‘पानी संरक्षण तथा व्यवस्थापनमा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया : पानीको मापन र संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौ : एक कप कफी उत्पादनका लागि कति पानी प्रयोग भएको होला ? तपाई छक्क पर्नुहोला ? एक कप कफी उत्पादनका लागि १४० लिटर पानी प्रयोग भएको हुन्छ । यस्तै एक किलो कुखुराको मासु उत्पादन भईसक्ने सम्मका लागि चार हजार लिटर पानी खर्च भएको हुन्छ । यो कुनै अनुमान होइन, अध्ययनको प्राप्ति हो । यसबाट पनि थाहा हुन्छ कि पानीको मूल्य खानेपानीसँग मात्र सम्बन्धित छैन, सिँगो प्राणी जगतको जीवनसँग जोडिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा ललितपुरको गोदावरी नगरपालिकाले आयोजना गरेको ‘पानी संरक्षण तथा व्यवस्थापनमा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व जलस्रोत मन्त्री एवं जलस्रोत विज्ञ दीपक ज्ञवालीले भन्नुभयो ‘एक कप कफी पिउन योग्य हुँदासम्मका लागि १४० लिटर पानी प्रयोग भएको हुन्छ । यस्तै एक किलो ब्रोइलर कुखुराको मासुको पछाडि ४ हजार लिटर पानी खर्च भएको हुन्छ ।’

उहाँले पिउनका लागि मात्र नभई हरेक औद्योगिक उत्पादन पानीसँग जोडिएको हुनाले हरेक नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र आवश्यक पर्ने पानीको प्रक्षेपण गर्नुपर्नेमा जोड दिनुभयो । साथै बर्षातमा पर्ने पानीको मापन गरी ती पानीमध्ये कति रिचार्ज हुन्छन् ? कति बगेर खेर जान्छ ? र कति पानी मानिसले उपयोग गरेपछि फोहोरपानीमा परिणत हुन्छ ? भन्ने तथ्याङ्क समेत राख्न आग्रह गर्नुभयो । ‘कम्तीमा बर्षातको पानी मापन गर्न रेन गेज त राखौं ।’ उहाँले भन्नुभयो ।

हेर्नुहोस् यो भिडियो रिपोर्ट :

वाटर एड र इसिमोडको प्राविधिक सहयोगमा गोदावरी नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिका क्षेत्रभित्र पानीको प्रशस्त स्रोत भएपनि यसको व्यवस्थापन हुन नसक्दा खानेपानीकै अभाव झेल्नु परेको बताउनुभयो ।

आफ्नो पहिलो कार्यकालमा पानीको माग आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको, मूलमा आधारित पानीको स्रोतहरु प्रशस्त नभएकाले डिप बोरिङ गरेर भएपनि पानीको समस्या समाधानका लागि प्रयास गरिएको बताउनुभयो । ‘हामीले पानीको समस्या समाधाका लागि गरिएको पहलको परिणाम नै हुनुपर्छ, हामीलाई हाम्रो मतदाताले दोस्रो पटक पनि निर्वाचित गराउनुभएको छ ।’ उहाँले बताउनुभयो ।

इसिमोडले गोदावरी नगरपालिका भित्रका ४० वटा भन्दा बढी पानीका मुहानहरुको नक्साङ्कन गरेको छ । ती मध्ये ३० देखि ५० प्रतिशत पानीका स्रोतहरु घट्दै गएको पाइएको इसिमोडका गुणनिधी पोखरेलले बताउनुभयो । कार्यक्रमका सहभागीले स्थानीय सरकारले खानेपानीको स्रोत संरक्षणका साथै खानेपानीको स्रोतमा हुनसक्ने प्रदुषण रोक्न फोहोरमैला व्यवस्थापनमा जोड दिनुपर्ने आवाज उठाएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका क्षेत्र भूमिगत पानीको उच्च पुनर्भरण क्षेत्र मानिन्छ । तर भूमिगत पानीको अत्यधिक प्रयोग गर्ने र पर्याप्त पुर्नभरण नगर्ने परिपाटीले भूमिगत पानीको सतह घट्दै गईरहेको छ । काठमाडौ उपत्यकामा आकाशेपानी संकलन तथा पुनर्भरण सम्बन्धी वाटर एडको तर्फबाट प्रस्तुतीकरण गर्दै इन्जिनियर सुदिप हाडाले भूमिगत पानी पुनर्भरणका लागि नयाँ नयाँ तरिकाहरुको विकास भईसकेको र ती प्रविधिहरु प्रयोगका लागि आफूहरुको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी लिमिटेड, ललितपुर शाखाका प्रमुख डोल प्रसाद चापागाईले भूमिगत पानीको सतह बर्षेनी साढे २ मिटरको दरले भासिदै गईरहेको बताउनुभयो । उहाँले भूमिगत पानीको पुर्नभरणका लागि नीतिगत तहमै व्यवस्था हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सफाइ अभियन्ता, विभिन्न विद्यालयका शिक्षक, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरु, जनप्रतिनिधीहरु र स्थानीयको समेत सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार