
चितवन : चितवनको खैरहनी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि प्रस्ताव आव्हान गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्रको फोहोरमैला व्यवस्थापन तथा शुल्क संकलन गर्न एक सूचना जारी गर्दै प्रस्ताव आव्हान गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (ञ) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१(१) मा व्यवस्था भएबमोजिम पालिकाले इच्छुक इजाजत कम्पनी मार्फत सो प्रस्ताव आह्वान गरेको हो । नगरपालिकाको शर्त अधिनमा रही रितपूर्वक गोप्य सिलबन्दी (प्राविधिक तथा आर्थिक) प्रस्ताव पेश गर्न सकिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना प्रकाशित भएको ३० दिनभित्र आवेदन दिनु पर्ने पालिकाले जनाएको छ । सूचना अनुसार इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजात सहित तीन हजार रुपैयाँ राजस्व तिरी खरिद गर्न सक्नेछ । प्रस्तावदाताले फोहोर व्यवस्थापनको लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरी प्रस्ताव गर्नुपर्ने साथै कुहिने फोहोरबाट मल तथा ग्याँस बनाउने र नकुहिने फोहोरलाई पुनः प्रयोग गर्नुपर्ने प्रावधान उल्लेख छ ।
फोहोर व्यवस्थापनको जिम्मा लिने कम्पनी तथा इच्छुक संस्थाले फोहोर व्यवस्थापनका लागि आवश्यक जनशक्ति, मेसिन, जग्गा आफैले व्यवस्था गर्ने तथा फोहोरमैलाको ढुवानी आफैँले गर्नुपर्ने खैरहनी नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा खैरहनी नगरपालिका चितवन जिल्लाकै प्रथम नगरपालिका हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बागमती प्रदेश सुशासन केन्द्रको सहयोग जिल्लाका स्थानिय तहको स्वमुल्यांकन गरेको थियो। जसमा सर्वाधिक अंक ल्याउँदै खैरहनी नगरपालिका चितवनका सात पालिका मध्ये पहिलो नम्वरमा परेको थियो। स्वमुल्यांकनमा पहिलो भएको खैरहनीले ७८ प्रतिशत अंक प्राप्त गरेको थियो ।


599 पटक हेरिएको 

