
पोखरा : खानेपानी संस्थान पोखराद्वारा खानेपानी वितरित शहरी क्षेत्रका ५ सय ओटा धारामा स्मार्ट मिटर जडान गरिएको छ । खानेपानी संस्थानको शहरी क्षेत्रमा खानेपानी वितरण क्षमता अभिवृद्धि आयोजना अन्तर्गत सुप्रिम एशोसियट्स ट्रेडर्सले जापानी सहयोग नियोग जाईका (JICA) को अनुदान सहयोग र जापानको सि.आई.टी. इन्जिनियरिङ कम्पनी लिमिटेड सँगको सहकार्यमा स्मार्ट वाटर मिटर परिक्षण गरिएको हो।

सुप्रिम एशोसियट्स ट्रेडर्सले नेपालमै पहिलो पटक पोखरामा स्मार्ट वाटर मिटर जडान गरेको दाबी गरेको छ।
यसबाट पहिलो चरणमा जडान गरिएको ५ सय वटा धाराका ग्राहकले उपभोग गरेको पानीको परिमाण संस्थाको कार्यालयमा भएको कम्प्युटरबाटै हेर्न सकिने, कुनै निश्चित मिटरलाई बन्द अथवा खोल्न परेमा वा अनलाइन विलिङ जस्ता कार्य पनि कार्यालयबाट गर्न सकिने सुप्रिम एशोसियट्स ट्रेडर्सका प्रबन्ध निर्देशक बिराज आचार्यले बताउनुभयो ।
खानेपानी संस्थानको शहरी क्षेत्रमा खानेपानी वितरण क्षमता अभिवृद्धि आयोजना अन्तर्गत स्मार्ट मिटर जडान गर्ने सम्बन्धमा सुप्रिम एशोसियट्स ट्रेडर्सका प्रबन्ध निर्देशक तथा पानी प्रशोधन व्यवसायी संघ नेपालका महासचिव बिराज आचार्य र जापानको सि.आई.टी. इन्जिनियरिङ कम्पनी लिमिटेडको तर्फबाट आयोजना प्रबन्धक Ms. Yasuko Kamegai ले गत सेप्टेम्बर २०२३ मा सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो।

आपूर्ति गरिएको स्मार्ट मिटरको गुणस्तर परीक्षण गर्दा जापानको सि.आई.टी. इन्जिनियरिङ कम्पनी लिमिटेडको प्रतिनिधि बाट उत्कृष्ट ठहर भएको रिपोर्ट प्राप्त भएको छ। स्मार्ट मिटर, सफ्टवेयरको प्रयोग, नियमित मर्मत सम्भार सम्बन्धमा सुप्रिम एशोसियट्स का तर्फबाट इन्जिनियर राजन ढकाल र इन्जिनियर अनिल भुर्तेलले खानेपानी संस्थान पोखरामा सरोकारवालाहरुलाई हालै तालिम प्रदान गर्नु भएको छ।
सुप्रिम एशोसियट्स ट्रेडस खानेपानीको क्षेत्रमा पानी प्रशोधन सम्बन्धी विगत १४ वर्ष देखि कार्य गर्दै आइरहेको संस्था हो ।


2497 पटक हेरिएको 

