जुम्लाका किशोरीहरु सेनेटरी प्याड लगाउने तरिका सिक्दै

जुम्ला : जुम्लाको चन्दननाथ उच्च माविका छात्रा सेनेटरी प्याड प्रयोग गर्ने तरिका सिकिरहेका छन् । महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्ने बानीको विकास गर्न विद्यालयमा अध्ययनरत जुम्लाका किशोरीलाई चन्दननाथ नगरपालिका र बाल सञ्जालले सेनेटरी प्याड उपलब्ध गराएको थियो ।

चन्दननाथ नगरपालिकाको १ लाख रुपैयाँ र नगर बाल सञ्जालको समन्वयमा चन्दननाथ उच्च मावि खलंगा बजार जुम्लाका २ सय ३५ जना छात्रालाई एक⁄एक प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको हो ।

प्याड पाएपछि आफूहरुले महिनावारीको समयमा नियमित शारीरिक सरसफाइ गर्न थालेको र बानी हुदै गएको बताएका छन् । ‘किशोरीहरूलाई विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि प्याड प्रयोग गर्ने बानीको विकास हुदै गएको छ । महिनावारीको समयमा छात्राहरूले विद्यालय छाड्ने क्रम पनि केही कम भएको छ’ विद्यालयका सहायक प्रधानाध्यापक बबिता शाहीले भन्नुभयो ‘पहिले सरसफाइ सामग्री, प्याड प्रयोग तथा प्याड फेर्ने तरिकाको विषयमा किशोरीहरूमा राम्रो जानकारी नभएकाले विद्यालय छोड्नुपर्ने बाध्यता थियो, अब त्यो क्रमशः हट्दै गएको छ ।’

नगर बाल सञ्जालका अध्यक्ष ईश्वर खत्रीले नगरपालिका भित्रका नौ वटा माध्यमिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो । महिनावारी भएपछि किशोरीलाई हुने समस्या अभिभावकले पनि बुझ्नु पर्ने उहाँको तर्क छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार