भक्तपुर : भक्तपुरको दुईपोखरीमा आयोजना गरिएको ‘कौसी खेती प्रबर्द्वन मेला’ मा भक्तपुरको मध्यपुरथिमी नगरपालिका ३ गट्ठाघरकी राधिका पोखरेल उत्कृष्ट कौसी खेती पुरस्कारबाट सम्मानित हुनुभयो । उत्कृष्ट कौसी कृषक बन्न सफल हुनुभएकी पोखरेलले घरको छतमा व्यवस्थित तरिकाले कौसी खेती गर्दै आउनुभएको छ ।
कौसी खेती गर्ने उहाँको तरिका अरुका लागि समेत अनुकरणीय छ । ‘घरको छतमा कौसी खेती गर्दा ढलान बिग्रिदैन ?’ भनेर धेरैले सोध्ने गर्नुहुन्छ । धेरैले चासो व्यक्त गरेको यो बिषयलाई उहाँले गर्नु भएको व्यवस्थित कौसी खेतीले पक्कै निवारण गर्न सक्छ ।
ढलानमा कसरी माटो पर्न नदिने ? ढलानमा धेरै समयसम्म माटो जमिरह्यो भने ढलान कमजोर हुने अवस्थालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा उहाँको कौसी खेती गर्ने तरिकाबाट बुझ्न सकिन्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
माटो खुकुलो बनाउने, तरकारी लगाउनु अघि माटो मिलाउने र मल बनाउने तरिका पनि उहाँको आफ्नै किसिमको छ । उहाँले घरमै उत्पादित हुने कुहिने फोहोर र भान्छाबाट निस्कने फोहोर पानीलाई पनि खेर जान नदिई कौसी खेतीमै प्रयोग गर्दै आउनुभएको छ ।
एक पटक खेती लगाईसकेपछि त्यही माटोमा अर्को विरुवा उमार्नुको साटो उक्त माटो घोप्ट्याएर पुनः पहिले जस्तै गरी माटो, मल, कोकोपिट लगायत तत्वहरु समिश्रण गरेर मात्र विरुवा लगाउने उहाँको आफ्नै तरिका छ । यस बिषयलाई समेत हामीले केही समय अघि नै प्रकाशन गरेका थियौं ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले कौसी खेतीलाई नगरपालिकाले वैकल्पिक खेतीको रुपमा अंगीकार गरी प्रबर्द्वन गर्ने नीति लिएको बताउँदै आउनुभएको छ ।