
काठमाडौ : पोखरा महानगरपालिकाको पुम्दीकोटमा रहेको शिव मन्दिर दर्शन गर्न पुगेका दर्शणार्थी बडेमानको कलश देखेपछि दंग पर्छन् । शिव महादेवको दर्शन गर्नु अघि नै दर्शनार्थीको स्वागतार्थ राखिएको यो कलशको क्षमता १ लाख लिटरको छ ।
देख्नेले शिव महादेवको दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको स्वागतका लागि मात्र बनाए जस्तो देखिएपनि यो कलशको आकारमा बनाएको रिजर्भ्वायर ट्याङ्क हो । पुम्दीभुम्दी खानेपानी आयोजना अन्तर्गत बनाइएका रिजर्भ्वायर ट्याङ्कहरु मध्ये यसलाई मात्र कलशको रुप दिईएको हो ।
पहिले नै बनाएको पुरानो रिजर्भ्वायर ट्याङ्क भत्काएर त्यही ठाउँमा ठूलो आकारको बनाएको र निर्माण सम्पन्न भएपछि मात्र सजावट गरी कलशको रुप दिईएको पुम्दीभुम्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरहरि बरालले बताउनुभयो ।
उहाँका अनुसार भगवान शिवको मूर्ति अगाडिको ट्याङ्कलाई कलशको रुप दिने नवीन सोच पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालको हो । उहाँले नै शिवको मूर्ति अगाडि बनाईएको रिजर्भ्वायर ट्याङ्कलाई कलशको जस्तो रुप दिँदा कला झल्किने र आकर्षण पनि बढ्ने बताए पछि यो रुपमा ढालेको उपभोक्ता समितिका अध्यक्ष नरहरि बरालले बताउनुभयो ।
कलश जस्तो देखिने रिजर्भ्वायर पर्यटकको आकर्षण समेत बनेको अध्यक्ष बरालको.भनाइ छ । ‘कलश नै हेर्नका लागि भनेर नआए पनि पुम्दीकोटमा शिव मन्दिरमा आउने दर्शनार्थीले कलशलाई समेत घुमिफिरी हेर्ने गरेका छन्, फोटो खिच्छन्, टिकटक बनाउँछन् ।’ उहाँले भन्नुभयो । कलशको रुप दिने रिजर्भ्वायर ट्याङ्कले पुम्दीकोटको पर्यटकीय महत्व बढाएको उहाँको भनाइ छ ।

खानेपानी चालु आर्थिक बर्षभित्रै सम्पन्न हुन्छ : सिडिई केसी
पोखरा महानगरपालिकाको वडा नं. २२ मा सञ्चालन भईरहेको यो खानेपानी आयोजना खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गतको आयोजना हो । करिब ८ करोड लागतमा सञ्चालित खानेपानी आयोजना मध्ये ६० प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका सिनियर डिभिजनल इन्जिनियर शेखर चन्द्र केसीले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक बर्षभित्रै खानेपानी सम्पन्न गरी महानगरपालिकाको २२ नं. वडाका ७५० घरमा वितरण गर्ने लक्ष्य छ ।
खोलाखर्क मूलबाट १८ किलोमिटर ट्रान्समिसन लाईन (मुख्य पाईपलाइन) बिछ्याएपछि विभिन्न रिजर्भ्वायर ट्याङ्कहरुबाट घरघरमा खानेपानी पुर्याईने । वितरण पाइपलाइन ८ किलोमिटर छ ।
५ हजार ७० जनसंख्यालाई पुग्ने गरी डिजाइन गरिएको पुम्दीभुम्दी खानेपानी आयोजना निर्माणमा बजेट अभाव रहेको उपभोक्ता समितिका अध्यक्ष नरहरि बरालले बताउनुभयो । ‘बजेटको सुनिश्चितता भए खानेपानी निर्माणको काम चालु आर्थिक बर्षभित्रै सम्पन्न हुनेछ’ उहाँले भन्नुभयो ।


1535 पटक हेरिएको 

