पाल्पा : पाल्पाको यूनाइटेड मिसन अस्पताल फोहोरपानी प्रशोधन केन्द्र (वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट) निर्माण हुने भएको छ । रोटरी क्लब अफ पाल्पाले यूनाइटेड मिसन अस्पताल पाल्पा र भुसलडाँडा क्षेत्रका होटल, तथा रेष्टुरेन्टबाट निस्कने फोहोरपानीलाई पुनः प्रयोगमा ल्याउने गरी फोहोरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको हो ।
रोटरी क्लब अफ पाल्पा तानसेन र रोटरी क्लब अफ इन्टरनेश्नलको समन्वयमा ३ करोड १८ लाख लगानीमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण हुन लागेको रोटरी क्लब अफ पाल्पाका अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो । यसका लागि तानसेन नगरपालिकाले पनि एक लाख सहयोग गर्ने सम्झौता भएको छ ।
फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि घर होटल रेष्टुरेन्टबाट बग्ने पानीका कारण भुसलडाँडा तल्लो भेगका स्थानीयले खेप्दै आएको हैरानी हट्नेछ ।
रोटरी क्लब अफ पाल्पा तानसेनले यूनाइटेड मिसन अस्पतालमा दश लाख लिटरको आकाशेपानी संकलन गर्ने ट्याङकी, हाड तथा जोर्नी विभागमा एक सय जनालाई अप्रेसन गर्न मिल्ने मेसिन, अक्सिजन प्लान्ट सहयोग गरिसकेको छ ।
क्लवका संस्थापक सचिव तथा पुर्व अध्यक्ष बुद्धिप्रसाद शर्माले रोटरी क्लब अफ पाल्पा तानसेनले धेरै मानवीय र सामाजिक सेवा गर्दै आएको बताउनुभयो । यहाँले क्लबले गोपाल्दी खानेपानी योजना लगायत ३ वटा पूर्वमा सिंचाइँका कामहरु गरेको जानकारी दिनुभयो ।