
काठमाडौ : आज विश्व शौचालय दिवस Valuing Toilet भन्ने नाराका साथ संसारभर मनाईदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । अघिल्लो बर्ष कोभिड- १९ को महामारीका कारण भौतिक रुपमा भेला भएर मनाउन नसकेको यो दिवसको अवसर पारी नेपालमा भने दुई दिन अगाडि देखि नै यस सम्बन्धी कार्यक्रमहरु भईरहेका छन् । दिवसको अवसरमा आज खानेपानी तथा ढल व्यवस्थापन विभाग, पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले संयुक्त रुपमा गोष्ठीको आयोजना गरेको छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सरसफाइको वर्तमान अवस्था, सार्वजनिक शौचालयको अवस्था तथा सरसफाइमा आईएसओ २४५२१ मापदण्ड गरी तीन वटा बिषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय दिवसलाई स्थापित गरेको थियो । सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।
शौचालय र यसको महत्व सबै सामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ । नेपाललाई १३ असोज २०७६ मा खुला दिसामुक्त देश घोषणा गरिए पनि कतिपय जिल्लामा अझै व्यवस्थित शौचालयको अभाव छ । फोहोरपानी र दिसाजन्य फोहोरको प्रशोधन सहितको शौचालय सबैको पहुँचमा पुर्याउन सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।
विश्व स्वास्थ्य संगठन र युनिसेफले प्रकाशन गरेको सन् २०२० को जोइन्ट मनिटरिङ प्रोग्राम (जेएम्पी) को रिपोर्ट अनुसार नेपालमा ४७ प्रतिशत स्कुलको शौचालयमा मात्र पानीको सुविधा उपलब्ध छ । ३१ प्रतिशतले चाहिं सीमित पानीले काम चलाई रहेको र २३ प्रतिशत स्कुलमा भने पानी नै नभएको अवस्था देखाएको छ । यस्तै १७ प्रतिशत स्कुलहरुमा खानेपानी र सरसफाइको कुनै पनि सुविधा नभएको अवस्था छ ।
यस्तै ३६ प्रतिशत स्वास्थ्य संस्थाहरुमा आधारभूत खानेपानीको सुविधा नभएको, ८ प्रतिशत स्वास्थ्य संस्थामा शौचालय सुविधा नै नभएको र ५४ प्रतिशत स्वास्थ्य संस्थामा हात धुने सुविधा र सामग्रीको समेत उपलब्ध नभएको पाईएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार अझै ४ अर्ब २० करोड जनसंख्यामा सुरक्षित शौचालयको अभाव छ भने ६७ करोड ३० लाख जनसंख्या शौचालयको अभावमा अझै पनि खुला ठाउँमा दिसा गर्न बाध्य छन् ।
तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गमा सार्वजनिक शौचालयको अभाव छ भने भएका शौचालयमा समेत आवश्यक सुविधाको अभाव छ ।
सार्वजनिक शौचालयको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सार्वजनिक शौचालयमा देखिएको समस्या सुधारका लागि तीन वटा पक्ष औल्याउनुहुन्छ । उहाँका अनुसार
१. बहालमुखी नीति रटेन्डर प्रक्रियाबाट शौचालय ठेक्कामा दिने परिपाटी हटाउनुपर्छ । उहाँका अनुसार रत्नपार्क वरिपरिका शौचालयवाट महानगरपालिकाले वार्षिक एक मुष्ठ प्रति शौचालय १७ देखि ६१ लाख बहाल उठाउँछ ।
२. शौचालय सञ्चालन र व्यवस्थापन कार्यविधि निर्माण गरी शौचालय सञ्चालन गर्नुपर्छ ।
३. सार्वजनिक शौचालयको सेवा विस्तार गर्न राजनीतिक इच्छा शक्ति हुनुपर्छ । उहाँका अनुसार न्यून राजनीतिक इच्छा शक्ति नहुँदा नै सार्वजनिक शौचालय सेवा विस्तार हुन नसकेको हो ।
ललितपुर र काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालय स्थापना गरेर नमूना प्रस्तुत गरिसकेको र शौचालय पूर्वाधार मात्र नभई यो व्यवसायिक रुपमा चल्नुपर्ने र वातावरणीय प्रभाव न्यून गर्नु पर्ने उहाँको धारणा छ ।


1777 पटक हेरिएको 

