हनुमानघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको थालनी

प्रति दिन १० लाख लिटर फोहोरपानी प्रशोधन हुँदा ८१२ किलो सुख्खा मल उत्पादन हुने

भक्तपुर: भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम थालनी भएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको २९ करोड ७ लाख २७ हजार ९२६ रुपैयाँको लागतमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण सुरु भएको हो । प्रशोधन केन्द्र निर्माणको लागि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्नुभयो । प्रशोधन केन्द्र निर्माण कार्यान्वयन काठमाडौं उपत्यका खानेपानी लिमिटेड,आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना लगायतले गर्नेछन् ।

प्रशोधन केन्द्रले प्रति सेकेण्ड ११.५७ लिटर वा प्रति दिन १० लाख लिटर फोहोरपानी प्रशोधन गर्ने आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले बताउनुभयो । फोहोरपानी प्रशोधन केन्द्रबाट प्रति दिन ८१२ किलो सुख्खा मल उत्पादन हुनेछ । हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँध समेत निर्माण गरिनेछ।

उहाँले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट शुरु भई १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको हो । सम्झौता अनुसार आयोजना सम्पन्न भएपछि पाँच वर्षसम्म सञ्चालन तथा मर्मत सम्भार गर्ने काम पनि सोही कम्पनीले गर्नुपर्नेछ ।

आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले प्रशोधन केन्द्र एमबीबीआर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराउनुभयो । उहाँले अनुमानघाटस्थित पुरानो फोहोर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा भक्तपुरको घोषणापत्रमा दुईवटा पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको जानकारी गराउँदै हनुमानघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोलाको सुधार हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार