
काठमाडौ : काठमाडौं उपत्यकामा हैजा पुष्टि भएका २ जना र संक्रमणको आशंका गरिएका ४ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । बागबजारमा बस्दै आएका २५ र १९ वर्षीया दिदीबहिनीमा हैजा भएको पुष्टि भएको हो । उनीहरू सबैको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको हो ।
भर्ना भएका बिरामीहरूमा ३–४ पटक चौलानी जस्तै पखाला लाग्दा नै कमजोर बनाउने अवस्था रहेको टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताउनुभयो । संक्रमणका आधारमा उपत्यकामा हैजा फैलिइसकेको उहाँले आशंका समेत व्यक्त गर्नुभयो । ‘बिरामीको अवस्था हेर्दा उपत्यकामा २/४ दिनमै हैजाको प्रकोप थप बढ्न सक्ने आधारहरू देखिएको छ, ‘३/४ पटकसम्म चौलानी जस्तो पखाला भएपछि नै पूरै अशक्त भएर बिरामीहरू अस्पताल आइरहेका छन् ।’ उहाँले भन्नुभयो । हैजाको आंशका गरिएका ४ जनाको दिसाको ‘कल्चर’ रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
हैजाले मुटु तथा मस्तिष्कघात समेत गराउने
उहाँका अनुसार भिब्रियो कलेरी ब्याक्टेरियावाट संक्रमित दूषित खाना वा पानी पिउँदा हैजा लाग्न सक्छ । महामारीको समय भने हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । लक्षण देखिएको ३–६ घण्टाभित्रै यसले घातक रूप लिन सक्छ । ‘संक्रमण देखिएपछि बिरामीमा रक्तचाप कम हुन्छ र मुटु तथा मस्तिष्कघात हुने अवस्थासम्म आउन सक्छ ।
हाल टेकुमा भर्ना भएका संक्रमित र शंकास्पद बिरामीहरूमा स्वास्थ्य जटिलता र ढिलो गरी निको हुने अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आईसीयूमा उपचाररत दिदीबहिनी मध्ये बहिनीको आइतबार राती रक्तचाप एक्कासि घटेको ती चिकित्सकले जानकारी दिए । हालसम्म देखिएको हैजा ‘ओ–वन’ ओगावा ‘सेरोटाइप’ को रहेको डा। रावलले बताउनुभयो । ‘यस प्रकारको हैजाले महामारीको रूप लिने सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो ।
हैजाले केही घण्टाभित्रै मृत्युको नजिक पुर्याउन सक्छ
पानी वा खाद्य पदार्थमा संक्रमित व्यक्तिको दिसा मिसिँदा यसले अन्य स्वस्थ व्यक्तिमा हैजा सर्न सक्ने उल्लेख गर्दे टेकु अस्पतालको रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले खानपानमा थप सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
झाडापखाला भन्दा हैजाले स्वस्थ वयस्क व्यक्तिलाई केही घण्टामै मृत्युको नजिक पुर्याउन सक्ने भएकाले रोग प्रतिरोधक क्षमता कम भएका कुपोषित बालबालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दीर्घरोगी लगायत बढी जोखिम रहेको उहाँले बताउनुभयो । पानी उमालेर खाँदा मात्रै पनि धेरै हदसम्म संक्रमणबाट बच्न सकिने उहाँको भनाइ छ ।
हैजा देखिएकामध्ये अधिकांशले जारको पानी खाने गरेको पाइएको छ । जारको पानी सुरक्षित हुन्छ भन्ने मान्यताले सीधै पानी पिउँदा हैजा भएको उहाँले बताउनुभयो । ‘पानी उमालेर खानु सुरक्षित हुन्छ’ डा. पुनले भन्नुभयो ।


701 पटक हेरिएको 

