विद्यालयमा वास फोकल टिचरको व्यवस्था, बालबालिकाको व्यवहार परिवर्तनमा सघाउ

  वास खबर सम्वाददाता  1573 पटक हेरिएको
🔗
134
Shares

धनुषा : विद्यालयमा शौचालय नै छैनन् भने बालबालिकाले बाहिरै दिसापिसाब गर्नु बाध्यता र स्वभाविक पनि हो । तर शौचालय हुँदाहुँदै बाहिरै दिसापिसाब गर्छन्, फोहोर फाल्ने टोकरी हुँदाहुँदै जथाभावी फोहोर फाल्छन् र साबुन पानीको व्यवस्था हुँदा हुँदै हातै नधोई खाजा खान्छन् भने बुझ्न जरुरी छ कि बालबालिकाहरु त्यसैमा अभ्यस्त भईसकेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय केम्लीपुरका बालबालिकाहरु पनि केही समय पहिलेसम्म त्यसै गर्थे । छात्रहरुले पिसाब गरेर विद्यालयको पछाडि पट्टिको पर्खाल हेरि नसक्नु हुन्थ्यो भने छात्राहरुले सेनेटरी प्याड प्रयोग गर्दै शौचालयको छानो र भित्तामा खाँदेर अशोभनीय बनाएको हुन्थ्यो ।
विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा पर्याप्त नहुँदा यस्ता क्रियाकलापहरु हुनु स्वभाविक भए पनि धनुषाको राष्ट्रिय आधारभूत विद्यालय केम्लीपुरका विद्यार्थीहरुले भने पर्याप्त शौचालय निर्माण भएपछि पनि उक्त बानी छाडेनन् ।

भनाई नै छ ‘नानीेदेखि लागेको बानी छुट्टाउन निक्कै गाह्रो हुन्छ ।’ सायद त्यस्तै भएको हुनुपर्छ केम्लीपुरका विद्यार्थीहरुलाई पनि ।

जब विद्यालयमा वास फोकल शिक्षक तोकेर बालबालिकाको व्यवहार परिवर्तनका लागि प्रयास गर्नुभयो, त्यसपछि बालबालिकाको स्वच्छता सम्बन्धी बानी व्यवहारमा परिवर्तन हुँदै आएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग तथा उदार करुणामयी स्वयंसेवक (एन.सी.भी.) र रतौली युवा क्लव, महोत्तरी (आर.वाई.सी.) को साझेदारीमा ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ सञ्चालन भएका विद्यालयहरुमा वास फोकल टिचर तोकिएको हो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

विद्यालयकी वास फोकल टिचर मुना कुमारी धमला भन्नुहुन्छ ‘बालिकाहरुमा एक प्रकारको डर थियो, मैले फ्याँकेको प्याड शिक्षक वा अरुले चिन्छन् कि भनेजस्तो थियो जसले गर्दा प्याड फाल्ने ठाउँमा फाल्न मानिरहेका थिएनन्, यो मैले मात्र जलाउने हो, कसैले हेर्दैनन् भनेर विश्वस्त तुल्याएपछि अहिले प्याड व्यवस्थापन गर्न पनि सजिलो भएको छ ।’

विद्यालय भवनको पछाडि पट्टि पिसाब गर्ने छात्रहरुको बानी पनि टुटेको छ । विद्यालयमा गठन भएको बाल क्लव र वास फोकल टिचरको निरन्तरको पैरवीले बालबालिकाहरुको स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन हुँदै गएको हो ।

बाल क्लव र वास फोकल शिक्षकको समन्वयमा सबै कक्षाका बालबालिकाहरुको सहभागिता हुने गरी विद्यालयले साप्ताहिक सरसफाइ कार्यतालिका बनाएर लागु गरेको छ । कार्य तालिका अनुसार विद्यालय आँगन सरसफाइ, शौचालय सरसफाइ, पिसाब घर सरसफाइ, फोहोरको टोकरीबाट फोहोर निकालेर जलाउन र सफा गर्न रोल नम्बर अनुसारका बालबालिका खटिन्छन् ।

यस्तै हात धुने स्थानको सरसफाइ, बोटविरुवा, करेसाबारीमा पानी हाल्ने, महिनावारी प्याड इन्सिनेरेटरमा जलाउने र कक्षाकोठा सफा गर्ने काम पनि पालो अनुसार विद्यार्थीले नै गर्छन् । बालबालिकाहरुलाई स्वनियमले बाँधे पछि बालबालिकाको व्यवहार परिवर्तन सँगै अनुशासित पनि भएको वास फोकल टिचर धमलाले बताउनुभयो ।

यसका साथै छात्र छात्राको लागि छुट्टा छुट्टै शौचालय, चौबीसै घण्टा पानी र उचाई अनुसारको हात धुने ठाउँको सुविधाले पनि बालबालिकालाई व्यवहार परिवर्तन गराउन सहज भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार