सप्तकोशीमा पानी सुकेपछि छठ पूजाका घाट पनि फेरिए

  वास खबर सम्बाददाता  87 पटक हेरिएको
🔗
38
Shares

सुनसरी : सप्तकोशी नदीको पूर्वी तटबन्ध किनारमा पानीको बहाव सुकेपछि यस वर्ष छठ पर्व मनाउने स्थानीयवासीले पूजाका घाट अन्यत्र सारेका छन् । वर्षौंदेखि सप्तकोशी नदीको पूर्वी तटबन्ध किनारमा घाट निर्माण गरी छठ पूजा गर्दै आएका स्थानीयवासीले यस वर्ष नदीको उक्त क्षेत्रमा पानी नबगेपछि घाट सार्नुपरेको हो ।

राजाबास क्षेत्रदेखि कोशीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमासम्मको झन्डै डेढ किलोमिटर क्षेत्रमा नदीको बहाव नभएपछि छठ पूजाका लागि घाट सार्नुपरेको स्थानीय रविन रौनियारले बताउनुभयो ।

उहाँका अनुसार विगतमा पूर्वी तटबन्धनजिकै नदीको भँगालो बग्ने भएकाले त्यहीँ घाट बनाएर छठ पूजा गर्ने गरिएको थियो । तर, यस वर्ष उक्त क्षेत्रमा पानी नबगेपछि झन्डै एक किलोमिटर पैदल हिँडेर नदीमा पानी बगिरहेको स्थानमा पुग्नुपर्ने अवस्था आएको छ ।

स्थानीय गोपाल राईका अनुसार वर्षौंदेखि पूर्वी तटबन्धको किनारमा हुँदै आएको छठ पूजा यस वर्ष नदीको बहाव बीचतिर सरेपछि नदीको मध्यभागतर्फ गर्नुपर्ने भएको छ । स्थानीय दिलीप पालले पनि नदीमा पानी नहुँदा यस वर्ष छठ पूजाका लागि घाट सार्नुपरेको बताउनुभयो ।

उहाँका अनुसार धेरै वर्षदेखि तटबन्धको छेउबाटै नदीको एउटा भँगालो बग्ने गरेकाले स्थानीयले त्यहीँ पूजा गर्दै आएका थिए । यस वर्ष पानीको बहाव अन्यत्र सरेपछि छठ पूजा गर्न पानी बगिरहेको स्थानसम्म पैदल हिँडेर जानुपर्ने अवस्था आएको हो ।

स्थानीयका अनुसार सप्तकोशी नदीमा छठ पर्व मनाउनेको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ । पहिले सीमित समुदायले मात्र मनाउँदै आएको छठ पर्व अहिले सबै समुदायका मानिसले मनाउन थालेपछि पूजाका घाटसमेत विस्तार हुँदै गएका छन् ।

नदीको बहाव परिवर्तन भएसँगै पूजास्थल सार्नुपरे पनि स्थानीयवासीले परम्परालाई निरन्तरता दिने तयारी गरेका छन् । पानी बगिरहेको स्थानमा नयाँ घाट निर्माण गरी यस वर्षको छठ पर्व मनाउने तयारीमा उनीहरू जुटेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार