काठमाडौ, प्रसन्न तामाङ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराबाट हामी भारत सीमामा पर्ने मटिअर्वा तिर जाने भयौं । अरु तीन वटा टोलीले पनि अनुगमनका लागि आ -आफ्नो क्षेत्र चयन ग-यो । तराइका जिल्लाहरुको सरसफाइको अवस्था बुझ्न हामी काठमाडौबाट संयुक्त अनुगमन टोलीमा खटिएका थियौं ।
अनुगमनका लागि खटिएको ठाउँको सरसफाइको अवस्था अध्ययन गरी त्यसको प्रतिवेदन त्यही दिन साँझ प्रस्तुत गर्नुपर्ने जिम्मेवारी भएकाले सबै टोलीको हतारो उस्तै थियो । हाम्रो टोलीमा सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठ, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौका सिनियर डिभिज्नल इञ्जिनियर सिबेन्द्र झा, खानेपानी तथा ढल निकास विभागका इञ्जिनियर चेत नारायण श्रेष्ठ र आइडियस नेपालमा कार्यरत कर्मचारीहरु हुनुहुन्थ्यो ।
बाराको मटिअर्वाका लागि गुड्दै गरेको गाडी सीतलपुर भन्ने ठाउँमा पुगेपछि झ्याप्प रोकियो । ड्राइभर सँगैको सीटमा बस्नु भएका सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठले गाडी रोक्न आग्रह गर्नुभएको रहेछ ।
सडकको दायाँ किनारामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय देखेपछि उहाँको ध्यान त्यता तानिएको रहेछ । त्यसभन्दा अगाडि काठमाडौमा हुने सरसफाइ सम्बन्धीका कार्यशाला तथा तालिममा मात्र भेट भइरहने सरसफाइ विज्ञ श्रेष्ठसँग सँगै हिडेर पहिलो पटक सरसफाइको अवस्था अध्ययन गर्दै थिएँ । उहाँको एउटा विशेषता के रहेछ भने चर्पी देख्नै नहुने । चर्पी देख्न त्यसको बाहिरी भित्री बनावट, आकार र सरसफाइको अवस्था नियाल्नै पर्ने ।
………………………………………………………………………………………………………………………………………………………
विद्यालयका प्रधानाध्यापक आफ्नै कार्यकक्षमा हुनुहुन्थ्यो । हामीले विद्यालयमा प्रवेश गर्नुका कारण र परिचय दियौं । संयुक्त अनुगमन टोलीका सदस्य एवं सरसफाइ विज्ञ नमस्तेलाल श्रेष्ठले विद्यालयको सरसफाईको अवस्था बताउन आग्रह गरेपछि प्रधानाध्यापक मुन्निलाल महतोले छात्रा र छात्रको लागि बेग्लाबेग्लै शौचालय भएको, छात्राका लागि नयाँ शौचालय पनि बनिरहेको र छात्रछात्राको व्यक्तिगत सरसफाइका विषयमा दैनिक जाँच गरिरहेको जानकारी गराउनुभयो ।
प्रधानाध्यापक मुन्निलालले भन्दै जानुभयो, हामीले पनि टिपोट गर्दै गयौं । आहा ! कति राम्रो विद्यालय, छात्रा छात्रका लागि बेग्लाबेग्लै चर्पी, शिक्षक र विद्यार्थीले प्रयोग गर्ने चर्पी पनि एउटै, शिक्षकले पनि विद्यार्थीले प्रयोग गर्ने चर्पी नै प्रयोग गरेपछि कति सफा होला ? हामी प्रधानाध्यापकको कुरा सुनेर मख्ख भयौं ।
हामीलाई प्रधानाध्यापकले भनेको सुनेर मात्र चित्त बुझेन । ‘हामी विद्यालयको चर्पी हेर्न सक्छौं ?’ टोलीका सदस्य सिबेन्द्रले झाले सोध्नुभयो ।
प्रधानाध्यापक मुन्निलाल झा ले स्वीकृति मात्र दिनुभएन, उहाँ आफै अघि अघि लाग्नुभयो, हामी पछि पछि गयौं ।
प्रधानाध्यापक मुन्निलालले निर्माणाधीन चर्पी र पुरानो चर्पी देखाउनुभयो । त्यसपछि झण्डै २० मिनेट अघि उहाँले दर्शाएका कुराहरु सबै झुटमा परिणत भए । हामीले अर्कालाई हेराहेर ग-यौं, एकछिन कोही पनि बोल्न सकेनौं ।
………………………………………………………………………………………………………………………………………………………
छात्रा शौचालयमा ताला लगाएको महिनौं भइसकेको हुनुपथ्र्यो । खिया लागेका र ढोकैनेर उम्रिएको झारले त्यही कुराको संकेत गथ्र्यो । छात्र शौचालय पनि प्रयोग नभएको कयौं दिन भइसकेको थियो । शौचालय भित्र माकुराले जाल बुन्न थालिसकेको थियो, शौचालय जाने बाटो लेउले पूरै ढाकिएकाले हिड्दा समेत लडिएला कि भनेर सम्हालेर हिड्नु पथ्र्यों ।
एकैछिन अघि सम्म विद्यालयको सरसफाइको अवस्था एकदमै राम्रो भएको र छात्राछात्र दुवैका लागि शौचालयको व्यवस्था गरिएको दाबी गरिरहेका प्रधानाध्यापक झा कालो निलो हुन थाल्नुभयो । ‘छात्राको शौचालयमा ताला लगाउनुभएको छ, छात्रको पनि प्रयोगविहीन देख्यौं, तपाईहरु दिसापिसाब कहाँ गर्नुहुन्छ ?’ विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीले खुला ठाउँमै दिसापिसाब गर्छन् भन्ने अनुमान लगाउन गाह्रो थिएन, तैपनि थाहा नपाए झैं गरी मैले सोधिहालें ।
प्रधानाध्यापक झा ले यस्तो अचम्मको जवाफ दिनुभयो कि, जुन हामीले कल्पनै गरेका थिएनौं । शिक्षक तथा शिक्षिका र अधिकांश बालबालिकाको घर पनि विद्यालयबाट नजिकै भएकाले दिसापिसाब गर्न पनि आ– आफ्नै घरमा जाने गरेको कुरा सुनाउनुभयो ।
……………………………………………………………………………………………………………………………………………………..
