काठमाडौ : किर्तिपुर नगरपालिकाको फोहोर कोरियन प्रविधिबाट व्यवस्थापन गरिने भएको छ । कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने बिषयमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले किर्तिपुर नगरपालिकासँग छलफल गरेको हो ।
कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आईसीसी) का अध्यक्ष विनोद कुँवरको टोली बीच कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने विषयमा भएको छलफलमा दुबै पक्ष सकारात्मक रहेको संघकी महासचिव जानकी गुरुङले जानकारी दिनुभयो ।
नेपालमा देखापरेको फोहर विसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले फोहोरलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न आफूहरु तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी पनि सकारात्मक रहेको बताउनुभयो ।
अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भन्नुभयो “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतना सहितको वातावरण दिएमा फोहोरबाट मोहोर फलाउन तयार छौं ।”
गैर आवासीय नेपालीहरु नेपालमा फोहोरदेखि ठूला औद्योगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई सुन्दर बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा समेत व्यक्त गर्नुभयो ।
नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिन सक्ने उत्साहित र देशप्रेमी जो कोही नेपालीलाई सके जति सहयोग र सहकार्य गर्न आफू र आफ्नो टिम तयार रहेको समेत बताउनुभयो ।