काठमाडौ : भेटिभर घाँस फोहोरपानी प्रशोधन गर्न, पहिरोको नियन्त्रण गर्न तथा सडक किनाराको भूक्षय रोक्नका लागि निकै प्रभावकारी भएको पाइएको छ । प्रदूषित पानीको सफाइ गर्न र डम्पिङ साइटमा हानिकारक रसायनबाट हुने क्षति कम गर्न भेटिभर असाध्यै उपयोगी हुने सो घाँसको उपयोगिताबारे अध्ययन गरिरहनुभएका सञ्जीव काफ्लेले बताउनुभयो ।
‘उपत्यकाका बागमती, विष्णुमती, इच्छुमती, धोबीखोला, मनोहरामा फोहोर पानीलाई भेटिभर घाँस रोपेर प्रशोधन गर्न सकिन्छ’ उहाँले भन्नुभयो। खोला छेउमा, राजमार्गको पहिरो खस्ने स्थानमा यो घाँस रोप्न उहाँले सुझाव दिनुभयो । ‘काठमाडौँ महानगरपालिकाले फोहोर विर्सजन गर्दै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट र सिसडोल यो घाँस रोपौं, त्यहाँ फ्यालिएका फोहोरबाट निस्कने रसायनलाई खोलासम्म पुग्नबाट यो घाँसले रोक्न सक्छ’ उहाँले भन्नुभयो ।
भेटिभर द्रुत वृद्धि हुने, गहिराइसम्म पुग्न सक्ने र लामो जरा भएको बाह्रमासे घाँस हो । यसको जरा तीन मिटर गहिराइसम्म जान सक्छ र जराले गह्रौँ धातु तथा विषाक्त पदार्थ शोषण गर्न सक्ने क्षमता राख्छ । जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त प्रमुख श्रीकमल द्विवेदीले भेटिभर रोप्दा पहिरो नियन्त्रण, नदी किनाराको क्षय नियन्त्रण, भिरालो जमिन स्थिरीकरण, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको कारणले गर्दा बालुवा किनारामा परिणत भएको जमिनको पुनः प्राप्ति गर्न सकिने बताउनुभयो ।
यसअघि भेटिभरको बिरुवाद्वारा फोहोर पानी प्रशोधनको अध्ययन अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्यान्ड लगायतका मुलुकमा भइसकेको छ । जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाले झापाको कनकाईमा खोला किनारामा लगाएर सफल प्रयोग समेत गरिएको छ । त्यस्तै काठमाडौँको टोखा, रामकोट, स्याङ्जा, सङ्खुवासभा र धनकुटामा समेत सफल प्रयोग भएको छ ।
यस घाँसले रोपेको तीन महिनामा नै जरालाई व्यापक फैलाउँछ । जरा निकै बलियो हुने भएकाले यसले माटोलाई बलियोसँग समाउँछ । हेटौँडा–अमलेखगञ्ज सडक खण्डमा यो घाँस रोपेपछि पहिरो नियन्त्रण भएको छ । छिटो हुर्कने र माटोलाई सहज थेग्न सक्ने भएकाले यो घाँस नेपालका लागि निकै उपयोगी भएको काठमाडौँ विश्वविद्यालयको वातावरण इन्जिनियरिङ विभागमा कार्यरत प्रा।डा। विकास अधिकारीले बताउनुभयो ।