
काठमाडौ : खानेपानी ऐन कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ नियमावली जत्ति सक्दो चाँडो जारी गर्नुपर्नेमा जोड दिएका छन् । ‘दिगो विकास लक्ष्य ६ प्राप्तिको लागि खानेपानी तथा सरसफाइ ऐन र सुरक्षित खानेपानीयुक्त समुदायको प्रबर्द्वन’ विषयक राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाइ नियमावलीको आवश्यकतामा जोड दिएका हुन् ।
फिनल्याण्ड दुतावास, युनिसेफ नेपाल, खानेपानी मन्त्रालय र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा खानेपानी तथा सरसफाइ ऐन, नेपालमा दिगो विकास लक्ष्य ६ को अवस्था, सुरक्षित खानेपानीयुक्त समुदाय र वर्तमान अवस्था लगायत बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्र माथि व्यापक छलफल तथा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा अधिवक्ता डिल्लीराज खनाले खानेपानी तथा सरसफाइ ऐन खानेपानी पोलिसी बिनै आएको र यसको सफल कार्यान्वयनका लागि नियमावली अहिलेको नभई नहुने बिषय भएको बताउनुभयो ।
यस्तै राष्ट्रिय योजना आयोगकी कार्यक्रम निर्देशक अनुनय बाँस्तोलाले दिगो विकास लक्ष्य ६ को सन् २०३० सम्ममा ९० प्रतिशत नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य हासिल गर्न निक्कै चुनौतीपूर्ण रहेको बताउनुभयो । नेपालमा हाल १९ प्रतिशत नागरिकको पहुँचमा मात्र सुरक्षित खानेपानी सेवा रहेको तथ्याङ्क छ ।
सुरक्षित खानेपानीको पहुँच बढाउनकै निम्ति ‘सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा’ गर्ने अवधारणाको विकास भएको र यो दिगो विकास लक्ष्य ६ हासिल गर्नका लागि कोसेढुंगा साबित हुने युनिसेफ नेपालका वास विज्ञ दण्डीराम विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार हालसम्म नेपालका १८० वटा खानेपानी योजनाबाट पानी प्राप्त गर्ने समुदाय ‘सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भईसकेका छन् ।
कार्यक्रममा पूर्व सचिव काशीराज दाहालले खानेपानी तथा सरसफाइ ऐनले सबै नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने अवसरको ढोका खोलेको बताउनुभयो । तर यसका लागि खानेपानी नियमावली चाँडो भन्दा चाँडो आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल व्यस्थापन विभागका उपमहानिर्देशक राम कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा तयार भईरहेको र सरोकारवाला निकायसँग छलफल गरी चाँडै अन्तिम रुप दिने तयारी रहेको जानकारी गराउनुभयो ।
यस्तै खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठले खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा जलस्रोत ऐन २०४९ को आधारमा तयार पारिएको र यसमा लैंगिक तथा अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरण लगायत विषयलाई समेट्न बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै युनिसेफ नेपालको वास सेक्सन प्रमुख Muhammad Irfan ले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा केवल दिगो विकास लक्ष्य ६ हासिल गर्नका लागि मात्र नभई मानिसको जीवन रक्षाका लागि पनि आवश्यक रहेको बताउनुभयो । उहाँले खानेपानीजन्य रोगहरुबाट कसैको पनि मृत्यु हुन नदिनका लागि सुरक्षित खानेपानी मात्र सेवन गर्नुपर्ने अहिलेको आवश्यकता बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने प्रस्तुतकर्ता, सक्रियपूर्वक सल्लाह सुझाव प्रदान गर्ने सहभागीहरुलाई धन्यबाद दिदै खानेपानी र सरसफाइमा सरकारले राखेको लक्ष्य हासिल गराउन सरकार, सरकारी तथा गैरसरकारी संस्था सबैसँग हातेमालो गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।


685 पटक हेरिएको 

