छात्रामैत्री शौचालय र सेनेटरी प्याडले छात्रामा नियमितता

सल्यान : विद्यालयमा छात्रामैत्री शौचालय बनाई सेनेटरी प्याड पनि उपलब्ध गराउन थालेपछि सल्यानको जनता आधारभूत विद्यालय शिवरथमा छात्रा नियमित स्कुल आउन थालेका छन् । पाँच महिना अघि प्रायः बालिकाहरु नियमित उपस्थित हुँदैनथे । धेरै जना छात्रा महिनावारी भएको समयमा घरैमा बस्ने गर्थे ।

लाजका कारण महिनामा एक सातासम्म विद्यालय नजाने उनीहरूलाई विद्यालयमै सेनेटरी प्याड दिन थालेपछि नियमित विद्यालय आउन थालेका हुन् । कक्षा ८ मा अध्ययनरत ईश्वरी राना भन्नुहुन्छ ‘पहिले छुट्टै शौचालय पनि थिएन, प्याड फेर्न मिल्ने शौचालय नभएपछि स्कुलमा आउन साह्रै गाह्रो हुन्थ्यो र घरमै बस्थ्यौं, तर अहिले राम्रो सुविधा भएको छ ।’

विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यालयमा नियमित आउन पाएको कक्षा ७ की कमला बस्नेतले बताउनुभयो । ‘महिनावारी भएपछि धेरै असजिलो हुन्थ्यो, साथीहरूले थाहा पाएर जिस्क्याउँछ्न् कि भन्ने डरले साताभर पढ्न आउदिन थिएँ, अहिले त नियमित आउन थालेपछि पाठ कहाँ पुग्यो भन्ने पनि थाहा हुन्छ’ उहाँले भन्नुभयो ।

नियमित स्कुल नआउँदा पढाइमा समेत कमजोर रहेका बालबालिका अहिले पढाइमा पनि अब्बल हुदै गएको विद्यालयले जनाएको छ । महिनावारी हुँदा केही दिन विद्यालय जान छुटेपछि पढाइ नै छुट्ने समस्याको अन्त्य भएको कमलाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार