद्धता जनाएकामा निर्वाचित भइसकेपछि उहाँहरुलाई छाउपडी कुप्रथा जस्ता सामाजिक कुरिती, कुसस्कारको अन्त्य गर्नुपर्ने पहिलो नैतिक दायित्व छ ।


602 पटक हेरिएको 