शौचालयको यस्तो दुरावस्था र प्रधानाध्यापकको गैरजिम्मेवार जवाफ सुनेपछि हामी अवलोकन गरेर मात्र फर्कन सकेनौं । ‘यो छात्रा शौचालयको ताला तोड्नुहोस्, अरु शिक्षकहरु र माथिल्लो तहका विद्यार्थीलाई पनि बोलाउनुहोस्, हामी पनि सरसफाइ गर्छौ, तपाईहरु पनि खट्नुप-यो’ टोलीका सदस्य नमस्तेलाल श्रेष्ठले प्रधानाध्यापक झासँग आग्रह गर्नुभयो ।
प्रधानाध्यापक झाले तत्काल कक्षा ७ का विद्यार्थीलाई बोलाए पनि शिक्षक शिक्षिकालाई सरसफाइमा परिचालन गर्ने आँट गर्नुभएन । बरु आफै खेतमा धान रोप्न ठिक्क परे झैं घुँडाघुँडा सम्म पाइन्ट सारेर बेल्चा समात्न तयार हुनुभयो ।
एकैछिन हेड सर ! बेल्चा समातेर शौचालय सफा तम्सिएका प्रधानाध्यापक मुन्निलाल शाहलाई इञ्जिनियर चेतनाथ श्रेष्ठले रोक्नुभयो । अनि प्रधानाध्यपक र विद्यार्थी सँगै राखेर झण्डै १० मिनेट सरसफाइको विषयमा अन्तरक्रिया ग-यौं, तर अन्य शिक्षक शिक्षिका भने त्यो अन्तरक्रियामा सहभागी हुनुभएन ।
………………………………………………………………………………………………………………………………………………………
कसैले पानी ल्याए, कोही झाडु लिन गए । पाइन्ट माथि सार्दै बेल्चा लिएर सफाइ गर्न तम्सिएका प्रधानाध्यापकले शुरु गरिहाल्नुभयो । हामीले पनि सकेसम्म सरसफाइ ग-यौं । अनि लेउले थुनेको बाटो पनि सफा भयो, झारले ढाकिएको शौचालय जाने बाटो खुल्यो । तर छात्राको शौचालयमा लगाएको ताला तोड्न चाहिं सकेनौं ।
विद्यालयमा छात्रा र छात्रका लागि छुट्टाछुट्टै शौचालय हुनुपर्छ । अझ छात्राका लागि महिनावारी हुँदा सरसफाइ गर्न मिल्ने गरी छात्रामैत्री शौचालय बनाउनुपर्छ । भएको शौचालयमा पनि ताला लगाएर राख्दा बाराको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका छात्राहरुले कति समस्या भोग्नुप-यो होला ? अझ छात्रहरु पनि शौचालयमा नगई बाहिरै दिसापिसाब गर्न जाँदा ती छात्राहरुले कति समस्या झेल्नुप-यो होला ? विद्यालयमा शौचालय नभएकै कारण कतिपय छात्रा नियमित विद्यालय आउन पाएनन् होला ?
अझ कतिले त विद्यालय छोड्न पनि बाध्य भए होलान् ? विद्यालयमा व्यवस्थित चर्पीको अभावमा छात्रछात्राको जीवनमा पुगेको क्षतिका बारेमा कसैले सोचेको होला ? आज पनि यिनै दर्जनौं प्रश्नहरु मेरो दिमागमा खेलिरहन्छ ।
उक्त विद्यालयमा हामी पुगेको बर्षदिन हुनै लाग्यो । एकदिनको अनुगमनले कति पो सुध्रियो होला र ? हामीले त्यत्तिबेला पनि तोड्न नसकेको छात्रा शौचालयको ताला अझै झुण्डिरहेकै पो छ कि ? फेरि फर्केर जाने मन हुँदाहुँदै पनि जान सकिरहेको छैन ।