
कास्की : पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो ।
शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र एनआरएनए बीच सम्झौता भईसकेको छ । पोखराका मेयर आचार्यको रोहवरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत लगानी गर्नेछन् । ३ महिनाभित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख एनआरएनए र ४० लाख महानगरपालिकाले खर्च लगानी गर्नेछन् ।
एनआरएनए कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। यसले पोखरा आउने पर्यटकलाई समेत सहज हुनुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा योगदान पुग्ने उहाँको विश्वास छ । महानगरसँग थप सहकार्यका लागि पनि एनआरएनए तयार रहेको अध्यक्ष थापाले बताउनुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्ड विपरीत निर्माण भएको भौतिक संरचना केही समय अघि महानगरले नै भत्काएको थियो ।
सो स्थानमा रहेको कित्ता नम्बर ८२ को ५ आना जग्गामा शौचालय र चमेना गृह संरचना बनाइने उहाँले बताउनुभयो । पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि शौचालयको आवश्यकता महसुस गरी चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको मेयर आचार्यको भनाइ छ । शौचालयमै स्तनपान कक्ष समेत हुने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका–१७ की अध्यक्ष राधिकाकुमारी शाही योगी र पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले महानगरको अभियानमा यस्तो सहयोग आवश्यक भएकोमा जोड दिनुभयो । पोखरामा महानगरपालिकाले निर्माण गरेका १५ वटा र सार्वजनिक–निजी निजी साझेदारीमा सञ्चालन गरिएका ६० वटा सार्वजनिक शौचालय छन् ।


516 पटक हेरिएको 

