हैजा रोकथामका लागि जनचेतनामूलक सांस्कृतिक कार्यक्रम

🔗
30
Shares


ललितपुर : काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा हैजाका विरामी भेटिन थालेको पुष्टि भएपछि ललितपुरको मंगलबजार सँगैको हखा र ललितपुर महानगरपालिका कार्यालय सँगैको पुल्चोकमा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग र स्थानीय सरकार सँगको सहकार्यमा “Achieving Resilient and Water Safe Communities in Urban and Peri-urban areas of Lalitpur District” परियोजना अन्तर्गत शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्) ले ज्यापु समाज, यलसँगको सहकार्यमा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको हो ।

हैजा फैलिन नदिन र स्वस्थ आनीबानी अपनाउनका लागि जनस्तरमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको यूम्स्ले जनाएको छ ।

कार्यक्रममा हैजाबाट बच्ने उपायहरु, पानी शुद्धिकरणका घरेलु विधिहरु, खाना स्वच्छता तथा जोखिमयुक्त अवस्थामा साबुन पानीले मिचिमिची हात धुने सन्देश समेटिएका नेपाली र नेपाल भाषाका गीतहरुका साथै नाचहरु ज्यापु समाज, यलका कलाकारहरुले प्रस्तुत गरेका थिए । साथै हालै काठमाडौ उपत्यकाका विभिन्न स्थानहरुमा फैलिएको डेंगुलाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालकले कार्यक्रमको बीच बीचमा डेंगु लाग्ने कारण र बच्ने उपायहरु बारे पनि जानकारी दिएका थिए ।

दुवै ठाउँका कार्यक्रममा गरी करिव २ हजार जना दर्शकहरु थिए भने उपस्थितहरुलाई हैजाबाट बच्ने उपायहरु तथा क्लोरिनेसन विधिबाट खानेपानी शुद्धीकरण गर्नेबारे जानकारी दिने पर्चाहरु तथा पम्प्लेटहरु समेत वितरण गरिएका थिए ।

“हाम्रो स्वास्थ्य, हाम्रै हातमा, हैजा रोकथाम गर्न जुटौं साथमा” भन्ने सन्देश सहित हैजा रोकथामका लागि शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्) ले असार महिनाको दोश्रो हप्ता देखि ललितपुर महानगरपालिकाको भित्री बस्ती भएका वडाहरु तथा बाहिरी वडाहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार