डा.रोशन राज श्रेष्ठ World Toilet Organization का अध्यक्ष नियुक्त

  वास खबर समाचारदाता  140 पटक हेरिएको

काठमाडौं : विश्व सरसफाइ अभियानमा अग्रणी अन्तर्राष्ट्रिय संस्था World Toilet Organization (WTO) ले डा.रोशन राज श्रेष्ठलाई आफ्नो अध्यक्ष पदमा नियुक्त गरेको घोषणा गरेको छ। विश्वभर सुरक्षित र दिगो सरसफाइ सुनिश्चित गर्ने अभियानमा यो नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

३७ वर्षभन्दा बढी समयदेखि एशिया र अफ्रिकामा समान पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा नेतृत्व गर्दै आउनु भएका श्रेष्ठले नेपालमा वातावरण तथा जनस्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) स्थापना गर्नुभएको थियो। त्यसपछि उहाँ Gates Foundation मा उप-निर्देशक (Deputy Director) का रूपमा आबद्ध हुनुभयो, जहाँबाट उहाँले विश्वव्यापी सरसफाइ प्रणाली सुदृढीकरणमा उल्लेखनीय योगदान दिनुभयो।

Gates Foundation मा कार्यरत रहँदा श्रेष्ठले ३ अर्ब अमेरिकी डलरभन्दा बढी सरसफाइ लगानी परिचालन गर्न सहयोग गर्नुभएको थियो। उहाँको नेतृत्वमा विश्व तथा क्षेत्रीय स्तरका क्षमता विकास प्लेटफर्महरू स्थापना तथा सुदृढ गर्नुभएको थियो भने भारत, बंगलादेश र नेपालका राष्ट्रिय सरसफाइ नीतिहरूमा समेत प्रभाव पारिएको थियो। विशेष गरी नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation), फिकल स्लज व्यवस्थापन र सरसफाइ मजदुरहरूको सुरक्षामा उहाँको योगदान उल्लेखनीय मानिन्छ।

डा. श्रेष्ठ अहिले पनि खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा विभिन्न रणनीतिक भूमिका मार्फत सक्रिय हुनुहुन्छ। उहाँ Asian Institute of Technology, थाइल्याण्डमा ट्रस्टी बोर्ड सदस्य तथा अध्यक्षका वरिष्ठ रणनीतिक सल्लाहकार, Global Water and Sanitation Center का सल्लाहकार बोर्ड सदस्य, IHE Delft Institute for Water Education अन्तर्गतको Global Sanitation Graduate School का संस्थापक तथा बोर्ड सदस्य, भारतको तेलंगाना स्थित WASH Innovation Hub का रणनीतिक सल्लाहकार तथा भारतको केरला स्थित IIT Palakkad अन्तर्गतको Global Sanitation Center of Excellence (GSCOE) को गभर्निङ काउन्सिल सदस्यका रूपमा आबद्ध हुनुहुन्छ।

World Toilet Organization (WTO) ले श्रेष्ठको दृष्टि, अनुभव र विश्वव्यापी परिप्रेक्ष्यले ‘सबैका लागि सुरक्षित र दिगो सरसफाइ’ को लक्ष्य प्राप्तिमा संस्थालाई थप प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

विश्व सरसफाइ अभियानमा नेपालका डा. श्रेष्ठ नेतृत्वको यो उपलब्धिलाईवास क्षेत्रका सरोकारवालाहरूले गर्वका साथ बधाई ज्ञापन गरिरहेका छन्। वास खबरको तर्फबाट डा. श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार