पहाडी क्षेत्रमा पनि डिप बोरिङ मार्फत खानेपानी वितरण

पर्वत : नाम विष्टपानी भएपनि पर्वतको शंकरपोखरी नगरपालिकाको वडा नं. ३ मा पर्ने यो गाउँमा पानीको चरम अभाव थियो । पहाडी क्षेत्रमा समेत डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भएपछि पर्वतको उच्च पहाडी क्षेत्र मानिने विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको हो । डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न शुरु भैसकेको छ ।

सामुन्द्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको बिष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाईपमा दिनमा दुईघण्टा पानी तान्दा गाउँलाई दिनभरी पानी पुग्छ ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उक्त आयोजनाको पानीको धारा खोलेर हालै उद्घाटन गर्नुभयो । उहाँले संभावना नै नदेखेको ठाउँमा पनि लामो प्रयास पछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको बताउनुभयो । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको बताउँदै शर्माले अरु ठाउँमा पनि यस्तो आयोजना शुरु गर्न सकिने संभावना रहेको बताउनुभयो ।

नगरको समृद्धि र विकासका लागि आफुहरु असाधारण काम लिएर जनता माझ गएको प्रमखु शर्माले बताउनुभयो । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघी पनि बिष्ट गाउँमा पानी ल्याउनका लागि धेरै प्रयासहरु भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमिनमुनी बाट पानी तान्ने कुरा नमूना काम रहेको चर्चा गर्नुभयो । उहाँले यो प्रयासका लागि उपभोक्ता समिति, स्थानीय राजनीतिक दल, समाजसेवीहरुलाई धन्यबाद दिनुभयो ।

नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा आउने समस्याका कारण आजित भएका बिष्टगाउँबासी जमिनमुनीको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताउनुभयो । शंकरपोखरी पानिको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेरसमेत पानीको गर्जो टार्ने चलन थियो ।

यो गाउँमा लमाएखोला बाट पानी तानेर वितरण गर्ने वृहत लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाहरुले भने शंकरपोखरी बासिले सुविधाको सास फेर्न थालेका छन् । विष्टपानी खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष अशोक भुसालले पानीका लागि भएको लामो समयको सास्ती अन्त्य भएको खुशी व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार